नेपालको सामाजिक जीवन र अर्थतन्त्रमा चाडपर्वको विशेष महत्व छ।मुख्यतय दशैं, तिहार, छठ र हरितालिका तीजजस्ता पर्वले केवल धार्मिक तथाा सांस्कृतिक भूमिका मात्र निर्वाह गर्दैनन्,यी चाडपर्वले बजार व्यवस्थामा समेत ठूलो चहलपहल ल्याउँछन्।चाडपर्व नजिकिँदै गर्दा बजारमा आवश्यक उपभोग्य वस्तुको माग अचानक बढ्छ।यस्तो परिस्थितिमा व्यापारीहरू मध्ये कतिपयले उपभोक्ताको आवश्यकता र भावनालाई व्यवसायिक अवसरको रूपमा हेरी कृत्रिम अभाव र कालोबजारी सिर्जना गरेर मूल्य वृद्धि गर्ने गरेका छन् ।
दुर्भाग्यवश,चाडपर्वकै बेला उपभोक्ता ठगिन्छन्,तर सरोकारवाला निकायहरू भने बेखबर झैं बस्छन्।यस्ता गतिविधिले राज्यको नियमन क्षमताप्रति प्रश्न उठाउँछ र उपभोक्तामा असन्तोष बढाउँछ।कृषिप्रधान देश नेपालमा उत्पादन र आपूर्ति व्यवस्थापनमा अनियमितता देखिनु दुःखद मात्र नभई चिन्ताजनक विषय कालोबजारी र कृतिम अभाव हो। चाडपर्व नजिकिएसंगै बजारमा आवश्यक उपभोग्य वस्तु चामल ,दाल,तेलदेखि मलखाद,औषधि र पेटूोलियम पदार्थसम्म अत्यधिक मूल्यवृद्धि र अभावको समस्या बढ्दै गएको छ।
कालोबजारीको स्वरूप र प्रवृत्ति
कालोबजारी कुनै नयाँ घटना होइन।नेपालमा वर्षौंयता देखिँदै आएको समस्यामध्ये यो एक गम्भीर समस्या हो।तर,चाडपर्वको समयमा यसको तीव्रता झनै बढ्छ।बजारमा दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना गरेर वा आपूर्ति रोकावट गरेर कृत्रिम मूल्यवृद्धि गरिएपनि सरोकारवाला बेखबर देखिएका छन्।यस्तो गतिविधिबाट उपभोक्ता मात्र नभई मुलुकको समग्र अर्थतन्त्र प्रभावित भएको हुन्छ।अभावमा वस्तु खरिद गर्न बाध्य सर्वसाधारणले महँगो मूल्य तिर्नुपर्छ भने अर्को तर्फ राज्यले राजस्व गुमाउँछ।यसरी हेर्दा, कालोबजारी एउटा सामान्य समस्या नभई गम्भीर अपराध हो जसले शासन प्रणाली,कानूनी व्यवस्था र वित्तिय प्रणालीमा ठूलो प्रभाव पारेको हुन्छ ।
कालोबजारी नियन्त्रण गर्न कानुन, ऐन र नियमावली बनाइएका भएपनि सरोकरावाला कै मिलेमतो मा कालोबजारी र कृतिम अभाव सृजना हुने क्रम रोकिएको छैन् ।कानुन कडा बनेको छ तर कार्यान्वयन पक्ष कमजोर छ। कालोबजारी गर्ने व्यापारी,ठेकेदार वा आपूर्तिकर्ताहरूलाई समयमै कारबाही नगरी ढिला सुस्ती गर्दा उनीहरू अझै प्रोत्साहित भएका छन् भने राजनीतिक संरक्षण पाएका व्यापारीहरू निडर भएर कालोबजारी गर्ने गरेका छन्।आर्थिक प्रलोभनमा परेको कार्यन्वयन पक्ष समन्वयको अभावक साथै कार्यन्वयनको क्षेत्रमा विभिन्न वाहना बनाएर पन्छिने गरि रहेका कारण नेपाली सर्वसाधारण उपभोक्ताहरु मारमा परेका छन् ।
