मधेश प्रदेश गण्डकीलाई हराउँदै प्रधानमन्त्री कप क्रिकेटको फाइनल पुग्ने संभावना कायम

147 Shares

मधेश प्रदेशले प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशलाई एक सय ४५ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा पुग्ने संभावना कायम राखेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि तीन सय ३६ रनको लक्ष्य पछ्याएको गण्डकी ३९ दशमलव ५ ओभरमा एक सय ९० रनमा अल आउट भयो ।गण्डकीका कमल परियार र ईश्वर क्षेत्रीले समान २७ तथा कृष ऐयरले २६ रन बनाए पनि टिमको फराकिलो हार टार्न सकेनन् ।मधेशका रञ्जित कुमारले चार तथा हरिशंकर साहले तीन विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको मधेश प्रदेशले विकेट किपर अनिलकुमार साहको शतकको सहयोगमा पाँच विकेट गुमाउँदै तीन सय ३५ रन बनाएको थियो ।यो प्रधानमन्त्री कप क्रिकेट इतिहासकै दोस्रो ठूलो योगफल हो । यसअघि २०१८ मा एपीएफले मधेश प्रदेशलाई तीन सय ३९ रन हानेको थियो ।मधेश प्रदेशका अनिलले एक सय २५ बलमा ११ चौका र छ छक्कासहित एक सय २७ रनको सानदार शतकीय इनिङ खेले।मधेश प्रदेशले कप्तान हरि शंकर शाहलाई दुई रनमा गुमाएको थियो ।दोस्रो विकेटका मयन र अनिलले एक सय चार रनको शतकीय साझेदारी गरेका थिए ।मयन सन्दीपको बलमा केहि अघि बढेर सट खेल्ने धुनमा रहेका विकेट किपर समिर कँडेलबाट २७ रनमा स्टम्पिङ आउट भए।उनले ४४ बलमा दुई चौका हाने ।
पवन सरार्फ ३८ बलमा तीन चौका र दुई छक्कासहित ४० रनमा आउट भए।तेस्रो विकेटका लागि पवन र अनिलले ६९ रनको साझेदारी गरेका थिए।अरनिको यादवले ३४ बलमा पाँच चौका र तीन छक्कासहित ६३ रनमा नट आउट रहे ।अभिषेक तिवारी १९ बलमा एक चौका र एक छक्कासहित २७ रनमा नट आउट रहे ।रुपेश सिंहले ३५ बलमा तीन चौकासहित ३२ रन बनाए।गण्डकीका सन्दीप पराजुलीले १० ओभरमा ५१ रन खर्चेर दुई विकेट लिए।कृष्ण पौडेल र कमल परियारले एक–एक विकेट लिए ।
गण्डकीका कृष्ण पौडेलले १० ओभरमा एक सय १७ रन खर्चेका थिए।प्रधानमन्त्री कपमा सय रनभन्दा बढी खर्चने उनी पहिलो बलर बनेका छन्।यो जितपछि मधेश प्रदेश आठ खेलबाट १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।समान आठ खेलबाटै १० अंक बटुलेको बागमती रन रेटका आधारमा दोस्रो र पाँच खेलबाट १० अंक नै बटुलेको नेपाल पुलिस पहिलो स्थानमा छ ।यो हारपछि गण्डकीको शीर्ष दुई मा रहँदै फाइनल खेल्ने संभावना गणीतिय रुपमा मात्र कायम छ।आठौं स्थानमा रहेको उसको छ खेलबाट चार अंक मात्र रहेको छ ।१० टिम सहभागी प्रतियोगितामा राउण्ड रोबिन लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्ने छन् ।

सम्बन्धित समाचार