तस्करसंग कमिसन असुलेपछि असई यादव निलम्बीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-७-२३ गते   ४५७ पटक हेरिएको

सर्लाहीको सिमा प्रहरी चौकी संग्रामपुरका प्रहरी प्रमुख एवम प्रहरी सहायक निरीक्षक (असइ) मनोज यादव निलम्बनमा पर्नु भएको छ ।प्रहरी संगठनमा अत्यन्तै बदनाम भएका र पटक पटक कारवाहीमा परेर पनि तस्करी हुने मूख्य नाका र चौकीको जिम्मेवारी लिन सफल प्रहरी सहायक निरीक्षक यादव तस्कहरहरुसंग रकम असुली गरेको आरोपमा निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दनुभयो ।
उहाँका अनुसार दुई जना तस्करलाई अपहरण शैलीमा बन्धक बनाइ रु ५० हजार कमिसन लिएर गाडी र तस्करलाई छोडेको पाइएपछि अनुसन्धान गर्दा असई यादव दोषी देखिएपछि निलम्बन गरिएको हो ।दुई जना तस्करलाई सामान र मोटरसाइकल सहित नियन्त्रणमा लिएर असई यादवले रु ५० हजार कमिसन मागेकामा तत्कालन रु १० हजार लिएका र बाँकी रु ४० हजार पछि दिने सर्तमा ती तस्करलाई छाडिएको थियो । त्यसपछि असई यादवले“बाँकी पैसा देउ नत्र मोटरसाइकलसहित भित्र थुनिदिन्छु साथै लागु औषधमा फसाइ दिन्छु भनि तस्करलाई डराइ धम्की देखाई”तस्करसँग बाँकी रहेको रु ४० हजार एक स्थानीयको खातामा जम्मा गर्न लगाएपछि तस्कर र मोटरसाइकललाई छोडिदिएको थिए ।
पछि यो कुरा बाहिरिएपछि असई यादवले स्थानीय केही जनप्रतिनिधिमार्फत पैसा दिएको कुरा बाहिर किन भनेको भनेर तस्करलाई बन्धक बनाई कुटपिट गरेर“पैसा गल्तीले गएको भन भनेर कागज गराउने प्रयास समेत गरेका प्रहरीको अनुसन्धानबाट देखिएको छ ।”असई यादवले गरेका गतिविधिहरुका बारेमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडितले जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रवीण धितालले असई यादवलाई जिल्ला बोलाएर अनुसन्धान सुरु गर्नु भएको थियो ।
उहाँले प्रहरी आचरण विपरित काम गरेको पुष्टि भएमा कारवाही गर्ने बताउनु भएको थियो । भने असई यादवले कारवाहीबाट जोगिन विभिन्न राजनीतिक दलको शक्ति लगाएर दबाव दिन लगाएका छन् ।सिमा प्रहरी चौकी संग्रामपुरको जिम्मेवारी लिएको दुई दिनमै असई यादवले तस्करहरुसँग मिलेर जिल्ला प्रहरी कार्यालय सर्लाहीको नेतृत्वलाई बदनाम गराउने प्रयास गरेपछि दुई दिनमै जिल्ला तानेर तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले अनुसन्धान गर्नु भएको थियो । पछि विभिन्न राजनीतिक दलका नेताहरुबाट दबाव आएपछि उहाँ फेरि सिमा प्रहरी चौकी संग्रामपुर नै फिर्ता हुनु भएको थियो ।जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतका अनुसार असई यादवले दिनेश यादव,कैलाश महतो,मनोज साह,सबिता साह,हिरन महतो,रामजी,गुप्ता,सन्तोष भण्डारी लगायतका तस्करहरुसँग पनि मासिक एक लाख भन्दा बढी असुली गर्ने गरेका छन् ।
को हुन् निलम्बीत असई यादव :

असई यादवले नेपाल प्रहरीमा प्रवेश गरेदेखि नै प्रहरी आचरण विपरितका विवादित काम गर्दै बदनाम हुँदै आएका थिए । महानगरिय प्रहरी बृत्त बालाजुमा प्रहरी हबल्दार पदमा रहँदा भारतीय गोर्खा सैनिकमा भर्ती हुन चाहनेहरुलाई कागजपत्र बनाउने काम गर्ने गंगा देवानलाई बन्धक बनाई २०७४ असोज ८ गते रु ५ लाख कमिसन असुलेका थिए।२०७४ असोज १० गते रु ५ लाख घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेपछि उनी निलम्बनमा परेका थिए ।त्यस्तै २०७४ साल चैत्रमा बाराको मधुवन प्रहरी चौकीको इन्चार्ज रहँदा वा २०७९ सालमा पथलैया प्रहरी चौकीको इन्चार्ज रहँदा असई यादवले प्रहरी संगठनका उच्च पदस्थ अधिकारीहरुको नाम समेतमा तस्करहरुसँग अवैध असुली गर्ने र रिझाउने काममा बदनामी कमाउँदै आएका प्रहरी स्रोत बताउँछ । उनले पूर्व डिआइजी उमेश रंजितकारको घुमुवा बनेर पनि असुली धन्धा चलाएका थिए । प्रदेश २ का डीआइजी रंजितकार र सर्लाहीका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले राखेका घुमुवा असई यादवले संगठनलाई बदनाम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तानेको थियो । 
असई यादव सर्लाहीको सबैभन्दा बढी तस्करी हुने सीमा प्रहरी चौकी त्रिभुवननगरका इन्चार्ज र डिआइजी र एसपीका घुमुवाका रुपमा पर्सा,बारा,महोत्तरी लगायतका जिल्लाबाट पनि अतिरिक्त रकम असुली गर्दै आएका थिए ।अख्तियारसम्म पहुँच छ भन्दै असई यादवले सई इन्चार्ज हुने आकर्षक चौकी त्रिभुवननगरको इन्चार्ज हुने र तस्करसँग कनेक्सन गरी लाभ लिने गरेको आरोप छ ।भन्सार छलीदेखि सीमापार अपराधिक गतिबिधि गर्नेहरुसँग साँठगाँठ भएका असई यादवले डीआइजीदेखि एसपीसम्मलाई मासिक दररेट बुझाएर खुसी पार्दै आएका थिए ।
सिमा प्रहरी चौकी संग्रामपुरबाट सईको सरुवा गराएर इन्चार्ज भएका असई यादव आफू मधेश प्रदेशको डिआइजीको नजिकको मान्छे भएकै कारणले सईको दरबन्दी रहेको ठाउँमा पनि इन्चार्ज भएको भन्दै छाडा र अनियन्त्रित घोँडाजस्तो संगठनलाई बद्नाम गर्दै हिंडेको प्रहरी संगठनका केही मानिसहरु बताउँछन् ।प्रहरीमा रहेर पनि पेशागत आचरण कम र आपराधिक मनोवृत्ति बढी राख्ने तथा भ्रष्ट हाकिमहरुलाई प्रभावमा पार्न माहिर खेलाडी असई यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक धितालालाई शक्तिकेन्द्रबाट दबाव एवम प्रभावमा पार्न लगाएर कारवाहीबाट बाँच्छन् या कारवाहीमा पर्छन् चासोको विषय बनेको छ ।यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक थारुले असई यादव निलम्बनमा परेको पुष्टि गरे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech