मापदण्ड विपरीत पशु चौपाया ढुवानी,सुरक्षाकर्मीहरु कमिसनमा मस्त

204 Shares

मापदण्ड विपरीत हुने पशु चौपायाको ढुवानी मधेश प्रदेशका नेपाल प्रहरी,ट्राफिक प्रहरी र पशु क्वारेन्टाईन कार्यालयहरुका कर्मचारीहरुको अतिरित्त आए स्रोत बनेको छ।पशु चौपाया ढुवानीलाई व्यवस्थित बनाउन सरकारले पशु ढुवानी मापदण्ड २०६४ बनाए पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन।जसको प्रत्यक्ष लाभ पशु चौपाय व्यवसायीहरु र राजमार्गमा खटिने नेपाल प्रहरी,ट्राफिक प्रहरी र पशु क्वारेन्टाईन कार्यालयहरुका कर्मचारीहरुले लिने गरेका छन् ।
पशु ढुवानी मापदण्ड २०६४ अनुसार ढुवानी गर्दा हलचल गर्न सकिने,चोट नलाग्ने,अत्यधिक चिसो वा तातोबाट बचाउने,आपसमा ठोक्किएर अगंभगं नहुने गरी सावधानी पूर्वक ढुवानी गर्नु पर्नेछ।साथै,आन्तरिक रुपमा ढुवानी हुने पशुको हकमा गोठालासंगै निर्दिष्ट ढाँचाको पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाण–पत्र हुनु पर्ने भएपनि मापदण्ड विपरीत पशु चौपायाको ढुवानी हुने गरेको छ ।
पशु ढुवानी गर्ने सवारी साधनमा प्राथमिक उपचार बक्स हुनुपर्ने,शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी नपाइने,राँगाभैँसीसँग पाडापाडी मिसाउन नहुने,सबै राँगाभैँसी, खसी बोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालकतर्फ फर्केको हुनुपर्ने,सिङ,नाक र पुच्छर बाँध्न नपाइने,राँगाभैँसी,गोरु तथा बोकाखसी राख्ने गाडीमा छ इन्च बाक्लो पराल,भुस वा सोत्तर राख्नुपर्ने पशुचौपाया ढुवानी मापदण्डमा उल्लेख छ।
त्यस्तै,पशुलाई गाडीभित्र शून्य दशमलव ८४ देखि एक दशमलव २७ वर्गमिटर स्थान उपलब्ध हुनुपर्ने र ढुवानी गर्ने सवारी साधन अनुसार चार वटा देखि २२ वटा सम्म पशु राख्न मिल्ने,पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी हिँडाउन नपाइने र गाडीमा घाँस पराल र दाना राखेको हुनुपर्ने साथै पशु ढुवानी गर्दा गाडीको गति प्रतिघण्टा ४० किलोमिटरमा मात्रै रहनुपर्ने र जथाभावी ब्रेक लगाउन नपाइने मापदण्ड रहेको छ ।तर,पशु चौपाया ढुवानीकर्ताले मापदण्ड विपरीत पशु चौपाय ढुवानी गर्ने र सो वापत नेपाल प्रहरी,ट्राफिक प्रहरी र पशु क्वारेन्टाईन कार्यालयहरुका कर्मचारीहरुले ठूलो आर्थिक लाभ लिने गरेका छन् ।
मापदण्ड विपरीत पशु चौपाया ढुवानी गरे १० वर्ष सम्म जेल सजायँ हुने कानूनी व्यवस्था रहेको भएपनि पशु ढुवानी मापदण्ड २०६४ कार्यान्वयन तर्फ कसैको ध्यान गएको छैन।स्वास्थ्य प्रमाण–पत्र विना नै ओसार पसार,भेटेरिनरी प्रमाण पत्रको आधिकारिकता तथा आन्तरिक पशु क्वारेन्टाइन चेकपोष्टमा दरपीठ नहुने गरेको समेत पाइएको हो ।
मापदण्ड विपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख पाउने गरेका भएपनि पशुको आँशु भन्दा मधेशका नेपाल प्रहरी,ट्राफिक प्रहरी र पशु क्वारेन्टाईन कार्यालयहरुका कर्मचारीहरुलाई सो वापत आउने कमिसन नै प्यारो भएको छ।सरकारले २०६४ मा जारी गरेको मापदण्ड लागू नहुँदा ढुवानीकर्ताले क्रुर तरिकाले पशुचौपाया ढुवानी गरिरहेको पशु कल्याणका पक्षमा काम गरेको “एनिमल नेपाल”ले जनाउने गरेको छ ।
पशुचौपाया टाढाबाट ढुवानी गरेर लैजाँदा उनीहरूले सास्ती नझेल्ने गरी लैजानुपर्छ।तर त्यस्तो अवस्था देखिँदैन।लामो दूरीबाट ढुवानी गर्दा उनीहरूलाई आहारा, आराम र पानीको व्यवस्थापन गर्न आवश्यक पर्छ।विसं २०५५ को पशु सेवा ऐन र वि.सं २०५६ मा जारी भएको नियमावली अनुसार २०६४ मा ११ बुँदे पशु ढुवानी मापदण्ड सरकारले जारी गरेको थियो ।
मधेशका जिल्लाहरुबाट दैनिक राँगाभैँसी बोकेका सवारी साधनहरु करिब तीन दर्जन संघीय राजधानी काठमाण्डौँ जान्छन् भने मधेशका जिल्लाहरुबाट पुर्व गोरु बोकेका सवारी साधनहरु दैनिक तीन दर्जन दौडिन्छन्।जसबाट नेपाल प्रहरी,ट्राफिक प्रहरी र पशु क्वारेन्टाईन कार्यालयहरुका कर्मचारीहरुले मासिक ठूलो रकम कमिसन असुल्ने गरेका छन् ।
पशु ढुवानी मापदण्ड कागजमै सीमित हुँदा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली–२०५६ (दोश्रो संशोधन,२०६४) कृषि तथा सहकारी मन्त्रालय,पशु सेवा विभागले पशुहरुको सडक तथा पैदल ढुवानी मापदण्ड लागू गरी संशोधन गरेको २० वर्ष पुग्नै लाग्दा पनि अवस्था सुध्रिएको छैन ।
मुलुकी अपराध संहितामा कुनै पनि पशुपन्छीलाई निर्दयी व्यवहार गरेमा तिन महिना कैद वा पाँच हजार जरिवाना वा दुवै हुने उल्लेख छ।तर,नियमनकारी निकाय प्रष्ट नतोकिनु र अनुगमन नहुनुले यस्ता ऐन कानुन केवल कागजी खोस्टोमा परिणत भएका छन्।विभिन्न जिल्लाका पशुसेवा कार्यालयमा नियमावली छ तर उनीहरुलाई के कस्तो नियम तथा कानुन बनेका छन् भन्ने समेत जानकारी छैन।
मापदण्ड मिचेर पशु ढुवानी भएको आँखै आगाडि देख्दा पनि त्यसको नियमन गर्ने अधिकार ट्राफिकलाई नभएकाले कार्वाही गर्न नसक्ने ट्राफिक प्रहरी अधिकारीको भनाइ छ।काठमाडौँ भित्रिने विभिन्न नाकाहरुमा रहेका ट्राफिक प्रहरीले पशु ढुवानी गर्दा रगतताम्मे भएको अवस्था देखेपनि कमिसनले उनीहरुको आँखा बन्द भएको हुन्छ ।
यता,नेपाल प्रहरीले पशु ढुवानीसम्बन्धी मुद्धा दर्ता भएको अवस्थामा मात्रै आफूहरुले केही गर्न मिल्ने बताएको छ।अच्चमको कुरा त के छ भने प्रहरीसँग यस बिषयमा कुनै मुद्धाको तथ्यांक नै छैन।ढुवानी व्यवस्थित गर्न नेपाल सरकारले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली बनाए कै करिब २५ वर्ष भएको भएपनि पशु सेवा विभागले नयाँ ऐन बन्ने अवस्थामा रहेका कारण पनि यी कानुनहरु लागू हुन् नसकेको जनाएको छ ।
हाल मुलुकभर काँकरभिट्टा,विराटनगर,जनकपुर,विरगन्ज,भैरहवा,नेपालगंज,काठमाडौ,गड्डा चौकी गरि आठ वटा जिल्लामा क्वारेन्टाइन कार्यालयहरु र २८ स्थानमा चोकपोष्टहरु रहेका छन्।तर,पशु ढुवानीको अवस्था अहिले पनि उस्तै छ।जे भएको छ।सबै कागजमा भएको छ ।आगामी दिनमा चौपाया ढुवानीलाई व्यवस्थित बनाउन संविधान अनुसार कानून तर्जुमा, संशोधन तथा पशु कल्याण ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु पर्ने देखिन्छ ।

सम्बन्धित समाचार