सिराहाबाट हेटौँडाका लागि जाँँदै गरेको बिआर ०६ जिइ ५०५३ नंम्बरको भारतीय ट्रकबाट भन्सार छलिको ठुलो परिमाणको कपडा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ सिरहाबाट भन्सार छलेर ल्याएको ९० बोरा कपडासहित हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चौकीले २ जनालाई नियन्त्रणमा लिएको कमवानपुर प्रहरीले जनाएको छ । भारतको पञ्जाव राज्यको लोदियाना जिल्ला रसलपुर ग्राम ७ का ट्रक चालक अन्दाजी ३३ वर्षीय रन्जौद सिंह र सहचालक अन्दाजी २६ वर्षीय सुधीरकुमार सहनीलाई हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोष्ट अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ट्रकमा चारैतिरबाट प्याजको बोराहरुले छोपी बीच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा बरामद भएको हो । विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रातोमाटे चेकपोष्टबाट सो ट्रकलाई नियन्त्रणमा लिइएको थियो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने उक्त चेकपोष्टमा सिराहाबाट हेटौंडातर्फ जाँदै गरेको सो ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सो ट्रकको पछाडीको भागमा चारैतिरबाट १ सय ६८ बोरा प्याजले छोपी ल्याइएको कपडा बरामद भएको प्रहरीले जनाएको छ । ट्रकमा ल्याएको १ सय ६८ बोरा प्याजको प्रतिकिलो रु ५० दरले भन्सार काटिएको छ ।
ट्रकमा पाइन्टको कपडा अन्दाजी रु एक करोड २८ लाख ९६ हजार,सुटको कपडा अन्दाजी रु ३ लाख,सर्टको कपडा अन्दाजी रु १६ लाख ७६ हजार २ सय ५०,सेरवानी कुर्था अन्दाजी रु एक लाख ३ हजार र कोरा कपडा रु ५ लाख २५ हजार ४ सय ४७ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकमा रु २ लाख ५२ हजार बराबरको ८४ क्युुन्टल प्याज रहेको थियो । उक्त ट्रक र कपडा अनुसन्धानका लागि राजस्व कार्यालय हरिहर भवन लतितपुर पठाइने प्रहरीले जनाएको छ ।
यता, पछिल्ला दिनमा सिरहा तस्करीको उर्वर भूमिको रुपमा चिनिन थालेको छ। डेढ करोड भन्दा बढीको कपडासहित भारतयि नम्बरको ट्रक र दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएपछि सिरहाको पूर्वी नाका ठाडी भन्सारका कर्मचारी र सुरक्षाकर्मीहरुको मिलेमतोमा ठूलो परिमाणमा भन्सार छलीका सामानहरू नेपाल भित्र्याएको पाइएको हो ।
ठाडी भन्सार कार्यालयबाट भगवानपुर गाउँपालिका ४ का लागि स्थानीय गोदावरी माता इन्टरनेशनल प्रालिले गत जेठ ३२ गते बीआर–०६ जीई ५०५३ नम्बरको मिनी ट्रकमा १५ हजार ८ सय ६३ किलो प्याजको रु १ लाख ९३ हजार ७ सय ९२ बराबरको भन्सार बुझाए पनि ट्रकभित्र थोरै मात्रामा प्याज लोड गरी करिब रु १ करोडभन्दा बढीको कपडा ल्याएको अवस्थामा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएपछि अनुसन्धान गर्ने क्रममा ठाडी भन्सारका कर्मचारी र सुरक्षाकर्मीहरु कै मिलेमतोमा सो काम भएको रहस्य बाहिरिएको हो ।

भगवानपुरको लागि ल्याएको भनिएको प्याज कसरी काठमाडौं गयो भन्ने विषयमा गोदावरी माता इन्टरनेशनल प्रा.लिका सञ्चालक मनिस कुमार महतोले आफ्नो फर्म प्रयोग गरेर काठमाडौंका व्यवसायी भूपेन्द्र प्रधानले सामान लगेको भन्दै पन्छीए। सञ्चालक महतोले आफू लगानी गरेर ल्याउने भन्दा पनि सामान चाहिएकाहरुसँग समन्वय गरेर आफ्नो फर्म प्रयोग गरी सामान ल्याउने गरेको बताए। भन्सार कार्यालयबाट नजिकै रहेको बजार भगवानपुर लाने भनेर भन्सार काटिएको भएपनि सो ट्रक अवैध कपडा सहित मकवानपुरबाट प्रहरीको नियन्त्रणमा परेको थियो ।
यता ठाडी भन्सार कार्यालयका निमित्त प्रमुख शिव कुशवाहल‘प्याज,फलफूल जस्ता सामग्री सबै निकालेर हेर्न नसकिने भएकाले दुईचार वटा बोरा खोलेर हेरियो,खासै त्यस्तो पाइएन।’ बताए ।उनले भन्सार काटिएको ३० घण्टापछि हेटौंडाबाट सामान बरामद भएकाले बाटोमा हेरफेर भएको हुनसक्ने भन्दै आफुलाई चोख्याए ।
त्यसैगरी शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्मका शसस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र थापाले भन्सार कर्मचारीहरुले दिएको कागजको आधारमा आफूहरू मुख्य योजनाकारसम्म पुग्न नसकेको बताए।उनी यस अघि मधेश प्रदेश कै सर्लाहीमा बस्दा पनि चर्काे कमिसन दिने तस्करहरुलाई सुरक्षा दिने र कमिसन नबुझाउने साना व्यापारीहरुलाई अनावश्यक दुःख दिएको भन्दै पटक पटक विवादमा परेका थिए ।
कुनै पनि हालतमा पैसा चाहिन्छ भन्ने मानसिकता भएका शसस्त्र प्रहरी नायव उपरिक्षक थापा पटक पटक विवादमा पर्दा पनि शसस्त्र प्रहरी छिन्नमस्ता बाहिनी मधेश प्रदेशका तत्कालीन प्रमुख डिआईजी गणेश बहादुर ठाडा मगरले शसस्त्र प्रहरी नायव उपरिक्षक थापा मगरलाई जातकै आधारमा संरक्षण गर्दै आएका थिए । बरु उनको विषयमा जसले गुनासो गर्छ उही शसस्त्र प्रहरीको निशानामा पर्ने गरेका थिए ।
सिराहाको लहान नगरपालिका १ बाट प्रहरीले वैशाख २७ गते पनि भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको करिब रु ७३ लाख बराबरको आयुर्वेदिक औषधी पनि नियन्त्रणमा लिएको थियो। यी दुवै घटनाले सिराहामा तस्करी फस्टाएको पुष्टि हुने स्थानीयहरु बताउँछन्। सुरक्षाकर्मीहरु र भन्सार कर्मचारीहरुले देखाउन कै लागि दिनभरी घरायसी सामान ल्याउने सर्वसाधारणको चेकजाँच गरे पनि सेटिङमा ठूला तस्करी हुने गरेको स्थानीयको आरोप छ। तर,ठाडीबाट लाहान हुँदै धनुषा,महोत्तरी,सर्लाही,रौतहट,बारासहित पाँचवटा जिल्ला पार गरेर ट्रक मकवानपुर पुग्नुलाई आशंकाको दृष्टिले हेरिएको छ। स्थानीय एक व्यवसायीले नै भने, ‘सेटिङगविना यत्रो सामान पाँचवटा जिल्ला पार गरेर जानै सक्दैन,पुरै सेटिङमै सामान गएको हो।’