स्व. सशस्त्र प्रहरी उपरिक्षक थपलियाःवीरगंजका अस्पताल र पत्रकारलाई प्रश्न

649 Shares

पर्सा आएको आठ महिना मात्रै भएको थियो । तर पर्सेली नागरिक समाजसँग यस्तरी भिज्न सक्ने क्षमता सायदै अरु सुरक्षा अधिकारीको हुन्छ, जुन सुमन थपलियाले बनाएका थिए । सशस्त्र प्रहरी बल नेपाल गण नम्बर १३ मा आएको ८ महिना मात्रै भएको थियो थपलियाको । उनी प्रहरी उपरीक्षक भन्दा बढी सामाजिक आवरणमा चिनिन चाहन्थे । सामाजिक कार्यहरुमा उनको उपस्थिति, सक्रियता, सहयोगी भावना अब सम्झनामा सीमित रहने छ ।

भदौ २ गते हामी रौतहट जाँदै थियौँ । चन्द्रपुरका पत्रकार फणि महतलाई देखिएको ब्रेन ट्युमरको उपचार गर्न भारत लैजानु पर्ने थियो । नेपाल पत्रकार महासंघ केन्द्रदेखि रौतहटका पत्रकारहरुले महतको उपचारमा सहयोगको अपिल गरिरहेका थिए । एउटा पत्रकार साथी समस्यामा पर्दा हामीले केही सहयोग गरौँ भनेर छलफल भयो । रेडियो वीरगंज, टिभी वीरगंज र मधेशृदृष्टि दैनिकका तर्फबाट भेटघाटका लागि हामी मौलापुर हुँदै चन्द्रपुर हिँड्यौँ । गाडी आफैँले चलाएको थिएँ । सम्पादक रामकुमार एलन, सहकर्मीहरु अफ्रोज अर्पण, मनोज पटेल, शम्भुकुमार सुमन गाडीमा थिए । मधेशको पत्रकारिताबारे गफिँदै थियौँ । कुशलक्षेमका कुरा भए । केही हासिमजाक पनि थियो ।

हामी गरुडा पुग्नै लागेका थियौँ । एकाएक एउटा फोन आयो । फोनमा भनियो, सशस्त्रका एसपी सुमन थपलियाको हर्ट अट्याकबाट मृत्यु भयो । यो कुराले निकै मुड अफ भएँ । गाडी चलाउने जाँगर पनि म¥यो । गर्मीले उत्पादन गरेको पसिनाले जिउ त निथ्रुक्क भिजेको थियो । हठात् यस्तो खबरले फेरि जिउ ततायो । पसिना धारा बग्यो । उकुसमुकुस भयो । गाडी अगाडि बढाउन पनि सकिनँ । साथीहरु डाटाबाट मोबाइल चलाउन थाले । मेयर राजेशमान सिंहले समेत थपलियालाई श्रद्धाञ्जली दिइसकेको पाएँ । हामीले नपत्याएर के गर्ने, अब बिहान मर्निङ वाकमा पनि भेटिने सुरक्षा अधिकारी ‘श्यामश्वेत’ तस्बिरमा बदलिइसकेका थिए । भावपूर्ण श्रद्धाञ्जली दिनेको लर्को थियो । सामाजिक सञ्जालमा लेखौँ कि नलेखौँ, औँला कामिरहेका थिए ।

SUMAN THAPALIYA

भदौ १ गते बिहान, वीरगंजकै अग्रज पत्रकार जगदीश शर्माको प्रतीक दैनिकको वार्षिकोत्सव थियो । त्यहाँ हामी पछि गएकाले पछाडि नै बस्यौँ । सशस्त्रका एसपी थपलियाले प्रतीकका संवाददातालाई उत्कृष्ट पत्रकारको पुरस्कार दिनु भएको थियो । बाराका जीतलाल श्रेष्ठ केही ढिला आएकाले पुरस्कार वितरण बाँकी रहेछ । सशस्त्रका सुमन थपलिया सरले पुरस्कार दिनु भयो । हामीले पछाडि बसेर ताली बजायौँ । उहाँसँग परैबाट हेराहेर भयो । त्यसपछि हामी निस्कियौँ । समय मिलाएर भेट्ने हाम्रो योजना थियो । सम्पादक एलनजी पनि भेट्नु पर्छ भन्दै हुनुहुन्थ्यो । तर सब अब सकियो । न भेट हुने भयो, न मर्निङ वाकमा ‘दाइ’ देखिने हुनु भयो । ज्यान फतक्क गले । गाडी चलाउन सकिएन । केहीबेर आराम गरौँ भनेर हामी नजिकै साथीको पसलमा गयौँ । मध्यगर्मीमा मन स्थिर पार्न चिया पिउन थाल्यौँ । जुन कतैबाट मिल्ने कुरै थिएन । चिसो पिउने बेला चिया माग्यौँ ।

