नेपाल र भारत दुवैतर्फका सुरक्षा अधिकारीहरुको उपस्थितिमा छिमेकी देश भारतको रक्सौलमा संयुक्त सीमा समन्वय बैठक बसेको छ ।नेपालको तर्फबाट महोतरी,सर्लाही,रौतहट,बारा,पर्सा,चितवन,नवलपरासी पूर्व र नवलपरासी पश्चिमका सुरक्षा अधिकारी र भारतको पूर्वी चम्पारण जिल्लाका पदाधिकारीहरु र सम्वद्ध अधिकारीहरुबीच संयुक्त सीमा समन्वय बैठक बसेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा नेपालका तर्फबाट आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी,नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र वीरगन्ज भन्सार कार्यालयका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।त्यस्तै,भारतको तर्फबाट पूर्वी चम्पारण जिल्लाका मुख्य जिल्ला धिकारीको नेतृत्वमा पुलिस अधिक्षक,भन्सार प्रमुख तथा सिमा सुरक्षा बलका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
सो बैठकमा सन् २०२४ मा भारतमा हुने लोकसभा चुनाव,खुला सीमा नाकाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रण,लागूऔषध तथा मदिराको ओसारपसार नियन्त्रण,सूचना आदान प्रदान,अवैध मुद्राको कारोवार नियन्त्रण तथा सुरक्षा संवेदनशीलताको विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।