Close This

भोलिको रासस कस्तो होला ?

रासस    प्रकाशित: २०७७-११-१६ गते   २३६ पटक हेरिएको

अविच्छिन्न रूपमा सेवा गर्दै आएको नेपालको एकमात्र समाचार सङ्कलन संस्था राष्ट्रिय समाचार समिति गएको साता स्थापनाको ६०औँ वर्षमा प्रवेश ग¥यो । निरन्तर तोकिएको सेवा पु¥याइरहेको एउटा संस्थाको वार्षिकोत्सवले खासै महŒव पाएन । तर, आमसञ्चार क्षितिज निकै फराकिलो भइसकेको भए पनि समाचारका विषयवस्तु भने अपेक्षाकृत रूपमा व्यापक हुन बाँकी नै रहेको देशमा यो कुरा स्वाभाविकै हो । यस सङ्क्षिप्त आलेखमा यस्तो हुनुका कारण केलाउन खोजिएको छैन । यहाँ सत्र सालको राजनीतिक घटनाको एकै वर्षपछि २०१८ सालमा स्थापित यो संस्था पाँच, दस वा बीस वर्षपछि कस्तो हुन्छ होला भन्ने चिन्तन गर्न खोजिएको पनि छैन । तर, नेपालमा पनि ठाउँ–ठाउँबाट खबर बटुलेर समाचार माध्यमलाई उपलब्ध गराउने संस्थाको ६० वर्षको इतिहास कायम भइसकेको सन्दर्भ कम महŒवपूर्ण छैन भन्न खोजिएको छ । यो इतिहासको विवेचना गर्नुपर्छ भन्ने दृष्टिकोण राख्न खोजिएको छ । किनकि नेपालको सूचना, सञ्चार र पत्रकारिताको विकासको इतिहासमा राससको विशिष्ट स्थान छ ।
अनलाइन समाचारको आजको जमानामा कुनै पनि समाचार धेरै बेर गलत रही रहन सक्दैन । सञ्चार संस्थाहरूको अभ्यासमा यस्तै हुन्थ्यो, तात्कालिकता वा तीव्रता समाचार संस्थाको मूल धर्म हो । तर, हरेक क्षण खबरलाई अध्यावधिक गर्दै सत्यताको परख गरिन्छ । अनलाइन न्युज पोर्टलको यो पक्ष समाचार संस्थाहरूको विशेषतासँग मिल्छ । आज समाचार अनलाइनहरू छ्याप्तछ्याप्ती छन् । तीव्रता समाचारको दुनियाँको मूल मन्त्र बनेको छ । त्यसैले समाचार संस्थाहरूको प्रतिस्पर्धा झन् बढेको छ । कुनै पनि घटना वा सम्भावित विकासक्रमको निरन्तर अनुगमन त सबै माध्यमका पत्रकारले उहिलेदेखि गर्दै आएका हुन् । तर, हरेक क्षण अपडेट गर्न सबै माध्यममा सहज वा सम्भव हुँदैन । अनलाइन न्युज पोर्टलमा वा इन्टरनेटमा आधारित मिडियामा तत्काल सूचना प्रवाहको यो सुविधा सहज रूपमा प्राप्त छ । जस्तो कुनै विशिष्ट योगदान गर्ने व्यक्तिलाई हृदयाघात भयो भन्ने सङ्क्षिप्त समाचार आइसकेपछि एक–एकछिनमा त्यसपछिका अध्यावधिक जानकारी समाचार संस्थाबाट आइरहन्थे । अनि रेडियोले समाचार बुलेटिनलाई सोहीबमोजिम अध्यावधिक गर्थे । अखबारहरूले अन्तिममा छापिने पानाका डेडलाइनसम्मका अध्यावधिक जानकारीलाई समेट्थे । अझ कहिलेकाहीँ छाप्दाछाप्दै गरेको अवस्थामा उल्लेखनीय वा अकल्पनीय अपडेट आयो भने, छापा यन्त्र नै रोकिन्थ्यो र हतार–हतार सङ्क्षिप्तमा भए पनि त्यो जानकारीलाई समेटिन्थ्यो । जसलाई भनिन्थ्यो– स्टप द प्रेस । नेपालमा पनि निजी क्षेत्रमा रेडियो र टेलिभिजनको सुरुवात हुनुअघि, अनलाइन न्युज पोर्टलहरूको व्यापक उपस्थिति हुनुभन्दा धेरै अघि छाप्दाछाप्दै भनेर अत्यन्त महŒवपूर्ण वा अकस्मात् आएका समाचारलाई समेट्ने चलन थियो । आजकाल त अनलाइन न्युज पोर्टलहरूले अखबारलाई छाप्दाछाप्दैका त्यस्ता समाचार छाप्नै नपाउने अवस्थामा पु¥याइसकेका छन् । विज्ञान प्रविधि, राजनीतिक परिवर्तन वा मानिसको अभिव्यक्ति स्वतन्त्रतालगायत यावत् अधिकारहरूको प्रसारका कारण सूचना र सञ्चारका सङ्कलन, प्रशोधन, प्रसार अनि उपभोगका अभ्यासमा पनि व्यापक परिवर्तन भएको छ ।