१.कृत्रिम अभाव सिर्जना : व्यापारीहरूले गोदाममा सामान थन्क्याएर बजारमा अभाव देखाउने, जसले गर्दा मूल्य स्वतः बढ्छ।
२. निर्धारित मूल्यभन्दा बढी असुली : सरकार वा उत्पादक कम्पनीले तोकेको खुद्रा मूल्यभन्दा दोब्बर वा तेब्बरसम्म असुल्ने प्रवृत्ति चाडपर्वमा सामान्यजस्तै हुन्छ।
३. नक्कली वा गुणस्तरहीन वस्तुको बिक्री : मिठाई,तेल,चिनी,चामलजस्ता वस्तुमा म्याद गुज्रिएका वा नक्कली उत्पादन उपभोक्तालाई चाडपर्वकै बेला धकेलिन्छ।
४. पेट्रोलियम पदार्थ र यातायात भाडामा कालोबजारी : लामो दूरीका बसभाडा वा पेट्रोलियम पदार्थमा चाडपर्वमा “अभाव देखाएर”मूल्य बढाउने प्रवृत्ति सबैलाई परिचित छ।
चाडपर्व र उपभोक्ताको असुरक्षा
चाडपर्वमा सर्वसाधारणको उपभोग क्षमता बढ्छ।मजदुरी गर्नेहरू गाउँ फर्किन्छन्,वैदेशिक रोजगारीमा रहेका परिवारजनले पठाएको रकम बजारमा खर्च हुन्छ।यसैले माग बढ्छ,तर आपूर्ति व्यवस्थापन दुरुस्त नभएकाले उपभोक्ता सहजै शोषित हुन्छन्।
जिल्ला प्रशासन कार्यालय,आपूर्ति व्यवस्थापन विभाग,प्रहरी प्रशासन र उपभोक्ता अधिकार संगठनबीच तालमेल नभएको देखाएर तीनै सरोकारवाला निकायहरु कमिसन असुलीमा व्यस्त हुन्छन् ।
कालोबजारी नियन्त्रणका लागि सरकारको भूमिका निर्णायक हुने भएपनि विचौलियाले चलाएको सरकार कमिसनमा मस्त हुँदा सर्वसाधारण नेपाली नागरिकहरु कालोबजारी र कृतिम अभावको मारमा पर्छन् ।उपभोक्ता “चाडपर्व बिग्रला”भन्ने मनोविज्ञानले महँगो मूल्य तिर्न बाध्य हुन्छन्। गुणस्तरभन्दा पनि तत्काल उपलब्धताको आधारमा सामान किन्ने भएकाले व्यापारीलाई सजिलो हुन्छ।उपभोक्ता अधिकारको संरक्षण गर्ने संघ÷संस्था सक्रिय नभएकाले सर्वसाधारण असुरक्षित हुन्छन्।
त्यसलाई व्यवस्थापन गर्न सरकार र सरोकारवाला निकायले तत्काल र दीर्घकालीन दुवै रणनीति अपनाउनु पर्छ।तत्कालका लागि बजार अनुगमनलाई नियमित र कडाइका साथ सञ्चालन गर्नुपर्छ। अनुगमन केवल “मिडिया शो”वा “एकदुई दिनको आकस्मिक चेकजाँच”मा सीमित हुनुहुँदैन। निरन्तर निगरानी र दण्ड जरिवाना कठोर रूपमा लागु हुनुपर्छ।
सरकार र नियामक निकायहरूको भूमिका
नेपालमा उपभोक्ता संरक्षण ऐन, २०७५, कालोबजारी तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन,२०३२ लगायतका कानुन विद्यमान छन्।जिल्ला प्रशासन कार्यालय,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,प्रहरी प्रशासन र स्थानीय तह उपभोक्ता संरक्षणमा जिम्मेवार छन्। तर व्यावहारिक रूपमा के भइरहेको छ ?
१.अनुगमन औपचारिक तामा सीमित : चाडपर्व नजिकिँदा बजार अनुगमन सुरु भएको “मिडिया शो” र“एकदुई दिनको आकस्मिक चेकजाँच” समाचार बन्छन् तर अनुगमन सतही र दिन दुई दिनमै सीमित हुन्छ।
२. दण्ड जरिवानाको कमजोरी : कालोबजारी गर्ने व्यापारीलाई जरिवाना त लाग्छ तर त्यस्तो जरिवाना यति सामान्य हुन्छ कि व्यापारीलाई नाफाको तुलनामा नगण्य हुन्छ।
३. राजनीतिक संरक्षण : ठूला व्यापारी वा आपूर्तिकर्ता प्रायः राजनीतिक पहुँच भएका हुन्छन्। त्यसैले प्रशासनले कडा कारबाही गर्न हिच्किचाउँछ।
अनुगमन दीर्घकालीन रणनीतिमा आपूर्ति प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन हुनु पर्छ। जसले कृषि उत्पादनदेखि आयातसम्मका सबै वस्तुको स्टक,आपूर्ति र वितरण प्रक्रियामा सूचना प्राविधिको प्रयोग गरी अनुगमन गर्न सकिने अवस्था सिर्जना गर्नुपर्छ।साथै,उपभोक्ता स्वयं सचेत हुन आवश्यक छ। उपभोक्ताले अनावश्यक रूपमा बढी भुक्तानी गर्न नमान्ने र कालोबजारी देखेपछि सम्बन्धित निकायमा उजुरी गर्ने संस्कृति विकास गर्नुपर्छ।
कालोबजारी नियन्त्रणले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।मूल्य स्थिरता कायम हुन्छ, उत्पादन र वितरण प्रणाली पारदर्शी हुन्छ र सर्वसाधारणले राहत पाउँछन्। यसको विपरीत सरकारले बेवास्ता गरिरह्यो भने कालोबजारी गर्ने समूह अझै शक्तिशाली बन्नेछ र नागरिक अझै मारमा पर्नेछन् ।
सरोकारवाला किन बेखबर
संस्थागत समन्वयको कमी : विभिन्न निकायबीच सूचना आदानप्रदान र सहकार्यको अभाव।स्रोत(साधनको कमी : पर्याप्त जनशक्ति र प्रविधि नभएकाले बजार नियन्त्रणमा असफलता,प्रभावशाली लविङ : व्यापारी समूहको दबाब र लबीङका कारण नियामक निकाय निष्क्रिय।उपभोक्ता दबाब कमजोर : उपभोक्ताहरू संगठित नभएकाले सरोकारवाला निकायमाथि दबाब पर्न सक्दैन।
अर्थतन्त्रमा कालोबजारीको असर
१. मुद्रास्फीति नियन्त्रणमा कठिनाई र कृत्रिम मूल्यवृद्धिले बजारमा सामान्य मूल्य सूचक बढाउँछ।
२. राजस्व हानिनोक्सानी तथा अनियमित लेनदेन र अवैध कारोबारबाट राज्यले पाउने राजस्व घट्छ।
३. अनौपचारिक अर्थतन्त्रको विस्तार र कालोबजारीले भूमिगत कारोबारलाई बढावा दिन्छ।
४. उत्पादक र उपभोक्ताबीचको दूरी तथा दलाली र बिचौलियाको प्रभाव बढेर किसान वा उत्पादकलाई उचित मूल्य नपुग्ने, उपभोक्ताले भने महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना हुन्छ।
चाडपर्वमा बढी प्रभावित हुने क्षेत्रहरू
खाद्य पदार्थमा चामल, दाल, तेल, चिनी,मासु,दूध,मिठाई,लत्ताकपडा आयातमा निर्भरता भएकाले कृत्रिम मूल्यवृद्धि,पेट्रोलियम पदार्थका कारण टिकट, पेट्रोल, डिजेलमा अभाव र कालोबजारी,यातायात सेवामा बस टिकटमा मनपरी मूल्य असुल्ने, मलखाद र कृषि सामग्रीमा छठ वा तिहार जस्ता पर्वमा आवश्यक तरकारीको माग बढ्दा मलखादको कृत्रिम अभाव सृजना भएको हुन्छ ।
समाधानका उपाय
१.निरन्तर बजार अनुगमन : चाडपर्व नजिकिँदा मात्र नभई वर्षभर निरन्तर अनुगमन हुनुपर्छ।
२.कडा दण्ड प्रणाली : जरिवाना मात्र होइन,आपूर्ति अनुमति खारेज वा जेल सजाय जस्ता कठोर कारबाही हुनुपर्छ।
३.सूचना प्रविधिको उपयोग : बजार मूल्य, स्टक, आपूर्ति प्रणालीलाई डिजिटलाइज गरेर उपभोक्ताले सजिलै जानकारी पाउने व्यवस्था।
४. उपभोक्ता सचेतना : कालोबजारी देख्दा उजुरी गर्ने, उपभोक्ता अधिकार प्रयोग गर्ने संस्कृति।
५. स्थानीय तहको सक्रियता : गाउँपालिका, नगरपालिका स्तरमै बजार अनुगमन समिति गठन।
६. राजनीतिक इच्छाशक्ति : व्यापारी लबीङ र संरक्षणतन्त्र तोड्न सरकार दृढ हुनुपर्छ।
निष्कर्ष :
नेपालमा प्रत्येक चाडपर्व आउँदा कालोबजारीको समस्या दोहोरिरहन्छ।उपभोक्ता वर्षेनि ठगिन्छन्,तर नियामक निकायहरू बेखबरझैं बस्छन्।यसले राज्यको उत्तरदायित्व र जनविश्वास दुवै कमजोर बनाउँछ।जसका कारण कडा कानुनी कार्यान्वयन,नियमित बजार अनुगमन,नियामक निकायबीचको समन्वय र उपभोक्ताको सचेतना आजको आवश्यकता हो।सरकारले“कालोबजारी नियन्त्रण गर्छु”भन्ने भाषणमा सीमित नभई व्यवहारमै ठोस कदम चाल्नुपर्छ।जनताको दैनिकीसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस समस्याप्रति गम्भीर बन्न नसके लोकतन्त्र र सुशासनको मूल्य नै खण्डित हुनेछ।तसथै केवल घोषणा गरेर होइन,दृढ कार्यान्वयनमार्फत सरकारले आफ्नो जिम्मेवारी पूरा गरोस ।जनताको जीवनयापन सजिलो बनाउनु सरकारको प्रमुख कर्तव्य हो र त्यसको प्रारम्भ कालोबजारी नियन्त्रण बाटै हुन्छ।
यदि सरकारले उपभोक्ता संरक्षणलाई प्राथमिकता दिएर कालोबजारी नियन्त्रण गर्न सके नागरिकलाई प्रत्यक्ष राहत पुग्नेछ, बजारमा स्थिरता कायम हुनेछ र राज्यप्रति विश्वास बढ्नेछ। नत्र,चाडपर्वजस्तो उत्सव व्यापारी र दलालहरूको “कमाईको मौसम”मात्र बन्नेछ।
त्यसैले,सरकारले घोषणा मात्र होइन,कठोर कार्यान्वयनमार्फत कालोबजारी नियन्त्रणमा आफ्नो संवेदनशीलता देखाओस्।उपभोक्ताको अधिकार सुरक्षित गर्नु नै लोकतन्त्रको सार हो र त्यो जिम्मेवारीबाट सरकार र सरोकारवाला निकायहरू बेखबर बस्न मिल्दैन।