Close This

हचुवा प्रहरी अनुसन्धानका कारण दुर्घटना गर्ने उम्किए, निर्दाेष फसे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-८ गते   ४२७८ पटक हेरिएको

सर्लाहीमा करिब एक वर्ष पहिला भएको सवारी दुर्घटना मुद्दामा निर्दोष व्यक्तिलाई कानुनी परिबन्धमा पारिएको खुलेको छ । सर्लाही प्रहरीको फितलो अनुसन्धानले निर्दोष व्यक्तिले सजाय काटिरहेका छन् भने दोषी खुलेआम घुमिरहेका पाइएको छ । दुर्घटनाका मृतक तथा घाइतेले एक वर्ष वित्न लाग्दा पनि क्षतिपूर्ति समेत पाउन सकेका छैनन् ।
गत २०७७ कात्तिक १० मा लालबन्दी नगरपालिका–२ जुटपानीस्थित नवलपुर–मलंगवा सडक खण्डमा ४ जना चढेको प्रदेश–२–०३–००६ प ३७७० नम्बरको मोटरसाइकल ट्याक्टरमा ठोकिएर दुर्धटना भएको थियो । दुर्घटनामा लालबन्दी नगरपालिका २ का १८ वर्षका अंकुश पासवानको मृत्यु भएको थियो । १८ वर्षीय निसान्त, २९ वर्षीय अंगद र २८ वर्षीय रितिक पासवान घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न चालक ट्याक्टर सहित फरार भएको थियो  । इलाका प्रहरी कार्यालय लालबन्दीले उक्त ट्याक्टरको खोजी गर्ने क्रममा स्थानीय थिरबहादुर खड्काको प्रदेश–२–०३–००१ त १२८२ नम्बरको ट्याक्टर खेतमा कामगरि रहेको अवस्थामा नियन्त्रणमा लियो ।
ट्याक्टरका चालक फेकन राम(नथुनिया)ले पनि आफूले नै दुर्घटना गराएको प्रहरीसमक्ष स्विकारे गरे । चालकले नै दुर्घटना गराएको स्विकार गरेपछि प्रहरीले पनि चालककै बयानको आधारमा सवारी ज्यान तथा अंगभंग मुद्दा दर्ता ग¥यो । यो दुर्घटनामा थप अनुसन्धान नै हुन सकेन । यता, ट्याक्टर धनी खड्काले घटनाको दिन आफ्नो ट्याक्टर घरबाट ननिकालिएकोे दाबी गरिरहँदा पनि प्रहरीले उनको कुरा सुन्नै चाहेन । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गर्ने प्रयास नै नगरेको खड्काको आरोप छ । उनका अनुसार प्रहरीले सुक्ष्म अनुसन्धान गरेको भए वास्तविक दोषी पत्ता लाग्ने थियो ।
ट्याक्टर धनी खड्काले प्रहरी अनुसन्धानमा चुक्दा ‘नखाएको बिष’ आफूलाई लागेको गुनासो पोखेका छन् । प्रहरीले जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता गरेपछि उनलाई अदालतले माघ १५ मा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । उनी झण्डै तीन सातापछि रु १लाख ५० हजार धरौटी बुझाएर थुनामुक्त भए पनि चालक नथुनिया भने अझै जेलमै छन् ।
खड्काले आफू अन्यायमा परेको भन्दै पटक–पटक सरोकारवाला निकायमा दुःखेसो पनि पोखी रहेका छन् ।  ‘दुर्घटना भएको दिन मेरो ट्याक्टर घरबहिर निक्लेकै छैन, दसैं टीकाको दिन भएकाले हामी घरमै थियौं, ट्याक्टरको खासै काम पनि थिएन, त्यही भएर बाहिर निकाल्ने कुरै भएन,’ खड्काले भने, ‘दुर्घटनाको दुई दिनपछि खेतमा काम गर्ने क्रममा यही ट्याक्टरले दुर्घटना गरायो भनेर प्रहरीले ट्याक्टर नियन्त्रणमा लियो । हामीले ट्याक्टरबाहिर ननिक्लेको कुरा भनिरहँदा पनि प्रहरीले पत्याएन ।’ खड्काले भने ।
२०७७ असारमा अनटेस्ट ट्याक्टर निकालेका खड्काले झण्डै एक महिनापछि चालकका रुपमा नथुनियालाई राखेका थिए । खड्काले नथुनियालाई पटक–पटक चालक अनुमतिपत्र माग गर्दा नदिएपछि दसैंपछाडि काम गर्न नदिने बताएका थिए । अनुमतिपत्र नभए काम गर्न नदिने जनाएपछि चालक विपक्षमा उभिएको हुनसक्ने उनको आशंका गरिएको छ ।
