सर्लाहीका विभिन्न राजनैतिक दलहरुले सामाजिक सदभाव कायम गर्ने विषयमा छलफल गरि सहमती गरेका छन् ।जिल्ला प्रशासन कार्यालय सर्लाहीको सभा हलमा भएको छलफलमा असोज ४ गते राती मुर्ती बिसर्जनको क्रममा विवाद भई साम्प्रदायिक सद्भावमा खलल् उत्पन्न भई सृजित समस्या र सोको व्यवस्थापन साथै हाल जनजीवनमा आएको सामान्यीकरण सम्मका विषयहरुमा समिक्षा गरिएको नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।
मानव अधिकारको सम्मान,शान्ति सुव्यवस्था कायम,सार्वजनिक सम्पत्तिको संरक्षण,धार्मिक, जातीय,सामाजिक सद्भाव कायम राख्न सबै पक्षले आ–आफ्नो तर्फबाट सहयोग गर्ने लगायतका विषयमा छलफल भई सहमती भएको नेकपा(माओवादी केन्द्र) सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले जानकारी दिए ।चाडपर्वका समयमा हुन सक्ने सम्भावित उच्छृंखल गतिविधि एवम् सामाजिक सद्भावमा खलल् पुग्ने खालका गतिविधिहरुलाई रोकथाम तथा नियन्त्रण गर्न सजग भई प्रभावकारी रुपमा योजनाबद्ध भई सुरक्षाकर्मी परिचालन गर्ने र राजनीतिक दलहरुले समेत सो कार्यमा सहयोग गर्ने सहमती गरेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सर्वसाधारण÷आमनागरिकको मनोवैज्ञानीक त्रास एवम् भयलाई अन्त्य गर्न सबै राजनीति दल, नागरिक समाज,जनप्रतिनिधि,सुरक्षा निकायहरुले जनचेतनामूलक कार्यक्रम संचालन गर्ने र एक अर्का समुदायका सामाजिक,संस्कृतिक परम्पराको सम्मान गर्ने बानीको विकास गर्ने खालका क्रियाकलाप संचालन गर्ने प्रेरित गर्ने लगायतका विषयमा छलफल गरि सहमती भएको नेकपा(एमाले) सर्लाहीका अध्यक्ष राज नारायण साहले जानकारी दिए ।जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी यादवको अध्यक्षतामा जिल्लास्थित सुरक्षा निकायका प्रमुख सहित जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको विशेष उपस्थितिमा छलफल भई सहमती भएको हो ।
त्यसैगरी “हिन्दु–मुस्लिम भाईभाई,कोही छैन पराई”भन्ने नारासहित जिल्लाका विभिन्न स्थानहरुमा विभिन्न राजनैतिक दलहरुले सद्भाव र्याली समेत निकालेका छन् ।जिल्लाको लालबन्दी,मल.गवा लगायत जिल्लाका मुख्य बजार केन्द्रहरुमा “हिन्दु–मुस्लिम भाईभाई,कोही छैन पराई”भन्ने नारासहित सद्भाव र्याली निकालीएको हाम्रा सम्वाददाताहरुले जानकारी दिएका छन् ।“हिन्दु–मुस्लिम भाईभाई,कोही छैन पराई”भन्ने नारासहित मंगलबार साँझ सद्भाव र्याली निकालिएको छ ।