सर्लाहीमा २ वर्षदेखि वैदेशिक रोजगार छात्रवृत्ति वितरण भएन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-२५ गते   ६१६ पटक हेरिएको

शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले वैदेशिक रोजगारी छात्रवृत्तिअन्तर्गत दिनुपर्ने रकम नदिएको लाभग्राही परिवारहरुले गुनासो गरेका छन् ।वैदेशिक रोजगारी छात्रवृत्तिअन्तर्गत पाउनुपर्ने रकम शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले नदिएको जिल्लाका लाभग्राही परिवारहरुले गुनासो गरेका हुन ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डबाट बर्सेनि पाउँदै आएको छात्रवृत्ति दुई वर्षदेखि नपाएको जिल्लाका लाभग्राही निशान्त धिमालले गुनासो गरे । उनका बुबाको वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएको थियो।
हाल उनी हजुरबुबाको रेखदेखमा बस्नु भएको छ ।घरमा कमाउने कोही नहुँदा स्थानीय सामुदायिक विद्यालयमा कक्षा सातमा पढ्ने आफुलाई कापी कलम किन्न समेत समस्या भएको धिमालको गुनासो छ ।
यसअघि धिमालले पाउने छात्रवृत्ति रकमबाटै पढाइ–लेखाइ खर्च टर्दै आएको थियो। बेसहारा परिवारको सहारा बनेको छात्रवृत्तिमा समेत राज्यले पीडित परिवारलाई झुक्याएको निशान्तका हजुरबुबा पुण्यप्रसाद धिमालले बताए ।यसअघि शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीबाटै पाउँदै आएको छात्रवृत्ति गएको दुई वर्षदेखि नपाएको उनको गुनासो छ।
जिल्लामा हाल एक सय ४९ जना लाभग्राही छात्रछात्रा रहेका छन्। बोर्डले शिक्षा विकास तथा समन्वय एकाइमार्फत निम्नमाध्यमिक तहका छात्रछात्रालाई वार्षिक रु आठ हजार र माध्यमिक तहका छात्रछात्रालाई रु १२ हजार छात्रवृत्ति दिँदै आएको थियो।
छात्रवृत्तिका लागि आफूले गत वर्ष र यस वर्ष गरी दर्जनौँपटक शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय धाएको पीडित धिमालको भनाई छ । भने उक्त छात्रवृत्ति रकम आउन बाँकी रहेकोले वितरण नगरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले बताए । उनले इकाईको खातामा पैसा आएपछि लाभग्राहीको खातामा पठाइने बताए । रोकिएको पैसा दुई वर्षकै एकै पटक आउँछ कि एक वर्षको मात्रै आउँछ भन्ने विषयमा आफु अनभिज्ञ रहेको  शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख रौनियारले बताए ।  
यता वैदेशिक रोजगार बोर्डले शैक्षिक सत्र ०७८/०७९ को छात्रवृत्ति बापतको रकम सम्बन्धीत जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाईमा पठाइ सकिएको जनाएको छ। शैक्षिक सत्र ०७९/०८० को रकम पठाउन बाँकी रहेको भएपनि शैक्षिक सत्र ०७८÷०७९ को छात्रवृत्ति बापतको रकम सम्बन्धीत जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाईमा पठाइ सकिएको बोर्डका सूचना अधिकारी राजन पौडेलले बताए । 
उहाँले सम्बन्धीत जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइले लाभग्राहीलाई रकम वितरण गरे–नगरेको बुझ्ने बताए । वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्यक्तिका सन्तानमध्ये एक छात्रा वा छात्रलाई उक्त छात्रवृत्ति रकम दिने गरेको बोर्डले जनाएको छ। 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech