नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहाल को हुन् ?

77 Shares

नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य नारायण प्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेका दाहाल मंगलबार अध्यक्षमा निर्वाचित भएका हुन् । सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनमा कुल ५६ जना सदस्य उपस्थित भएकामा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत खसेको भन्दै दाहाललाई निर्वाचित भएको घोषणा गरिन् । 
२०१२ साल चैत ६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका दाहाल पुराना वामपन्थी नेता हुन् ।उनी बुबा स्व.कुल प्रसाद दाहाल र आमा देउरुपा दाहालको पहिलो सन्तान हुन् ।२०१९ सालमा वर्तमान प्रधानमन्त्री एवम नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को परिवारसँगै दाहालका परिवार चितवनको  नारायणी माध्यमिक विद्यालयमा अध्ययन गर्दागर्दै उनी अनेरास्ववियुमा आकर्षित भए।प्रचण्डसँगै दाहाल २०२७ सालमा अनेरास्ववियुमा लागेका थिए ।२०३१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०३७ सालमा पूर्णकालीन सदस्य भए ।दाहालले २०३६ सालमा भरतपुरस्थित वीरेन्द्र क्याम्पसबाट आइए पास गरेका थिए ।
यसैगरी उनले भक्तपुरस्थित सानोठिमी क्याम्पसबाट स्नातक गरेका थिए । लामो समय प्रवासमा रहेर काम गरेका उनी २०३८ सालमा अखिल भारत एकता समाजको केन्द्रीय महासचिव भए ।२०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापित भएपछि नेपाल फर्किएका उनी २०५२ सालमा माओवादी जनयुद्धमा स परिवार होमिएका थिए । दाहाल युद्धकाल भर प्रवासमै रहेर राजनीतिमा सक्रिय थिए ।दाहालका श्रीमती,जेठा छोरा समिर,कान्छा छोरा दिनेश र छोरी कल्पना पनि युद्धमा होमिएका थिए ।
२०६२ सालमा तत्कालीन संसदवादी सात दल र विद्रोही माओवादीबिच १२ बुँदे सहमति भयो ।२०६२ ०६३ सालको दोस्रो जनआन्दोलनले दुई सय ४० वर्ष लामो राजतन्त्र ढल्यो । त्यसपछि बनेको अन्तरिम संसदमा उनी राष्ट्रपतिबाट मनोनित सदस्यका रुपमा सहभागी थिए ।२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भए ।२०७० सालमा सोही क्षेत्रबाट टिकट पाए पनि दाहाल पराजित भए । २०७३ सालमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उनी प्रशासनिक सल्लाहकारमा नियुक्त भएका थिए ।
दाहालले बागमती प्रदेशको सचिव,अध्यक्ष र सह–इन्चार्ज भएर पार्टीको काम गरेका छन् ।२०७८ मा राष्ट्रिय सभा सदस्यमा मनोनीत बनेका उनी २०८४ सम्म अध्यक्षमा कायम रहनेछन् । राष्ट्रिय सभा अध्यक्ष संवैधानिक परिषदको सदस्य समेत रहने प्रावधान छ ।

सम्बन्धित समाचार