स्वास्थ्य चौकी परवानिपुरमा प्रयोगशाला सञ्चालन

1k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरमा रहेको स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । लालबन्दी नगरपालिका १६ परवानीपुर स्थित रहेको स्वास्थ्य चौकीमा बिहीबारबाट  प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
लालबन्दी नगरपालिकाको १५ र १६ का स्थानीयबासीलाई सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकी परवानीपुरमा लालबन्दी नगरपालिका १५ ले स्वास्थ्य प्रयोगशालाको औजार उपकरण र लालबन्दी नगरपालिका १६ ले एक जना ल्याब टेक्निसियनको व्यवस्था मिलाइ प्रयोगशाला सुरु गराएका हाम्रा सहकर्मी राजेश थापा मगरले जानकारी दिए ।


प्रयोगशालामा रगत,टाइफाइड लगायतको परीक्षण हुने लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मुमताज मिक्रानीले जानकारी दिए । उनका अनुसार प्रयोगशालाबाट गर्भवतीले निःशुल्क सेवा,ज्येष्ठ नागरिकलाई ५० प्रतिशत सहुलियत र अन्यलाई स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिले तय गरेको दररेट अनुसार शुल्क लिइने छ । 
प्रयोगशाला सञ्चालनमा ल्याएपछि लालबन्दी नगरपालिका १५ र १६ का स्थानीयलाई रगत वा दिसा,पिसाब परीक्षण गर्न समेत लालबन्दी बजार नै आउनुपर्ने बाध्यताको अन्त्य भएका लालबन्दी नगरपालिकाका प्रवक्ता एवम लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष गणेशबहादुर थापाले बताए ।
चुरे पाखैपाखाको विकट बस्ती रहेको आफ्नो वडाका अतिविपन्न र सुकुम्वासी परिवारलाई स्वास्थ्य क्षेत्रमा थोरै भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले वडा कार्यालयले लगानी गरेर प्रयोगशाला स्थापना गरिएकोे लालबन्दी नगरपालिका १५ का वडाध्यक्ष गोरबहादुर बलले बताए । उनका अनुसार स्वास्थ्य चौकीसँगै बर्थिङ सेन्टर समेत रहेकाले प्रसुति सेवा लिन आउने गर्भवती महिलालाई अब ल्याबको सेवा लिन सहज भएको छ ।
लालबन्दी नगरपालिकाभित्र प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी,स्वास्थ्य चौकी पत्थरकोट र स्वास्थ्य चौकी परवानिपुरमा प्रयोगशाला स्थापना भएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मिक्रानीले बताए ।

सम्बन्धित समाचार