कांग्रेस सर्लाहीमा महाधिवेशनलाई लिएर उत्पन्न भएको विवाद,मिल्यो,प्रदेश र संघको अधिवेशन शुक्रबार हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१५ गते   ६८ पटक हेरिएको

नेपाली कांग्रेस सर्लाहीको विवाद समाधान भएको छ । कांग्रेसको १४ औँ महाधिवेशनको क्रममा  सर्लाहीमा विवाद भएको थियो । आज(बुधबार) दिनभर कांग्रेस सर्लाहीको संस्थापन र संस्थापन ईतर पक्षको वार्ता भएपछि जिल्लामा महाधिवेशन सम्बन्धी विवाद समाधन भएको हो । 
लालबन्दी नगरपालिका ९ को होटल यूनाईटेड ईन्मा बुधबार दिनभर भएको वार्ताले विवाद समाधन गरि क्षेत्र नं. १ को बयलवास, क्षेत्र नं. २ को मलंगवास्थित कृष्णामति मा.वि., क्षेत्र नं. ३ को बरहथवास्थित पार्टी कार्यालय र क्षेत्र नं. ४ को गोडैता नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालय रामवनमा प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने निर्णय गरेको कांग्रेस निर्वाचन अधिकृत भरत राउतले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सुक्रवार एकैदिन गर्ने निर्णय भएको छ ।
यस्तै, विवाद भएर स्थगित भएका र उजुरी परेका वडाहरुमा अधिवेशन गराउन निर्वाचन अधिकृत राउतकै संयोजकत्वमा जिल्ला सभापति नागेन्द्र कुमार राय(संस्थापन पक्ष)को तर्फबाट सुरेन्द्र कुमार न्यौपाने र पूर्व जिल्ला सभापति लक्ष्मण राय(संस्थापन ईतर)को तर्फबाट कौशल किशोर राय सदस्य रहने गरी ३ सदस्यीय समन्वय समिति गठन गरिएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
अधिवेशन गारउने क्रममा कांग्रेसमा विवाद सृजना भएपछि करिब ४० भन्दा बढी वडाहरुमा अधिवेशन हुन सकेको छैन । काँग्रेस नेताहरुको वार्तालाई मध्यनजर गर्दै वार्ता भएको होटलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech