होतरीको बर्दिबास नगरपालिकाकाका नगर प्रमुख विदुर कार्कीले केही मिडियाहरुमा आएका भ्रामक समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । महालेखापरीक्षकले हालै सार्वजनिक गरेको ५८ औं प्रतिवेदनको आधारमा सोमबार केही मिडियाहरुले ‘कृषि पोखरी खन्ने नाममा बर्दिबासका मेयर कार्कीले कानुन विपरीत करोडौंको ग्राइभेल बेचेको खुलासा’ शीर्षको समाचार प्रकाशन गरेका थिए । जस समाचारमा कुनै सत्यता नभएको भन्दै आफ्नो बद्नाम गराउने काम भएकोले आफ्नो गंभिर ध्यानाकर्षण भएको नगर प्रमुख कार्कीले कमलामाई मिडिया प्रालिलाई बताउनु भयो ।
नगर प्रमुख कार्कीले आफ्नो कार्यकक्षमा वास्ताविकता बुझ्न पुगेको कमलामाई मिडिया प्रालिको टोलीलाई उक्त समाचारमा कुनै सत्यता नरहेको र आफ्नो बद्नाम गराउने गरी कोही कसैले प्रयोग गरेको भरमा उचालिएर वास्तविकता नबुझि समाचार सम्प्रेषण गर्ने पत्रकार र मिडिया हाउस प्रति आफु अदालत जाने बताउनु भयो ।
उहाँले नेपाल सरकारकै निर्णय बमोजिम प्राथमिकता प्राप्त योजनाहरुलाई पोखरी निर्माण गर्दा निस्केको ढुंगा, रोडा तथा ग्राइभेल राजश्व लिई विक्री गरेको समेत स्पष्ट पार्नु भयो । उहाँले वास्तविक कुरा नबुझी तथ्य भन्दा बाहिर गएर भ्रम सृजना गरी बदनाम गराउने गलत मनसायले समाचार सम्प्रेषण गरेको भन्दै त्यसको खण्डन गर्नु भएको छ ।
‘म नगरप्रमुखको हैसियतले नगरपालिकाका विकास तथा राजश्व संकलन कार्यमा संविधान तथा कानुनले दिएको अधिकार उपयोग गरी नगरको विकासको अभियानमा सरिक भएको ठानेको छु’ नगर प्रमुख कार्कीले बताउनु भयो । ‘ठेकेदारसंग मिलेमतो गरी कानुन विपरीत गइ भ्रष्टाचार गरेको कपोकल्पित र सरासर झुठो हो भनि खण्डन गर्दछु ।’ उहाँले बताउनु भयो ।
महालेखा परीक्षाको प्रारम्भिक प्रतिवेदन नगरपालिकामा आए पश्चात भएका त्रुटिहरु सच्याइ सकिएको र बाँकी राजश्वय समेत नियमानुसार असुल उपर गरेको र केहि गर्ने क्रममा रहेको उहाँको भनाई छ । नगर प्रमुख कार्कीले माछा पोखरी निर्माण गर्दा निस्किने ढूंगा, रोडा तथा ग्राभेल खानी विक्री वितरण र राजश्व संकलनको विषयमा समेत स्पष्ट पार्नु भएको छ ।
नगर कार्यपालिकाको निर्णयका आधारमा ५० हजार घनमिटर ग्राइभेल रोडाको लागि शिवालय दिवा जेभीसँग रु. ९० लाख ७३ हजार २ सय ८० मा नगरपालिकासँग भएको सम्झौता बताउँदै सो परिमाण बराबरको रकम नगरपालिकालाइ प्राप्त भइसकेको नगर प्रमुख कार्कीले जानकारी दिनुभयो ।
प्राविधीक प्रतिवेदन अनुसार तोकिएको परिणाम भन्दा बढी उत्खन्न गरि लगेको ६ हजार २ सय ५४ दशमलव ५ घन मिटरको मूल्य अभिवृद्धि कर सहितको रोयल्टी रु ९ लाख ९७ हजार ६ सय ६० रकम दाखिला गर्न मिति २०७७ चैत ५ गते पत्राचार गरिएको पनि उहाँले बताउनु भयो ।
त्यसैगरि १ लाख ५० हजार घनमिटर साधारण निर्माणमुखी रोडा, मिसकट ग्राभेल पोखरीबाट खनी लैजानका लागि रोशन कन्सटक्सन प्रालिसँग रु २ करोड ३९ लाख १९ हजार ८ सय ४० मा सम्झौता भएकोमा सम्झौता गर्दा बखत नै रु ६० लाख नगरपालिकामा दाखिला गरेको र रु १ करोड ८० लाख नेपाल बंगलादेश बैँक कुमारी पार्टी ललितपुरको बैंक ग्यारेन्टीमा जम्मा गरि नगरपालिकासँग सम्झौता भएको नगर प्रमुख कार्कीको भनाइ छ ।
प्राविधीक प्रतिवदेन अनुसार १ लाख ४ हजार ३ सय १४ घनमिटर मात्र रोशन कन्ट्रक्सनले खनि लगेकोमा तोकिएको म्यादभित्र उक्त परिणामको मूल्य अभिवृद्धि कर सहित रोयल्टी रु १ करोड ६६ लाख ३९ हजार २ सय २३ मध्ये हालसम्म रु १ करोड १२ लाख ६० हजार ४ सय नगरपालिकालाई प्राप्त भएको नगर प्रमुख कार्कीले बताउनु भयो । उहाँले कन्ट्रक्सनमाथि बाँकी रकम रु ५३ लाख ७८ हजार ८ सय २३ रुपैँया असुल उपर गर्न बैँक ग्यारेन्टी दिने बैँकलाई २०७८ वैशाख ३० गते पत्राचार गरिएको जानकारी दिनु भयो ।
नगरस्तरका ५ योजनाहरुमा उक्त पोखरीबाट १६ हजार ४८ घनमिटर ग्राभेल खनि लगेको बापत मूल्य अभिवृद्धि कर सहित रोयल्टी रकम रु २६ लाख २२ हजार ९ सय ४७ उपभोक्ता समितीबाट नगरपालिकालाई प्राप्त भएको समेत उहाँले बताउनु भयो ।
माछा पोखरी खन्दा निस्केको साधारण निर्माणमुखी रोडा विक्रीबाट हालसम्म रु २ करोड १८ लाख ५६ हजार ६ सय २७ रुपैँया नगरपालिकालाई प्राप्त भएको बताउँदै नगर प्रमुख कार्कीले रु ६३ लाख ७६ हजार ४ सय ८४ असुल उपर गर्ने क्रममा रहेको समेत प्रष्ट पार्नु भयो । हालसम्म सो माछा पोखरीबाट रु २ करोड ८२ लाख ३३ हजार १ सय ११ रुपैँया राजश्व संकलन भएको नगरपालिकाको भनाई छ ।