स्व. कर्माचार्य स्मृति प्रतिष्ठान सर्लाही शाखाको गठन,पन्त अध्यक्ष

1k Shares

शंखर पहाडी(गौरब)
स्व.नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको जिल्ला शाखा सर्लाहीमा पनि गठन गरिएको छ। शाखाको अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का नेता अर्जुन पन्तको अध्यक्षतामा प्रतिष्ठानको ११ सदस्यीय जिल्ला शाखा गठन गरिएको हो। 
समितिको उपाध्यक्ष सावित्रा बुढाथोकी,सचिव कृष्ण गौतम र कोषाध्यक्ष बालकुमार श्रेष्ठ चयन भएका माओवादी केन्द्र सर्लाहीले जनाएको छ । दिनेश थापा,इन्द्र पाठक,शिवजी साह, बमबहादुर लोप्चन,सुन्दरकलादेवी महतो,बद्री प्रधान र श्याम बाबु कार्की प्रतिष्ठान शाखा सर्लाहीको सदस्य चयन भएका छन्। 
नेपालको वामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनमा कर्माचार्यले पु¥याएको योगदानलाई चिरस्थायी बनाउने गरी प्रतिष्ठानले वैचारिक क्षेत्रमा विभिन्न काम गर्ने प्रतिष्ठानका अध्यक्ष पन्तले बताए। 
को हुन् नरबहादुर कर्माचार्य ?
बि.सं २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने हस्तीमध्येका एक कर्माचार्यको निधन वि.सं २०७० साल साउन ९ गते भएको थियो । जण्डिस र निमोनियाका कारण ८९ वर्षको उमेरमा उनको निधन भएको हो । कर्माचार्य बि.सं २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणा विरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय थिए । राणा विरोधी र मजदूर आन्दोलनमा सक्रिय रहँदा उनले जेल सजाय मात्र होइन, निर्वासित जीवन समेत बिताउनु परेको थियो ।
उनले त्यतिबेला राष्ट्रिय कांग्रेसका नेताहरूलाई मिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । राष्ट्रिय कांग्रेसबाट देश र जनताको पक्षमा केही नहुने रहेछ भन्ने निष्कर्षमा पुगेर अर्काे क्रान्तिकारी पार्टी निर्माणमा लागेका कर्माचार्य चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित थिए ।
२००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा नारायणविलास जोशी,निरञ्जन गोविन्द वैद्य र कर्माचार्य मिलेर भारतको कलकत्तामा अवस्थित बडाबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । कम्युनिष्ट पार्टीको गठन पश्चात उनी मजदुर संगठनका पनि संस्थापक अध्यक्ष भएका थिए।
उनी पार्टीले सञ्चालन गरेका विभिन्न राजनीतिक आन्दोलनहरूमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा तत्कालिन ललितपुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । उनी वि.सं २०१९ सालमा तेस्रो महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यसपछि पार्टी फुट र विभाजनको श्रृंखला सुरु भएपछि उनी लगायत केही साथीहरू स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुन थाले ।
उनले विभाजित समूहहरूलाई एकीकृत बनाउन निरन्तर पहल र प्रयत्न गरे । यही क्रममा चौंथो महाधिवेशनमा केन्द्रीय सदस्य पनि भए । नेकपा एकता केन्द्र निर्माण हुँदा उनी एकता केन्द्र तदर्थ समितिको अध्यक्ष समेत भए । एकीकृत नेकपा माओवादीको संरक्षक भएका कर्माचार्य जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय भैई रहेका थिए ।
कम्युनिष्ट पार्टीमा आएको विभाजनप्रति असन्तुष्ट कर्माचार्य सबैलाई मिलाएर एकता कायम गर्ने पक्षमा थिए । उनको त्यो सपना उनी जीवितै हुँदा पुरा नभए पनि २०७५ जेठ ३ गते सफल भएको थियो । नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)एकीकृत भै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बनेको थियो ।
उनी विक्रम सम्बत १९८१ साल कात्तिक १४ गते भाइटीकाको दिन चन्द्रबहादुर कर्माचार्य र कुमारी कर्माचार्यको कोखबाट जन्मीएका थिए । पार्टी र क्रान्तिमा लाग्दा उनी जीवनभर अविवाहित रहे ।

सम्बन्धित समाचार