“मेयर”फिल्ममा अभिनेत्री ऋचा जोडिइन्,भूमिका अन्यौलमा

144 Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र उनको टिमले गरेको विकास निर्माणका साथै स्थानीय तहको वस्तुगत अवस्था समेटेर तयार पारिने “मेयर” फिल्ममा अभिनेत्री ऋचा शर्मा पनि जोडिएकी छन्।हाल बागमती नगरपालिकाका विभिन्न स्थानमा छायांकन भई रहेको “मेयर”मा अभिनेत्री ऋचा पनि जोडिएकी फिल्मका निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । उनका अनुसार यो वर्ष दीपक रौनियारको फिल्म “राजागञ्ज” र रामबाबु गुरुङको फिल्म “डिग्री माइला”पछि उनी “मेयर”मा आबद्ध भएकी हुन् ।
फिल्ममा उनको भूमिकाबारे कुनै नखुलाइएको निर्देशक खनालले बताए ।छायांकन सेटबाट प्राप्त तस्बिरमा भने अभिनेत्री ऋचालाई कालो रंगको कुर्था–सुरुवालमा देख्न सकिन्छ ।जसले उनी स्थानीय युवतीको भूमिकामा देखिन लागेको संकेत गर्छ ।अभिनेत्री ऋचाले निर्देशक खनालको फिल्म पहिलो पटक अभिनय गर्न लागेकी स्रोतले जनाएको छ ।“मेयर”को मुख्य अभिनेतामा खगेन्द्र लामिछाने र अभिनेत्रीमा वर्षा राउत अनुवन्धीत भएकी छन् ।
हरिहर शर्मा,अनुप बराल,प्रकाश घिमिरे,रमेश बुढाथोकी,रवीन्द्र झा,दिव्यदेव,आशान्त शर्मा, सञ्जोग रसाइली लगायतको पनि अभिनय रहने फिल्म करिब १० दिनदेखि सर्लाहीको बागमती नगरपालिकाका विभिन्न स्थानमा छायांकन भइरहेको बागमती नगरपालिकाका नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।उनका अनुसार फिल्म“मेयर”मा नगर प्रमुख थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । निर्देशक खनालकी छोरी श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्माता रहेको फिल्मका कार्यकारी निर्माता भने निर्देशक खनाल स्वयं हुन् । 

सम्बन्धित समाचार