प्रहरीमा चालक नथुनियाले दिएको बयान बाझिए पनि अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले पूरै बेवास्ता गरेको खड्काको आरोप छ । बयानमा चालक नथुनियाले बिपत चौधरीकी श्रीमतीले खेत जोत्न बोलाएकोमा अरु ट्याक्टरले जोतिरहेको देखेर फर्केको भनेका छन् । जबकि घटनाका दिन खेत नै नजोतिएको चौधरीले बताएका छन् । उनले घटनाको दिन आफू उपचारका लागि भारतको सितामढी गएकोले दुई दिनपछि मात्र अर्कैको ट्याक्टरबाट खेत जोत्न लगाएको बताएका छन् ।
यस्तै, बयानमा कात्तिक १० को साँझ चालक नथुनियाले आफ्नै साइकल चढेर साहुको घरमा गई ट्याक्टर लिएर आएकोमा खेत नजोतिएपछि ट्याक्टर आफ्नै घरमा लगेर फेरि साइकल चलाई मेला हेर्न गएको बताएका छन् । करिब ८ बजेर १५ मिनेटमा ट्याक्टर साहुको घरमा पु¥याउन जाँदा बाटोमा दुर्घटना भएको बयान दिएका चालकले दुर्घटना भएको स्थानबाट झण्डै २ सय मिटर पर रहेको साहुको घरमा गई कल्टी निकाली टेलर जोडेर फेरि साइकल चढेर घर फिरेको उल्लेख गरेका छन् । चालकको घरमा एउटा मात्र साइकल रहेकाले उक्त साइकल कहाँ थियो ? भन्ने कुरा बाझिदा समेत प्रहरी निरीक्षक थापाको ध्यान गएको देखिदैन । साथै दुर्घटनास्थलबाट २ सय मिटर टाढा रहेको घरमा ट्याक्टरले कल्टी निकालेर टेलर जोड्दा पनि प्रहरी तथा स्थानीयको ध्यान नपुग्नुमा चालकको बयान शंकास्पद देखिएको छ ।
मृतक अंकुसका मामा जलसिंह पासवानसहितका व्यक्तिले गरेको कागजमा घटनाको दिन साँझ ८ बजेर ३० मिनेटको समयमा चालक नथुनियाको घरको पूर्वतर्फ पार्किङ गरेको अवस्थामा ट्याक्टर देखेको बयान दिएका छन् । उनीहरूको यो बयान र चालकको बयान पनि मेल खाएको देखिँदैन । प्रहरीसमक्ष चालक नथुनियाकी श्रीमती अनितादेवी रामले घटनाबारे आफूलाई श्रीमान्ले भनेको बताएकी छन् । उनले घटनाका दिन श्रीमान् दिनभर आफूसँगै रहेकाले ट्याक्टर नछोएको जिकिर गरेकी छन् । 
दुर्घटनामा चालकको बयान बाझिँदा पनि प्रहरीसँग यही ट्याक्टरले नै दुर्घटना गराएको भनेर अरु थप प्रमाण छैन । एक मात्र प्रमाणको रुपमा रहेको चालकको बयान बाझिए पनि प्रहरीले अनुसन्धानको नाममा झारा टार्ने काम गरेको अदालतमा पेश गरिएको मिसिलमा देखिएको मानव अधिकारकर्मी रजनीकान्त झाले बताएका छन् । उनले गलत अनुसन्धानका कारण निर्दोष फसिरहेको दाबी गरेका छन् । ‘चालकले दिएको बयानमा बाझिने खालका थुप्रै शब्दहरू छन्, त्यती हुँदा पनि प्रहरीले मजबुत छानबिन गर्न सकेको देखिँदैन,’ उनले भने, ‘अनुसन्धान झारा टार्ने भएपछि निर्दोष फस्ने र प्रहरी तथा न्यायालयमाथि विश्वास गुम्ने खतरा बढ्छ ।’
आफ्नो ट्याक्टरले दुर्घटना नगराएको खड्काले भनिरहँदा शंका लागेर घटनाबारे बुझ्दै जाँदा अर्कै ट्याक्टरले दुर्घटना गराएको फेला परेको लालबन्दी नगरपालिका २ का वडाध्यक्ष किरण पासवानले बताएका छन् । उनले दोषी पत्ता लगाएर प्रहरीकोमा लग्दा पनि बेवास्ता गरिएको आरोप लगाएका छन् । आफ्नै क्षेत्रमा भएकाले पीडितलाई क्षतिपूर्ति दिनेबारे पटक–पटक खड्कासँग कुरा गर्दा जहिले पनि मेरो ट्याक्टरले दुर्घटना नै नगराएको भन्दै बरु अदालतमा जाने बताएका पासवानको भनाइ छ ।
