नेपाली कांग्रेस सर्लाहीको क्षेत्र नं. २ को क्षेत्रीय कार्य समितिले सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यतर्फ पार्टीका पूर्व केन्द्रीय सदस्य जंगिलाल राय,निवर्तमान जिल्ला सभापति नागेन्द्रकुमार राय र नेता जयहरि श्रेष्ठ (राजु) को नाम सिफारिस गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
२०७४ मा यो क्षेत्रबाट कांग्रेसका जंगिलाल रायलाई भारी मतले पराजित गर्दै तत्कालिन राजपाका नेता (हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष) महिन्द्रराय यादव निर्वाचित भएका थिए ।
यस्तै, क्षेत्र नं. २ बाट समानुपातिकतर्फ पूर्व जिल्ला सभापति लक्ष्मण राय र धनमन्ति यादवको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति कौशलकिशोर रायले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नं. २ को (क) र (ख) बाट प्रदेशसभा सदस्यमा समेत प्रत्यक्ष र समानुपातिक दुवैतर्फका आकांक्षीको नाम प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिमा सिफारिस भइसकेको छ ।
प्रदेश सभा तर्फको (क) र (ख) बाट गरी २ दर्जन बढी उम्मेदवारको नाम सिफारिस भएको क्षेत्रीय कार्य समितिले जनाएको छ । यस्तै, क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यतर्फको उम्मेदवार सिफारिस गर्न छलफल सुरु भएको छ ।
इश्वरपुर नगरपालिका ६ बयलवासमा भएको छलफलमा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । प्रत्यक्षमा २०७४ को प्रत्यासी समेत रहेका शम्भुलाल श्रेष्ठसहित संविधान सभाका सदस्य रामचन्द्र चौधरी, नेताहरु शिवकुमार गुर्मछाने,उद्धवप्रसाद पौडेल र सन्देश आचार्यले दाबेदारी प्रस्तुत गरेका हुन् ।
यस्तै,समानुपातिकतर्फ सुशीला कार्की,भवानीकुमारी कोइराला,सत्यदेवसिंह दनुवार, रजनिकान्त झा,मरनीदेवी साह र सुरेन्द्रबहादुर प्रधानले दाबेदारी प्रस्तुत गरेका छन् । छलफलमा आएका यी नाममाथि क्षेत्रीय कार्य समितिको बैठकमा छलफल सुरु भएको क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले बताउनु भयो ।
क्षेत्र नं. १ बाट प्रदेश क्षेत्रीय कार्य समितिले बुधबार नै (क) र (ख) दुवै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी ३ दर्जन बढीको नाम सिफारिस गरिसकेको छ । उम्मेदवार सिफारिस गर्न क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्य समितिको बैठक शुक्रबार बस्ने नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
क्षेत्र नम्बर ४ मा भने बैठक बोलाइएको छैन् । अरु क्षेत्रले धमाधम उम्मेदवार सिफारिस गर्न थाले पनि मङ्सिर ४ को निर्वाचनमा गठवन्धन हुँदा नेपाली कांग्रेसले सर्लाहीको क्षेत्र नम्बर ४ मा निर्वाचन क्षेत्र मात्रै पर्ने सम्भावना रहेको कांग्रेसकै नेताहरु बताएका छन् ।
सर्लाहीको क्षेत्र नं. १ जनता समाजवादी पार्टी (जसपा),क्षेत्र नं. २ नेपाल समाजवादी पार्टी (नेसपा), क्षेत्र नं. ३ नेकपा(माओवादी केन्द्र) र क्षेत्र नं. ४ कांग्रेसको भागमा पर्ने सम्भावना देखिएको छ । २०७४ मा क्षेत्र नं. १ बाट जसपाका प्रमोद साह,२ बाट (तत्कालिन राजपा) हाल नेसपाका अध्यक्ष महिन्द्रराय यादव,३ बाट माओवादी केन्द्रका रामेश्वर राय यादव र ४ बाट कांग्रेसका डा. अमरेशकुमार सिंह निर्वाचित भएका थिए ।
मङ्सिर ४ को निर्वाचनमा पुनः १ नं. क्षेत्रबाट जसपाको सचेतक समेत रहेका साह र २ नं. क्षेत्रबाट नेसपाका यादव नै गठवन्धनको उम्मेदवार हुने निश्चितजस्तै रहेको बुझिएको छ। माओवादी केन्द्रको भागमा पर्न सक्ने क्षेत्र नं.३ बाट रामेश्वर राय यादव वा राजकुमार राय यादवमध्ये एकले टिकट पाउने सम्भावना रहेको माओवादी केन्द्र सर्लाहीका एक नेताले बताएका छन् ।
कांग्रेसको भागमा पर्नसक्ने क्षेत्र नं. ४ बाट डा. अमरेशकुमार सिंह र वीरेन्द्रप्रसाद सिंह प्रमुख दाबेदार रहेका छन् । अमरेश ४ नं. क्षेत्रको हालका प्रतिनिधि सभाका सांसद र वीरेन्द्र प्रदेश सभा सदस्यमा निर्वाचित भई हाल मधेश सरकारको महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री रहेका छन् ।
एउटै दल भए पनि अमरेश र वीरेन्द्रबीच एक आपसमा निकै टकराब रहेकाले कांग्रेसको आधारक्षेत्र मानिने क्षेत्र नं. ४ मै कांग्रेस अहिले कमजोर अवस्थामा पुगेको विष्लेषण भइरहेको छ ।