समाचारहरु आइरहेका थिए । शनिबारका समाचार कम हुने दिन हो । यस्तो बेला वीरगंजजस्तो सहरमा रहेका सशस्त्रका एसपी क्वार्टरमै ढलेको विषय सबैले हटकेक बनाए । बिहान साइकलमा मर्निङ वाक जानु भएको रहेछ गढीमाइ मन्दिर । त्यहाँबाट फर्केपछि क्वार्टर पुग्दा उहाँलाई आराम भएन । उहाँले पत्नीलाई फोन गरेर गाह्रो भएको सुनाउनु भएको रहेछ । सुनाउँदासुनाउँदै उहाँ बोल्न छाड्नु भएछ । पोखरामा रहनु भएको भाउजुले सहयोगीहरुलाई हेर्न भन्नु भएपछि हतारमा पुग्दा उहाँ लड्नु भएको थियो । उसो त उहाँले पर्साका सिडिओ हीरालाल रेग्मी र एसपी कोमल शाहलाई पनि अप्ठेरो भन्न भ्याउनु भएको बुझिएको छ । उहाँहरु आउँदाआउँदै थपलिया सर ढलिसक्नु भएको रहेछ । अस्पताल पु¥याउँदा मृत घोषणा भयो । उहाँलाई बयोधा मेडिसिटी हस्पिटल पु¥याइएको थियो । ४४ वर्षको उमेरमै भदौ २ गते शनिबार दिउँसो १ बजेतिर उहाँको निधन भएको हो । हृदयाघात ‘हार्ट अट्याक’बाट मृत्यु भएको अस्पतालले जनायो
अघिल्लो हप्ता काठमाडौँमाबाट प्रकाशित हुने जनआस्था साप्ताहिकले ‘एउटा दुःखीको अकल्पनीय अन्त्य’ शीर्षकमा निकै मार्मिकसँग समाचार लेखेको छ । त्यो समाचार हाम्रा पाठकवर्गलाई पनि साझा गर्दा मन हल्का हुने लागेर यहाँ साभार नै गरेका छौँ । समाचारको हुलिया यस्तो छः

भनिन्छ, दुःखीलाई दुःखले नै खान्छ ! सशस्त्र एसपी सुमन थपलियाले दुःखै दुःखमा जिन्दगी बिसाए । पत्नीलाई फोनमा ‘गाह्रो भयो !’ भन्दाभन्दै ढलेका सुमन फेरि उठेनन्, सधैँका लागि ढलिरहे । भदौ २ गते, शनिबार पर्सास्थित १३ नम्बर गणमा कार्यरत उनले अरु भन्दा फुर्सदिलो दिनको सदुपयोग गरे, साइक्लिङबाट । बिहानैदेखि गणबाट निस्किएका उनी बाराका विभिन्न जंगली बाटो पार गर्दै केही घण्टामा फर्किए, थकानसहित । कसैसँग केही भन्न भ्याएनन् । अप्ठेरो हाउभाउमा पसिना पुछ्दै कोठाभित्र छिरेका उनको अर्को हातमा मोबाइल थियो । पोखरामा रहेकी पत्नीसँग आफूलाई परेको अप्ठेरो सुनाइरहेका थिए । तर, न सुमनले पत्नीलाई सुनाउनुपर्ने जति कुरा सुनाउन पाए, न त पत्नीले नै भन्नुपर्ने कुरा भन्न पाइन् ! किनभने, बोल्दाबोल्दै एक्कासी बोली रोकियो । धेरै बेर नबोलेर फोन खसेको आवाज सुनेपछि पत्नीले अफिसको सञ्चारलाई भनिन्, ‘उहाँ बोल्दाबोल्दै बोल्नै छोड्नुभयो । के भएको होला ?’ त्यसपछि अफिसका स्टाफहरु हेर्न गए । सुमन ढलिसकेका थिए । त्यहाँबाट सीधै अस्पताल पु¥याइयो । पुग्नासाथ चिकित्सकले भने, ‘हि इज नो मोर !’ (उहाँ जीवित हुनुहुन्न !)

