निजी क्षेत्र र सरकारबिचको खाडल पुर्न र निजी क्षेत्रको उत्थानका लागि सरकार गम्भीर भएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । पर्साको वीरगन्ज स्थित होटल दियालो लर्डस प्लाजामा शुक्रवार पर्सा र बाराका उद्योगी व्यवसायीहरुसंगको छलफलमा उनले यस्तो बताएका हुन ।वैद्य व्यवसायलाई प्रोत्साहन गर्दै अवैध कारोबारलाई निरुत्साहन गर्नका लागि सरकार र निजी क्षेत्रबिच हातेमालो हुनुपर्नेमा जोड दिंदै अवैध रूपमा आएका सामग्रीहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ठूला प्रतिष्ठित व्यवसायीहरुसंग जोडिने गरेकबा पाइएको बताए ।
राजस्वको लक्ष्य पूरा गर्नका लागि सरकारलाई सहयोग गर्न आग्रह गर्दै उनले अर्थतन्त्रको संवेदनशीलता र जटिलताप्रति राजस्व अनुसन्धान विभाग सचेत रहेको समेत बताए । उनले उद्योगी व्यवसायीहरूको गुनासो तथा समस्याको सम्बोधन गर्न राजस्व अनुसन्धान विभाग तयार रहेको प्रतिवद्धता जनाए।छलफलका क्रममा अवैध रूपमा कारोबार गर्ने व्यवसायीहरुले गर्दा राज्यको राजस्व चुहावट हुनुका साथै वैद्य रुपमा व्यवसाय गर्ने व्यवसायीहरूले नोक्सानी बेहोर्नु परिरहेको वीरगन्जजका उद्योगी व्यवसायीहरुले दुखेसो पोखेका छन् ।
छलफलका क्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले संघीयता पश्चात् तीन तहको सरकार बिचको समन्वय नमिलेका कारण उद्योगी व्यवसायीहरुले पिडा भोग्नु परेको बताए ।उनले संघ सरकारको पहिलैदेखि तिर्दै आएको करसंगै प्रदेश र स्थानीय सरकारले थपेका कर पनि तिर्दा–तिर्दा व्यवसायबाट पलायन हुने अवस्था आएको बताए ।कुन कर कुन सरकारले लिने भन्ने बारेमा तीन तहको सरकारबिच आवश्यक समन्वय र समझदारी हुनुपर्ने उनको सुझाव छ ।उनले निजी क्षेत्र राजस्व चुहावट नियन्त्रणको पक्षमा रहेको बताउँदै सीमा क्षेत्रमा सिसी क्यामरा जडान देखि अन्य निगरानी बढाई सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले सरकारका नीतिगत एवम् संरचनागत समस्यासंगै झन्झटिलो प्रक्रियाले गर्दा अवैध रूपमा हुने व्यवसाय फस्टाउदै गएको बताए ।उनले सरकारले नै व्यवसायीहरुलाई कालोबजारी गर्न प्रोत्साहन गरिरहेको आरोप लगाए । अन्तर सरकारी सम्बन्ध मजबुत नहुंदा त्यसको मारमा निजी क्षेत्रको व्यापारी व्यावसायीहरु परेको वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले गुनासो गरे ।
सबैलाई बराबर नियम लाग्ने दिनको प्रतीक्षामा व्यवसायीहरु रहेको नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले बताए । यहाँ नयाँ सिडिओ,नयाँ एसपी,नयाँ भन्सारको हाकिम,कर कार्यालयको नयाँ हाकिमको आउने भन्ने चिन्ता हुन्छ ।अनि कस्तो स्वभावको छ ? उसको पृष्ठभूमि के हो भन्नेमा केन्द्रित हुनुपर्ने अवस्था छ ।यसको अन्त्य हुनका लागि सबैलाई बराबर नियम हुनुपर्ने उनले बताए ।
सो अवसरमा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्य,प्रदीप केडिया,वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल,महासचिव आशिष लाठ लगायतका उद्योगी व्यवसायीहरूले राजस्व चुहावटसंगै आयातमा रहेका नीतिगत संरचनागत तथा प्रणालीगत समस्याका बारेमा राजस्व अनुसन्धान विभागका महानिर्देसक ढुंगानालाई ध्यानाकर्षण गराएका छन ।