गणेश खड्का
सर्लाहीको बागमती नगरपालिकाले नगरका किसानहरुका लागि धानको विऊ ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको छ । बागमती नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को शर्सत कार्यक्रम अनुसार नगरका किसानहरुलाई धानको बीऊ ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरिएको प्रकाुख प्रशासकीय अधिकृत बिमल कुमार पोख्रेलले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिका भित्रका कृषक,कृषि समुह र कृषि सहकारीहरुलाई सावाँ मसुली सब –१ प्रति किलो रु ३५ र सुख्खा धान–५ रु ३० मा प्रतिकिलो वितरण गरिने भएको हो ।
सावाँ मसुली सब –१ र सुख्खा धान–५ जातको धानको बिऊ बागमती नगरपालिका ४,११ र १२ का किसानहरुका लागि साना किसान कृषि सहकारी संस्था लिको कार्यालयबाट,बागमती नगरपालिका १२ बाट वडा नम्बर ३ का किसानहरुका लागि श्री राम जानकी साना किसान कृषि सहकारी संस्था लि. बागमती नगरपालिका २ को कार्यालयबाट,बागमती नगरपालिका वडा नम्बर १ र २ का किसानहरुका लागि बागमती नगरपालिका वडा नम्बर १ र २ ढुङ्गेखोलाको वडा कार्यालयबाट, बागमती नगरपालिका वडा नम्बर ५,६ र ७ का किसानहरुका लागि नगरपालिकाको कृषि विकास शाखा कार्यालय खाल्टेबाट,र बागमती नगरपालिका वडा नम्बर ८,९ र १० का किसानहरुका लागि साना किसान कृषि लि. शंकरपुर, बागमती नगरपालिका १० बाट धानको बिऊ वितरण गरिने भएको बागमती नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
शाखाका अनुसार नगर भित्रका किसानहरुले नागरीकताको प्रतिलिपी १ थान र जग्गाको लागपुर्जा वा जग्गा भोगचलनको प्रमाण पत्रको प्रतिलिपी १ थान लिएर जेठ १४ गतेदेखि २८ गते सम्म धानको विऊ ५० प्रतिशत अनुदानमा लिन आउन नगरपालिकाले एक सुचना जारी गरि जानकारी गराएको छ ।