मधेश प्रदेश सरकारले शहिद परिवारको शत प्रतिशत छुट रकम सहित निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानून मन्त्रालय र मधेश प्रदेश स्वास्थ्य बीमा बोर्ड बिच सम्झौता गरी मधेश प्रदेशका आठ वटै जिल्लाहरुमा रहेका शहिद परिवारका निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानून मन्त्रालयका प्रवक्ता दिपेन्द्र कुमार यादवले जानकारी दिए ।उनका अनुसार जन आन्दोलनका साथै मधेश आन्दोलनको समयमा शहादत प्राप्त गरेका शहिद परिवारका लागि स्वास्थ्य बीमा गर्न मधेश प्रदेश स्वास्थ्य बीमा बोर्ड बिच सहमती भई सम्झौता समेत भई सकेको र मधेश प्रदेशका करिब एक हजार जना सहिद परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको हो ।
यो अभियानमा सर्लाहीका मात्रै ९८ जना सहिद परिवारहरु लाभान्वित हुने स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय सर्लाहीकी संयोजक टिका बिष्टले बताईन् ।उनका अनुसार मधेश प्रदेश स्वास्थ्य बीमा बोर्ड र गृह,सञ्चार तथा मन्त्रालय विच सम्झौता भई सकेको र अहिले धमाधम आवश्यक कागजात संकलनको काम भई रहेको छ । स्वास्थ्य बीमा गर्दा शहिद परिवारका पाँच जना सम्म निःशुल्क हुने र त्यसका लागि शहिदको परिचय पत्र,शहिदसंगको नाता प्रमाणित पत्रका साथमा दुई प्रति फोटो र यस अघि वडाबाट स्वास्थ्य बीमा गरे/नगरेको पत्र सहित पेश गर्नु पर्ने स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय सर्लाहीले जनाएको छ ।
यस अघि नेपाल सरकारले ७० वर्ष माथिका जेष्ठ नागरिक,पुर्ण अपाङ्गता भएका परिवार,कुष्ठरोगबाट प्रभावित परिवार,एच.आई.भि/एड्स संक्रमित परिवारका साथै कालो टि.बी,क्षयरोगी परिवार र राज्यले तोकेको अति विपन्न परिवारलाई शत प्रतिशत र सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुको ५० प्रतिशत छुट सहित रु एक लाखको स्वास्थ्य बीमा गर्दै आएको थियो।नागरिकको सामाजिक उत्तरदायित्व बहन गर्ने स्वास्थ्य सेवामा पहुच पुर्याउन भन्दै संचालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत पछिल्लो समय मधेश प्रदेशले थप शहिद परिवारको पनि शत प्रतिशत छुट रकममा स्वास्थ्य बीमा गरिदिने भएको हो ।
बीमा गरिएका परिवारले स्वास्थ्य उपचार गर्दा बीमा बोर्ड बिच सम्झौता भएका सरकारी तथा नीजि अस्पतालहरुमा राज्यले तोकेको एक हजार दुई सय नौ प्रकारका औषधी र ल्याव तथा प्याथोलोजि सेवा,इमर्जेन्सी तथा ओपिटी सेवा सल्यक्रिया (अप्रेसन)सेवा समेतमा रु एक लाख सम्मको सेवा सुबिधा दिने व्यवस्था मिलाएको छ ।