सर्लाहीका तीन सहित मधेश प्रदेशका २१ पालिकाले बुझाएनन् बजेट विवरण

543 Shares

सर्लाहीका तीन पालीकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को चार महिना बितिसक्दा पनि वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्।स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्त भित्र पारित गरि सक्नुपर्ने प्रावधान भएपनि जिल्लाका चन्द्रनगर र बसबरिया गाउँपालिकाका साथै हरिपुर्वा नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन ।
यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ । तर हालसम्म सर्लाहीका तीन सहित मधेश प्रदेशका २१ स्थानीय तहहरुले चालु आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् ।हालसम्म देशभरका सात सय ३० पालिकाले मात्रै आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाएका मन्त्रालयले तयार पारेको “स्थानीय तहको आर्थिक वर्ष २०८०÷०८१ को बजेट अपडेट”मा उल्लेख छ । मन्त्रालयको विवरण अनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा २१ पालिकाले बजेट ल्याएको विवरण बुझाएका छैनन् ।त्यस्तै,कोशी प्रदेशको एउटा र बागमती प्रदेशको एउटा पालिकाले यस्तो जानकारी मन्त्रालयलाई गराएका छैनन् ।
बजेटको विवरण प्रविष्ट नगरेका पालिकालाई त्यस्तो विवरण बुझाउन मन्त्रालयले पटक–पटक परिपत्र समेत गरेको जनाएको छ ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो पटक गत असार ३० गतै सबै पालिका तथा जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट पेस भई सम्बन्धित नगरसभा तथा गाउँसभाबाट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको थियो ।केही पालिकाले बजेट पारित गरिसकेर पनि विवरण बुझाउन बाँकी रहेको,केही पालिकामा बजेट पेस भएको तर गाउँसभा तथा नगरसभाबाट पारित हुन नसकेको लगायत कारण हालसम्म सबै पालिकाको विवरण अद्यावधिक हुन नसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको विवरणअनुसार हालसम्म जिल्लाको हरिपुर्वा नगरपालिका,चन्द्रनगर र बसबरिया गाउँपालिका, सहित मधेश प्रदेशको रौतहटका गरुडा,कटहरिया,गढीमाई,फतुवा विजयपुर, माधवनारायण र मौलापुर नगरपालिकाका साथै यमुनामाई गाउँपालिकाको बजेट पेस गरेको विवरण मन्त्रालयको पोर्टलमा देखिँदैन ।त्यस्तै बाराको सिम्रौनगढ नगरपालिका र आदर्श कोतवाल गाउँपालिका र पर्साको सखुवा प्रसौनी गाउँपालिले पनि बजेट पेस गरेको विवरण बुझाउन बाँकी रहेको मनत्राललयको विवरणमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार