दुर्गा कुमारी अधिकारी
सर्लाहीको गोडैतामा रहेको उद्योग वाणिज्य संघ गोडैताका अध्यक्ष जितेन्द्र हजरा मृत फेला परेका छन् । गोडैता बजारमा एल्बेस्टरको व्यापार गर्दै आएका उद्योग वाणिज्य संघ गोडैताका अध्यक्ष हजरा शुक्रबार साँझदेखि बेपत्ता भएका थिए । उद्योग वाणिज्य संघ गोडैताका अध्यक्ष हजरा शनिबार दिउँसो घरदेखि करिव तीन सयमिटर पूर्व–उत्तरतर्फ गोडैता नगरपालिका ८ मा रहेको लहरी बारीभित्र मृत फेला परेका प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो घाँस काट्न गएका स्थानीयले उद्योग वाणिज्य संघ गोडैताका अध्यक्ष हजराको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । करिब ५० वर्षका उद्योग वाणिज्य संघ गोडैताका अध्यक्ष हजराको हत्या भएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई खबर आउन साथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरि सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनकाअनुसार उद्योग वाणिज्य संघ गोडैताका अध्यक्ष हजाराको घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।घटनास्थलमा बर्दिवासबाट तालिम प्राप्त कुकुर मगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।
भारतीय सीमा क्षेत्र र भूगोल पनि ठूलो रहेको आफ्नो पालिकामा अपराध,दुर्घटनाजस्ता घटना अत्याधिक हुने गरेको भएपनि प्रहरी चौकीमा सिमित प्रहरी हुँदा शान्ति,सुरक्षाको प्रत्याभूति हुन नसकेकाले गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादवले बताए । प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय राखिदिन जिल्लास्थित सुरक्षा प्रमुखसँग बारम्बार माग गरे पनि सुनुवाई नभएको नगर प्रमुख यादवको गुनासो छ ।