सर्लाहीका दुई चिनी उद्योगले उखु किसानको भुत्तानी गरेनन्

847 Shares

शंखर पहाडी(गौरब)
सर्लाहीका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका छन् । उखु क्रसिङ सकेर बन्द भएका जिल्लाका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका हुन ।
अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानहरुले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानहरुले वर्षेनि आन्दोलन गर्दै आइरहेका गोडैता नगरपालिका ९, का किसान सीताराम यादवले बताए । उनका अनुसार सुरुमा केही किसानहरुलाई भुक्तानी दिएर यी दुवै चिनी उद्योगका सञ्चालक अहिले आफूहरुसँग सम्पर्क भन्दा बाहिर रहेका हुन ।
“सुरुमा केही किसानहरुलाई भुक्तानी दिइयो,त्यसपछि बाँकी किसानहरुको पैसा दिन चिनी उद्योगहरुले वास्तै गरेनन्” गोडैताका अर्का किसान राम किरण यादवले बताए ।“चिनी उद्योग बन्द भएको एक महिनासम्म पनि उद्योगी सम्पर्कमा नआउँदा आफुहरुलाई व्यवहार धान्न गाह्रो परिसकेको छ ।”किसान यादवले बताए ।
उद्योगले उखु बेचेको पैसा नदिँदा बालबालिकाको विद्यालयमा शुल्क बुझाउन मात्र नभई आफ्नो घरखर्च समेत  धान्न नसक्ने अवस्था आएको अर्का उखु उत्पादक किसान राजकरण यादवले बताए ।“उखु खेतीबाटै व्यवहार चलाउने आफु जस्ता हर्जनौँ उखु उत्पादक किसानहरु उद्योगबाट पैसा नपाउँदा साहुमहाजनबाट ऋण लिन बाध्य भएका छन् ।”राजकरणले गुनासो गरे ।
उखुको पैसा नपाउँदा उखु काट्ने जन,ढुवानी गर्ने ट्याक्टरको पैसा धरी तिर्न नपाएको धनकौल गाउँपालिका ३, का उखु किसान रामस्वार्थ साहले गुनासो गरे ।“उखु फलाउँदादेखि उद्योगसम्म लगेर बुझाउँदा सम्मको उधारो छ तर उद्योगले कहिले पैसा दिन्छ भन्ने अयौल छ,”उखु किसान साहले बताए ।
बेलैमा भुक्तानी नदिने समस्याका कारण पछिल्ला वर्षमा जिल्लाका किसानहरुले अन्यत्र ठाउँका चिनी उद्योग र सख्खर बनाउने उद्योगलाई उखु बेच्न थालेका उखु उत्पादक किसान राजकुमार उप्रेतीले बताए । उनका अनुसार पछिल्लो समय जिल्लाका उखु उत्पादक किसानहरु उखु भन्दा अन्य खेती तर्फ समेत आकर्षीत हुन थालेका छन् । अब पनि चिनी उद्योगहरुले भुक्तानी नदिए मिटरब्याजबाट पीडित भएका किसानहरु झैँ उखु उत्पादक किसानहरु पनि आन्दोलनमा उत्रन बाध्य हुने उखु उत्पादक किसान उप्रेतीले बताए ।
जिल्लाका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवनबाट भने उखु किसानहरुले भुक्तानी पाइरहेका भएपनि अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहले हरेक वर्ष उखु उत्पादक किसानहरुलाई झुक्याउने गरेको उखु उत्पादक किसान महासंघ नेपालका अध्यक्ष कपिलमुनी मैनालीले बताए । उनका अनुसार किसानलाई भुक्तानीमा आलटाल गर्ने अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहका सञ्चालक स्थानीय प्रशासनको समेत सम्पर्कमा आउन चाँहदैनन् । 
जिल्लाका अन्य उद्योगहरुले किसानहरुको  भुक्तानी समयमै नगर्दा उखु खेती घटेको र त्यसको प्रत्यक्ष प्रभाव इन्दुशंकर चिनी उद्योगलाई परेको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताए । उनका अनुसार इन्दु शंकर चिनी उद्योगले उखु उत्पादक किसानहरुलाई समयमै उखुको भुक्तानी दिने गरेको छ ।

सम्बन्धित समाचार