रामेछापको मन्थली नगरपालिका ३ का रामबाबु खत्रीले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीलाई एकल महिला भक्ता खुवाएको तथ्य फेला परेको छ । मन्थली नगरपालिका ३ का रामबाबुले आफ्नो मृत्यु प्रमाण पत्र बनाएर श्रीमती निर्मलालाई करिब १ वर्षको एकल महिला भत्ता खुवाएका पाइएको हो ।
रामबाबु केही समय अघि जिल्ला प्रशासन कार्यालय रामेछाप र त्यसपछि सरुवा भएर जिल्ला कारागार रामेछापमा कार्यरत थिए। श्रीमतीलाई भत्ता खुवाएको पत्ता लागेपछि कारबाही हुने डरले रामबाबुले जिल्ला कारागार सरुवा भएका थिए। त्यसको केही समयमै उनले जागिरबाट राजीनामा दिएका छन् । कारबाहीको डरले चाँडै राजीनामा दिएको हुनसक्ने आशंका गरिएको रामेछापका हाम्रा सहकर्मी सन्तोष ढुंगेलले जानकारी दिए ।
मन्थली नगरपालिका ३ का तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते नै बिधुवा भत्ताको परिचयपत्र सोही दिनदेखि लागू हुनेगरि बनाइदिएका थिए। तर महतोले निर्मलालाई बनाएको परिचय पत्रमा बुबा आमाको मात्र नाम खुलाएका छन् भने पतिको नाम खुलाएका छैनन्।
हाम्रा सहकर्मी ढुंगेलका अनुसार मन्थली नगरपालिकाबाट प्राप्त सुचना अनुसार निर्मलाले २०७९ माघ सम्ममा १५ महिनाको सामाजिक सुरक्षा भत्ता बुझेकी छन्। निर्मलाका पति जीवितै रहेका र उनले पतिको मृत्यु पश्चात पाउने भत्ता लिइरहेको तथ्य बाहिरिएको हो।
तत्कालीन वडा सचिव महतोद्वारा हस्ताक्षरित प्रमाणपत्रका आधारमा हेर्दा निर्मलाले मासिक दुई हजार छ ६० का दरले १५ महिनामा रु ३९ हजार नौ सय रकम बुझेकी छन्। यो विषयमा मन्थली नगरपालिकासँग सोध्दा विगतमा भत्ता लिएको र पतिको मृत्यु नभएको जानकारी पाएपछि रोकेको जनाएको छ। मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीका अनुसार सत्यतथ्य बुझेर नगरपालिकाले भत्ता कटौती गरिसकेको छ ।
यता,मन्थली नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापाले निर्मलाले भत्ता लिएको कुरा सत्य भएको स्वीकार गरेका छन् ।आफ्नो कार्यकालभन्दा अगाडिको घटना भएकाले आफू निर्वाचित भए पश्चात् सम्पूर्ण रकम फिर्ता गराएको वडा अध्यक्ष थापाले बताए।
जीवित मान्छेलाई मृत्युको प्रमाणपत्र दिने,एकल महिलाका नाममा लाभग्राही बनाउने र सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोग गर्नेलाई प्राप्त प्रमाणका आधारमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए। उनले कसैले चलखेल गरेर रकम फिर्ता गराएको भए पनि यो घटनालाई अनुसन्धान गर्ने र संलग्नलाई छानबिनको दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन् । समाचार अन्नपुर्ण पोष्ट दैनिकबाट