दुर्गा कुमारी अधिकारी
सर्लाही सहित मधेश प्रदेशमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ । विगत चार दिन अत्यधिक गर्मी बढेकोका कारण जनजीवन प्रभावित भएको छ । लगातर बढेको गर्मीका कारण सर्लाही सहित मधेश प्रदेशका मानिसहरुमा छटपटाहट बढेको छ ।
बाहिर हिँड्दा चर्को घाम र घरभित्रै बस्दा घर तातेर बस्न सक्ने अवस्था नरेहको स्थानीय सुरेश बस्नेतले बताए । उनका अनुसार गर्मीले मानिस असिनपसिन भएर बसेका छन् ।गएको तीन रात धेरैले गर्मीका कारण सुत्नै नसकेर बिताएको स्थानीय विनिता यादवले बताईन् ।
यो वर्ष जमिन भिज्ने गरी बेस्सरी वर्षा नै हुन नसकेकाले असाध्य गर्मी महसुस भइरहेको स्थानीयको भनाई छ । अहिले शित्तलताको खोजीमा भौतारिनुपर्ने अवस्था छ । यो गर्मीमा घरबाहिर निस्कनुपर्ने किसान,मजदुर र विद्यार्थीहरु अझ बढी प्रभावित भएका छन् । जिल्लामा पानी पर्दा एक÷दुई दिन शित्तल भएको भएपनि त्यसपछि पुनः हपक्क भएर गर्मी बढेको हो ।
गर्मीले मानिस बिरामी नै पर्ने अवस्था सृजना भएको छ । चिकित्सकले यो समयमा प्रशस्त पानी पिउन र तातो हावा चलेको तथा चर्को घाम लागेका बेला सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन् । तर दैनिक मजदुरीमा निस्कनुपर्नेहरुलाई यि सबै कुरा सहनुपर्ने अवस्था छ । तराई मधेशमा पछिल्ला वर्षहरुमा वन विनाश,अवैध उत्खनन् र जताततै ठुलठुला भौतिक संरचनाहरु निर्माण भएका कारण गर्मी बढेको जानकारहरुको भनाई छ ।