सर्लाहीको बागमती नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं वीच बागमतीमा अत्याधुनिक प्रविधि सहितको आँखा अस्पताल सञ्चालन गर्ने विषयमा छलफल भएको छ । बागमती नगरपालिकाकी नगर उप प्रमुख लिला कुमारी मोक्तान र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका प्रतिनिधिहरु वीच भएको छलफलबाट तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको अत्याधुनिक प्रविधि सहितको शाखा बागमतीमा सञ्चालन गर्ने सहमती भएको हो ।
जनताका हरेक सरोकारका विषयमा गफ होईन् काम गरेर देखाउने नमुना स्थानीय तहको रुपमा रहेको बागमती नगरपालिकाले केही समय पहिला स्वास्थ्य चौकी कर्मैयामा प्रविधियुक्त प्रयोगशाखाको उद्घाटन समेत गरेको थियो भने तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको अत्याधुनिक प्रविधि सहितको तिलगंगा आँखा अस्पतालको शाखा संचालनमा ल्याउने निश्चित भएको नगर उप प्रमुख मोक्तानले जानकारी दिईन् ।
केही महिना पहिला नगरपालिकाको आयोजनामा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा नगरभित्रका सबै वडाहरुमा निःशुल्क घुम्ती आँखा शिविर समेत सञ्चालन भएको थियो । सो क्रममा आँखाका समस्या भएका बिरामीहरु अत्याधिक देखिएका कारण बागमती मै शाखा सञ्चालनको लागि छलफल सुरु भएको नगरपालिकाले जनाएको छ ।