आफूले कमान्डो तालिम गरेकोमात्र नभई अरुलाई तालिम गराउनमा पनि सिपालु मानिने सुमनको आदत थियो, व्यायामको । फुर्सद हुनासाथ शारीरिक सुगठनमा ध्यान दिने उनी प्रायः लामो साइकल यात्राबाट आनन्द लिने गर्थे । साइक्लिङलाई व्यायामक्रियामा पूरै शरीर प्रभावित हुने अभ्यास मानिन्छ । तर, मौसम, रक्तचाप र शरीरमा पानीको सन्तुलन बिग्रियो भने यस्तो व्यायाम जोखिमपूर्ण हुने गरेको छ । यस्तै हुँदा नेपालगंजका प्रहरीका तत्कालीन एसएसपी राजेन्द्रमान श्रेष्ठ धरानमा ब्याडमिन्टन खेल्दाखेल्दै ढले । आठ वर्ष भयो, होस खुलेको छैन । बेलाबेला शारीरिक सन्तुलनमा गडबडी हुँदा सुमन त्यसअघि पनि ढल्ने गरेका थिए । त्यसैले उनलाई शुभचिन्तकले बढी व्यायाम नगर्न सुझाव दिन्थे । उनले भने व्यायामलाई नशाकै रुपमा लिए । नुवाकोट पुख्र्यौली थलो र काठमाडौँको नेपालटार बस्ने उनी काठमाडौँमा हुँदा नागार्जुन जंगल, ओशोतिर साइक्लिङमा रमाउँथे । सशस्त्र मुख्यालयभित्रैको फिटनेश सेन्टरमा बाँकी व्यायाम गर्ने उनले सरुवा भएर वीरगंज गएपछि पनि यस्तो क्रम जारी राखे । गणको कमाण्ड गर्नुपर्ने कारण सधैँ समय कम हुँदै थियो । शनिबारको छुट्टीमा भने लामो दूरीको साइकल यात्रा रोज्थे । भनिन्छ, उनलाई मौसम र स्वास्थ्य सन्तुलनले साथ दिएको थिएन ।

बारा–पर्सा भनेको सामान्यतया काठमाडौँको तुलनामा ८ देखि १० डिग्री तापक्रम बढी हुने ठाउँ हो । पसिनाको अत्यधिक बहावले शरीरमा शिथिलता आउनुका साथै मुटु र फोक्सोबीचको सम्पर्कलाई अवरुद्ध पार्ने खतरा बढी हुन्छ । किनभने, पसिना बगेसँगै शरीरमा पानीको कमी भइरहेको हुन्छ । चिकित्सकले अत्यधिक थकानकै स्थितिमा पानी पिउने कार्यलाई खतरापूर्ण मान्ने गरेका छन् । अनुमान छ– या त प्यास खप्न नसकेर कतै सुमनले थकित स्थितिमै पानीको अत्यधिक सेवन गरे, जसले गर्दा मुटु र फोक्सोको नियमित क्रियालाई अवरोध पु¥याउने सम्भावना रहन्छ । या, शरीरमा पानीको चरम अभाव हुँदा फोक्सोले मुटुलाई दिनुपर्ने जति अक्सिजन पु¥याउन सकेन । त्यसैले उनी ढले, उठ्न सकेनन् । त्यहीबीचमा मुटु अवरुद्ध भयो । ढल्ने क्रम सुमनको हकमा पहिलो थिएन । त्यसअघि पनि समय समयमा ढल्ने र उठ्ने गरेका थिए । दक्षिण सुडानको मिसनमा हुँदा त्यसरी नै ढले । तत्कालै उपचार पाएका कारण ज्यान जोगियो । शनिबार भने उठेनन्, सारा हितैषीलाई रुवाएर बिदा भए । लाइबेरिया मिसनमा हुँदा सशस्त्रकै एकजना हाकिम फुटबल खेल्दाखेल्दै ढलेका थिए । बेलैमा अस्पताल लगेपछि सुरक्षित भए । खनाल थरका इस्पेक्टर दुवाकोटमा ब्याडमिन्टन खेल्दाखेल्दै त्यसरी नै ढले । उनको पनि समयमै उपचार भयो, बाँचे । सुमनले भने समयमा उपचार पाएनन् । किनभने, उनी ढलेको अनुमान कसैले गर्नै सकेन । जतिबेला देखिए, ढिला भइसकेको थियो ।

अनुमानहरु जे–जस्ता भए पनि सुमनका जीवनमा दुःख नै दुःख थिए । दाइले नेपालटारस्थित तीनतले घर धितोमा राखे । बैंैकको ऋण खाएर बेपत्ता भए । सुमनको जागिर थियो, जीवन जसै चलेकै थियो । पत्नी पोखरा बस्छिन्, सन्तान छैनन् । भाइ थिए, गत वर्ष हृदयघातका कारण निधन भयो । जागिरको दुःखबाट आर्जित रकमले नेपालटारमा आफ्नै स्वामीत्वको घर निर्माण गरिरहेका थिए । घर त जसोतसो बन्ला, तर त्यहाँ सुमनको बास नहुने नै भयो ।

उनले पोखराको लाम्पाटनमा कमान्डो तालिम गरेका हुन् । सेनाको माउन्टेन वारफेयर कोर्ष मुस्ताङको कैसाङ्गमा गरे । रक क्लाइम्बिङको तालिम लाम्पाटनपछाडिको भीरमा गराए । पछि त्यो टोली झापा, इलाम गयो, जनकपुर, वीरगंज हुँदै फर्कियो । वीरगंज जानुअघि हल्चोकस्थित महानिरीक्षकको सचिवालयमा थिए । वीरगंज समस्याग्रस्त भएपछि उनलाई पठाइएको हो । उनी आफ्नो ब्याचबाट पहिलो लटमा एसपी हुनेभित्र पर्छन् । सुरुमा १७–१८ जनाको बढुवा हुँदैमा उनी पर्दै आएका थिए । हल्चोकमा उनका सहकर्मीहरु भन्छन्, ‘वीरगंज नाका टाइट गरेपछि केही पत्रकार उनीदेखि असाध्यै आगो भएका थिए । त्यसको प्रकटरुप तिनका समाचार नै हुन् । सुमनको असामयिक निधनमा तनावको भारी बोकाइरहने चौथो अंगको पनि ठूलो योगदान छ ।’ (६ भदौ, २०८०)
जनआस्थाले लेखेको यो समाचारले दुई वटा कुरामा प्रश्न उठाएको छ । एउटा इमान्दार अफिसरलाई भ्रष्टाचारको मामला जोडेर पटकपटक समाचार लेख्ने उद्यमले कसको हित गरेको छ ? अर्को ठूलो बोर्ड राख्ने महँगा अस्पतालहरुले के साँच्चै जटिल उपचार सेवा दिन्छन् त ? दिँदो हो त सिडिओ र एसपी नै मिलेर साथीलाई अस्पताल पु¥याउँदा पनि बचाउन सकिएन । यस्ता नाम मात्रका अस्पतालभित्र के साँच्चै सुविधासम्पन्न उपकरण र चिकित्सक उपलब्ध छन् ? छैनन् भने वीरगंजका नाममा कतै ‘ठगी’ त भइरहेको छैन ?
सुनिएअनुसार, सुमन सशस्त्रका आइजीका पनि प्रिय पात्र हुनुहुन्थ्यो ।

तस्करीसँग जोडिएको वीरगंजमा उहाँको आउने रुची भन्दा पनि त्यहाँ यस्ता इमान्दार एसपी पठाउन पाए सशस्त्रले कमाइरहेको बदनामी दाग मेटिने र अनियमितता रोकिने अपेक्षा थियो । त्यही भएर आफ्ना विश्वासपात्र र इमान्दार अफिसरलाई वीरगंज पठाइएको थियो । माथि नै पत्रिकाले लेखिसकेको छ कि, तनावका भारी बोकाउने केही पत्रकारका कारण पनि थपलिया फुर्सद मिल्यो कि तनाव घटाउन साइक्लिङमा रमाउँथे । तर नुवाकोटका मान्छे, काठमाडौँबासी त्यहाँ भन्दा १० डिग्री आसपासको तापक्रम बढी भएको वीरगंजमा चाहिए भन्दा बढी साइक्लिङ गरेर पनि सायद ज्यानलाई हित गरेनौँ भनौँ अब । उहाँ त सारा पर्सेली जनतालाई रुवाएर सहजै बिदा हुनु भयो । बिदा भइरहँदा पत्रकारिताका नाममा स्वार्थको रोटी सेक्ने र सबै अफिसरलाई उस्तै देख्ने हाम्रो पत्रकारिता अनि ठूला साइनबोर्ड राखेर उपचारका नाममा बदमासी गर्ने स्वास्थ्य संस्थालाई गतिलो प्रश्न राखेर जानु भयो । प्रश्न त पत्रकारले गर्नु पर्ने हो । तर थपलियाको निधनले प्रश्न पत्रकारिताका नाममा अनेक काम गर्ने पत्रकारमाथि तेर्सिएको छ । जसको उत्तर हामीले पत्रकारिता गरेरै दिनु पर्छ । अस्पतालले उपचार, उपकरण र चिकित्सक देखाएर सफल उपचारको कथा लेखाएर दिनु छ । पत्रकार र स्वास्थ्य संस्थाप्रति थपलियाको मृत्युको प्रश्नको शेयर उस्तैउस्तै टाउकोमा झुण्डिरहने छ ।मधेशदृष्टि राष्ट्रिय दैनिकबाट ..

थपलिया सरको निधनको १३ औँ पुण्यतिथिमा भावपूर्ण श्रद्धान्जली ।

सम्बन्धित समाचार