सिन्धुलीको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माथि हातपात गर्ने वडा अध्यक्षलाई कार्बाहीको माग भएको छ । गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल माथी हातपात भएको भन्दै जिल्लाका सबै प्रमुख प्रशासकीय अधिकृतहरुले आपती जनाएको छ ।
गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथी भएको हातपातको विषयमा जिल्लाका अरु आठ पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुले संयुक्त विज्ञप्ती मार्फत गम्भिर ध्यानाकर्षण सहित आपत्ति जनाएका हुन् ।
राष्ट्रसेवक कर्मचारीको रुपमा कर्तव्य निर्वाहको क्रममा गत असार १४ गते प्रमुख प्रशासकीय अधिकृत पौडेल माथि गोलन्जोर गाउँपालिका २ का वडा अध्यक्ष दौलत कार्कीले गरेको हातपात अभद्र व्यवहार तथा अपमानजनक शब्दहरु प्रयोग गरेको घटना प्रति जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आपत्ति तथा घोर भत्र्सना गरेका तीनपाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।आठ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा‘कानुलाई हातमा लिई कर्तव्य निर्वाहको क्रममा एक राष्ट्रसेवक कर्मचारीप्रति भएको अभद्र,अपमानजनक व्यवहार एवम् सांघातिक हमला तथा अपाराधिक क्रियाकलापको घोर निन्दा गर्दछौँ ।’
कुनै पनि विवाद र समस्याको सन्दर्भमा आफ्नो फरक मत,विचार प्रक्रियागत तथा कानुनसम्म ढंगबाट स्वतन्त्रतापूर्वक राख्ने सरोकारवाला निकायहरु हुँदा हँुदै उल्लेखीत अवाञ्छित क्रियाकलाप कानुनत दण्डनीय भएको तथा कानुनलाई हातमा लिने छुट कोहि कसैलाई पनि नभएको भन्दै सो घटनाको सत्य तथ्य छानबीन गरी दोषीलाई कारबाही गर्न सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
अन्यथा घटनालाई राजनितिक रंग दिई अतिरन्जित बनाई बिभिन्न बाहानामा दोषीलाई उम्काउने प्रयास र कार्य भएमा चरणबद्ध रुपमा अन्य बाटो अवलम्बन गर्न बाध्य हुने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । जिल्लामा दुई नगरपालिका र ७ गाउँपालिका गरी नौ वटा स्थानीय तहहरु रहेका छन् ।