वडाध्यक्ष पासवानसहित पीडितको सम्पर्कमा आएका वास्तविक दुर्घटना गराउने ट्याक्टरका सहचालक लालबन्दी नगरपालिका १ का इन्दल महतोले दुर्घटनाको विवरण बताएका छन् । उनका अनुसार सिरहाको लहानबाट आउँदै गरेको अनटेस्ट ट्याक्टरका चालक लक्ष्मीपुर घर भई नवलपुरमा डेरा लिएर बसेका विजय गिरी रहेका,उनले गाउँमा डेराको साँचो लिन जानु छ भनेपछि उनीसँगै लक्ष्मीपुर जाने क्रममा दुर्घटना भएको,उत्तः ट्याक्टर हरिवनका रेहान र कविन कार्कीको रहेको बताएका छन् । महतोका अनुसार ट्याक्टरमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको म्याजिक छलेर आएको एक मोटरसाइकल आफू सवार अनटेस्ट ट्याक्टरको कल्टीमा लागेर अनियन्त्रित भई रोकिराखेको मोटरसाइकलमा ठोक्किएको हो ।
उनले घटनालगत्तै आफूहरू त्यहाँबाट भागेकोमा म्याजिकले पछिबाट लखेट्न खोज्दा बत्ती निभाएर जुटपानीको पाइप फ्याक्ट्री हुँदै नहरको बाटोमा निक्लेर लक्ष्मीपुर गएको बताए । रातभरी चालक गिरीको घरमा बसेकोमा चालकले एक–दुई वर्ष भारतमा गएर बस्न भने पनि मैले नमानी भोलिपल्ट बिहान आफ्नो घर नवलपुर आएको उनको भनाइ छ । उनका अनुसार चालक गिरी घटनाको भोलिपल्टै भारत पसेका थिए ।
घटनाका दिनदेखि नै चालक गिरी फरार भएका भउपनि समय समयमा आफ्नो लक्ष्मीपुरको घरमा आउने गरेका पाईएको छ । झण्डै ६ महिना पछि नयाँ वर्षको दिन गिरी भारतबाट घर आइपुगेका दुर्घटनामा परेका घाइते तथा मृतकका आफन्त र प्रहरी नियन्त्रणमा परेका ट्याक्टर साहुलाई खबर आएको थियो । उनीहरू वैशाख २ को साँझ गिरीको घरमा पुग्दा घाइतेका आफन्तले चालकलाई कुट्न खोजेपछि गाउँलेले प्रतिकार गरेका थिए । वैशाख ३ मा इलाका प्रहरी कार्यालय हरिपुरमा चालकसहित दुवैपक्ष बस्ने सहमति भए पनि त्यो दिन चालक नै नआएको वडाध्यक्ष पासवानले बताएका छन् । दुर्घटनाको अनुसन्धान गरेका प्रहरी निरिक्षक थापाले अनुसन्धानबारे केही पनि बोल्न मानेन्न ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले मुद्दा अदालतमा गए पनि दुर्घटनाबारे थप कुरा खुल्न थालेपछि अनुसन्धानका लागि आाफैं लागेको बताएका छन् । उनले लालबन्दीबाट फाइल झिकाएर थप अनुसन्धान प्रक्रियाको थालनी गरेको छु । यहाँबाट पनी बुझ्न सकिन्छ की प्रहरीले राम्रोसंग अनुसन्धान नगरी मुद्धा दर्ता गरेको र निर्दोष मानिसहरु सजाए भोगिरहेका छन् । 
उनले दोषी नछुट्ने र निर्दोष नफस्ने स्पष्ट पारेका छन् । जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले प्रहरी अनुसन्धानकै आधारमा आफूले अदालतमा ट्याक्टरधनी खड्काबाट क्षतिपूर्ति र चालक नथुनियालाई कैद सजाय माग दाबी गरेको बताएका छन् तर श्रेस्तेदारहरुका अनुसार अहिले अदालत पनि फेरी एक पटक केश अनसन्धान गर्ने चरणमा पुगेको छ ।  यता दुर्घटना गराउने ट्याक्टर प्रदेश २ ०१ ००१ त ०८१३ रहेको भनि जिल्लाका केही मिडियाहरुले  समाचार समेत सम्प्रेषण गरेका थिए । भने उक्त ट्याक्टर खुलेआम रुपमा सञ्चालनमै रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech