सर्लाहीको बागमती नगरपालिका–१ मिलन चोकका युवाहरुले देउसी–भैलो खेलेर संकलन गरिएको रकम मनोरञ्जन र रमाइलोमा खर्च नगरी सामाजिक सेवामा लगाउने उद्देश्यसहित दृष्टिविहीन ज्येष्ठ नागरिकलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेका छन् ।मिलनचोक युवा क्लव र एनी टाईम पार्टी ग्रुपका युवाहरूले देउसी–भैलो कार्यक्रमबाट संकलन भएको रकमबाट बागमती नगरपालिका–१ की एक सय चार वर्षिय दृष्टिविहीन ज्येष्ठ नागरिकलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरिएको मिलनचोक युवा क्लवका सचिव सुन्दर राना मगरले जानकारी दिए।उनका अनुसार बागमती नगरपालिका–१ दापडाँडाकी एक सय चार वर्षिय दृष्टिविहीन ज्येष्ठ नागरिक उर्मुमाया घिसिङलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरिएको हो ।
तिहारको अवसरमा देउसी–भैलो कार्यक्रममार्फत संकलन गरिएको रकमबाट आर्थिक अवस्था कमजोर भएका दृष्टिविहीन ज्येष्ठ नागरिक घिसिङलाई एक अनौपचारीक कार्यक्रम मार्फत खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरिएको बागमती नगरपालिका–१ का युवा समाजसेवी सरोज भुजेलले बताए ।उनका अनुसार सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै संकलन भएको रकमबाट आवश्यक खाद्यान्न तथा लत्ता कपडा खरिद गरी उनको घरैमा पुगेर हस्तान्तरण गरिएको हो ।
तिहारमा देउसी–भैलो खेल्ने परम्परालाई सामाजिक सेवासँग जोड्दै असहाय,विपन्न तथा सहयोगापेक्षी व्यक्तिहरूलाई राहत पु¥याउने उद्देश्यले यस्तो कार्य गरिएको आयोजकले जनाएको छ।चाडपर्वका नाममा हुने अनावश्यक खर्चलाई कम गर्दै त्यसबाट संकलन भएको रकम समाजका कमजोर तथा असहाय वर्गको हितमा प्रयोग गर्न सकिने उदाहरण समेत यस कार्यले प्रस्तुत गरेको बागमती नगरपालिका–१ का वडाअध्यक्ष गम्भीर सिंह पाख्रिनले बताए ।
उनका अनुसार दृष्टिविहीन ज्येष्ठ नागरिकका लागि खाद्यान्न तथा लत्ता कपडा सहयोगले दैनिक जीवनयापनमा केही सहजता ल्याउनुका साथै आफूहरू समाजबाट एक्लो नभएको अनुभूति गराउने छ।उमेरको उत्तरार्धमा शारीरिक असहजता र आर्थिक अभावसँग जुधिरहेका ज्येष्ठ नागरिकलाई गरिएको यो सहयोग आर्थिक सहायता मात्र नभई आत्मीयता,सम्मान र मानवीय संवेदनाको प्रतीकसमेत बनेको बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले बताए ।
उनका अनुसार सहयोग हस्तान्तरणका क्रममा सामाजिक सेवाका लागि ठूलो रकम नै आवश्यक नपर्ने र सानो प्रयासबाट पनि कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने सन्देश दिएको छ।समाजका हरेक व्यक्तिले आफ्नो क्षमता र हैसियत अनुसार असहाय तथा विपन्न नागरिकलाई सहयोग गर्न सके सामाजिक सद्भाव र सहकार्यको भावना अझ बलियो हुने स्थानीय जानकारहरुले विश्वास व्यक्त गरेका छन् ।देउसी–भैलोबाट संकलन भएको रकमलाई सामाजिक सेवामा खर्च गर्ने यो पहलले चाडपर्वलाई मनोरञ्जन र उत्सवमा मात्र सीमित नराखी परोपकार,सहयोग र मानवीय सेवाको अवसरका रूपमा उपयोग गर्न सकिने सकारात्मक सन्देश दिएको जानकारहरुको भनाई छ।