सर्लाहीमा रासायनीक मलको अभाव,किसान समस्यामा

397 Shares

कृषि सामग्री कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयबाट ढुवानीमा ढिलाई हुँदा विभिन्न जिल्लामा रासायनिक मल अभाव हुन थालेको छ।कार्यालयले मधेश,बागमती र गण्डकी प्रदेशका विभिन्न १७ जिल्लामा रासायनिक मल ढुवानीको जिम्मेवारी पाएको छ।मकै रोपेका किसानलाई अहिले युरिया मल र धान रोप्ने तयारीमा रहेका किसानलाई डीएपी मलको खाँचो छ ।
तराई क्षेत्रको चुरेवर्ती भेगमा सँठिया मकै गोडेर मल हाल्ने समय भएको छ।युरिया मल लिनका लागि गाउँको सहकारीमा बारम्बार धाए पनि मल नै नरहेको भनेर फर्कारहेको किसानहरुले बताएका छन्।कृषि सामग्री कम्पनि लि.ले सहकारी संस्था मार्फत किसानहरुलाई रासायनिक मल वितरण गर्ने रणनीति बनाएको  छ।मकै खेती धेरै हुने उत्तरी भेगका सहकारी संस्थामा अहिले मलखादको गोदाम नै रित्तिएको छ ।
युरिया र डीएपी दुवै मलको माग उच्च रहेको तर कार्यालयसँग मल नै नरहेको कृषि सामग्री कम्पनि लिमिटेड नवलपुर सर्लाहीका प्रमुख ध्रुव साहले बताए।उनका अनुसार डीएपी मल अहिले धमाधम आउन थालेको भए पनि युरिया मल कहिलेसम्म आउँछ भन्ने टुङ्गो छैन् । कार्यालयमा डीएपी र युरिया मल धमाधम प्राप्त भएकाले अब जिल्लाहरुमा ढुवानीको तयारी भइरहेको कृषि सामग्री कम्पनि वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले बताए ।उनका अनुसार केही जिल्लामा डीएपी ढुवानी भइरहेको र युरिया पनि एक÷दुई दिनभित्रै ढुवानी हुने छ ।
मधेश प्रदेशमा कुन जिल्लामा कति मल पठाउने भन्ने निर्णय प्रदेश सरकारले गर्ने तर प्रदेश सरकारले मलको कोटा तोक्न बाँकी नै रहेकाले किसानले तत्कालै मल पाउने अवस्था नरहेको पाइएको छ।रासायनिक मलको उच्च माग हुँदा कृषि सामग्री कम्पनि र साल्ट टे«डिङ कर्पोरेशनको गोदाम भरिन नपाउँदै रित्तिने गरेको छ ।
युरिया मलको उच्च माग रहेका बेला अहिले वीरगन्जस्थित साल्ट टे«डिङको गोदाममा एक हजार तीन सय ३८ टन र कृषि सामग्रीको गोदाममा एक सय ३८ टन मात्र युरिया मल स्टक छ।डीएपी मल केही मात्रामा स्टक रहेको तर धान रोपाइँ सुरु हुन बाँकी रहेकाले डीएपी मलको माग कम रहेको पाइएको छ ।

सम्बन्धित समाचार