सर्लाहीको कविलासी नगरपालिका ६ स्थित मदनपुरबाट अवैध समानसहित एउटा मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीको विशेष टोलीले कविलासी नगरपालिका ६ मदनपुरस्थित भित्री बाटोमा भन्सार छलेर ल्याइएको समान लोड गरिएको मधेश प्रदेश-३-००१ ख ९०३३ नम्वरको मिनी ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनका अनुसार ट्रकबाट भन्सार छली ल्याइएको चिनी ५६ बोरा, दाल २ बोरा र विभिन्न प्रकारका कपडा बरामद गरिएको हाे ।उक्त मिनी ट्रकसहित अन्दाजी रु १० लाख ८९ हजार९० बराबरको समानसहित चालक हरिवन नगरपालिका ५ का २५ वर्षीय अजित जि.सि.लाई नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको सामानकाे सवालमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।