हरिपुर्वा अस्पताल निर्माण भएको २ वर्ष सम्म पनि प्रयोग विहिन

693 Shares

सर्लाहीको हरिपुर्वा नगरपालिका २ मा करिब रु ७ करोडको लागमा निर्माण भएको १५ शैयाको नगर अस्पताल निर्माण सम्पन्न भएको २ वर्ष हुँदा समेत प्रयोग विहिन भएको छ ।ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरि हरिपुर्वा नगरपालिकालाई हस्तान्तरण गरि सकेको १५ शैयाको अस्पतालमा स्वास्थ्यकर्मीहरुका साथै आवश्यक औषधीहरुको समेत व्यावस्था हुनु त परको कुरा सञ्चालनमा समेत आउन सकेको छैन् । 
सर्लाहीको हरिपुर्वा नगरपालिका २ का स्थानीयले जग्गादाताहरुले जग्गा दिएर निर्माण गरिएको १५ शैयाको नगर अस्पताल सञ्चालनमा ल्याउने विषयमा आन्तरीक राजनैतिक कारण भएकाले स्थानीयलाई सास्ती भएको छ ।नगर भित्र निजी स्वास्थ्य संस्थाहरु पनि व्यवस्थित नरहेका भएपनि नगर अस्पताल सञ्चालन ल्याउने विषयमा सरोकारवालाहरु मौन देखिएका स्थानीय जग्गा दाता विनोद कुमार साहले बताए । उनका अनुसार विकासको काममा राजनैतिक सहमती नहुनु हरिपुर्वा बासीको लागि दुःखको कुरा हो ।
करिब रु ७ करोडको लागतमा निर्माण भएको १५ शैयाको नगर अस्पतालको भवनमा मधेश प्रदेश सरकारले व्यावस्था गरिदिएको प्रयोगशाला मात्र सञ्चालनमा रहेको भएपनि प्रयोगशालामा पनि आवश्यक पर्ने केमिकलहरुका साथै किटहरुको अभाव रहेको हरिपुर्वा नगर अस्पतालका ल्याव टेक्निसिएन अरुण साहले बताए ।गत आर्थिक वर्षमा कर्माचारी भर्ना र आवश्यक सामाग्री खरिदका लागि भन्दै रु ८० लाख बजेट हरिपुर्वा नगर अस्पतालका लागि छुट्याइएको भएपनि राजनैतिक द्वन्द्व तथा आन्तरिक विवादका कारण उक्त बजेट प्रयोग हुन नसकेको हरिपुर्वा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राम एकवाल रायले बताए । उनका अनुसार लामो समयसम्म राजनैतिक द्धन्द्धका कारण नगर परिषद् नहुँदा नगर अस्पताल सञ्चालनको काम अन्यौलमा परेको हो ।
यस क्षेत्रमा सरकारी तथा निजी कुनै पनि सुविधा सम्पन्न अस्पताल नरहेकोले सामान्य रोगको उपचारको लागि पनि स्थानीय मलंगवा,वीरगन्ज,जनकपुर तथा काठमाडौ र भारतका विभिन्न सहरमा जान बाध्य भएका हरिपुर्वाका सामाजिक अभियान्ता विरेन्द्र कुमार अधिकारी यादवले बताए । उनका अनुसार निजी अस्पतालहरुमा उपचार गर्न जाँदा गरिब परिवारका बिरामीहरुलाई पैसाको अभावमा उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ ।
आफ्नै गाउँ घरमा सुविधा सम्पन्न अस्पताल निर्माण भएपछि खुसी भएका आफुहरु अस्पताल सञ्चालनमा नआउँदा निराश भएको स्थानीयले बताएका छन् ।करोडौँको लगानीमा बनेको अस्पतालको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहेको भएपनि स्थानीय सरकार हरिपुर्वा नगरपालिकाले आफ्नो दायित्व बोध नगरेको स्थानीय युवा राजिव रायले बताए ।
हरिपुर्वा नगरपालिकामा छुट्टै आन्तरिक तथा राजनैतिक द्वन्द्व चलिरहेका कारण प्रमुख प्रशासकीय अधिकृत समेत नगरपालिकामा नबस्ने गरेका कारण चालु आर्थिक वर्षको बजेट ल्याउन नपाउँदा स्वास्थ्यकर्मीहरु भर्ना गर्न नसकिएको नगर प्रमुख विनोद कुमार साहले बताए ।उनका अनुसार पटक पटकको तालबन्दी र हडतालका कारण एउटा पनि प्रमुख प्रशासकीय अधिकृत हरिपुर्वा नगरपालिकामा टिक्न नसक्ने जसका कारण नगरको विकास निर्माणको काम समेत ठप्प भएको छ ।जसका कारण गत आर्थिक वर्षमा एउटा पनि विकास निर्माणका कामहरु हुन सकेनन् भने चालु आर्थिक वर्षको बजेट हाल सम्म पनि आउन सकेको छैन् ।हजारौं जनताको सुविधाको लागि करोडौंको लगानी गरेर सरकारले निर्माण गरेको अस्पताल हरिपुर्वा नगरपालिकाको गैर जिम्मेवारीपनले गर्दा सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ। 

सम्बन्धित समाचार