जतिखेर देशमा सीमित आमसञ्चारमाध्यम थिए, कति मानिस सोध्थे, यो राससले छाप्ने पत्रिका कहाँ पाइन्छ । त्यस्ता मानिसलाई सजिलो गरी बताउन भन्ने गरिन्थ्यो, रासस त गोरखापत्र र रेडियोको पनि पत्रिका हो । हुन पनि रेडियो नेपालमा ०४६ सालको परिवर्तनअघि छुट्टै रिपोर्टिङ शाखा थिएन । रेडियोका समाचार वाचकहरू राससका बुलेटिनमै केरकार गर्थे वा अर्को कागजमा बीचबीचमा रासस बुलेटिनका कटिङ टाँसेर जे लेखिएको छ, त्यही पढ्थे । जिल्ला–जिल्लामा रासस प्रतिनिधि नआइपुगेसम्म मन्त्रीको भाषण सुरु हुँदैन थियो । केन्द्रीकृत निरङ्कुश व्यवस्थामा समाचार एकैनासको हुनुपर्छ भन्ने मान्यता हुन्छ । त्यसैले कतिपय शक्तिकेन्द्र त्यसबेलाका रेडियो नेपाल र गोरखापत्रलाई पनि निर्देशन दिन्थे, राससले लेखेको जस्ताको त्यस्तै प्रकाशन वा प्रसारण गर्नु । बन्देजकारी शासन व्यवस्थामा त्यही उपायलाई सबैभन्दा प्रभावकारी मानिन्छ । एउटै कोण, एउटै विश्व दृष्टिकोण, एकैनासको प्रस्तुतिका लागि मानक त्यसबेला रासस थियो । त्यसैले पञ्चायती व्यवस्थाको अन्त्यतिर नेपाल टेलिभिजनको स्थापना हुनुअघिसम्म खासगरी राजकीय सूचना सम्प्रेषण र प्रवाहमा राससको विशेष पकड थियो ।
सूचनावाहक मानवविना कुनै पनि सूचना एक ठाउँबाट अर्को ठाउँमा पुग्नै सक्दैन भन्ने कुरा एउटा समयमा सत्य थियो । पुरानो समयका कागजका पूर्व रूप वा अविकसित कागजमा कुनै मसीले लेखिएको सन्देश पनि त कुनै सूचनावाहक मानवले नै बोकेर, बरु छिटो पुग्न घोडामा चढेर, पु¥याउनुपथ्र्याे । अर्थात् आलुको बोरा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउनु र कुनै सन्देश एकजनाबाट अर्को जनामा पु¥याउनु उस्तै–उस्तै थियो ।
विश्वव्यापी समाचारका लागि संरचनाको विकास उन्नाइसौँ शताब्दीमै भएको हो । चाल्र्स हवासले सन् १८३५ मा स्थापना गरेको हवास एजेन्सीलाई हामी आज एजेन्से फ्रान्से प्रेस, एएफपी भनेर चिन्छौँ । तर, मूलतः सन् १८४० को दशकमा टेलिग्राफको विकास र विस्तार हुन थालेपछि समाचार सङ्कलन गर्ने प्रमुख संस्थाहरूको स्थापना हुन थालेको हो । त्यही समयको हाराहारीमा तिनीहरूले आफ्नो विश्वव्यापी सञ्जालको सुरुवात गर्न थाले । सन् १८५८ मा पहिलोपटक आन्ध्र महासागर वारपार तार बिछ्याएर टेलिग्राफका लाइन विस्तार गरिएपछिका दिनमा यो प्रविधिको विकास झन् द्रुत हुँदै गयो । त्यसपछिका दिनमा ग्लोबल न्युजको अवधारणा झन् प्रभावकारी हुँदै गयो । तर, सूचनाको सङ्कलन, प्रशोधन र वितरणमा संसारका शक्तिशाली राष्ट्रहरूको वर्चश्व पनि झन्झन् बढ्दै गयो । त्यही विश्व परिवेशमा समयक्रममा नेपालमा समाचार संस्थाको
सुरुवात भएको थियो ।
राससको स्थापना र विकासका मुख्यतः दुईवटा कारक तŒवलाई केलाउन सकिन्छ । पहिलो, सात सालको परिवर्तनपश्चात् स्थापित बहुदलीय राजनीतिक प्रणालीको अन्त्य गरी सम्पूर्ण राजकीय सत्ता आफ्नो हातमा केन्द्रित गरेका राजा महेन्द्रलाई नियन्त्रित सञ्चार प्रणाली चाहिएको थियो । झिनामसिना घरेलु उद्योगजस्ता साप्ताहिकहरू अल्पायुका हुने गर्थे । छापा माध्यम फस्टाउन सक्ने आर्थिक, सामाजिक वातावरण पनि थिएन, राजनीतिक बन्देज त छँदै थियो । त्यस्तोमा आफूअनुकूल समाचारको खानी तयार गर्न र आफूअनुकूल सूचनालाई केन्द्रीकृत ढङ्गले प्रवाह गर्न त्यस्तै प्रकृतिको एउटा संस्था चाहिएको थियो । तर, देशभित्रको यो अवस्थाबाहेक नेपालमा समाचार संस्थाको विकासको कारक तŒव तत्कालीन अन्तर्राष्ट्रिय अवस्था पनि हो ।
आजको सन्दर्भमा राससको महŒव र भूमिका विगतको सन्र्दभसँग तुलनायोग्य देखिँदैन । तर, स्थापनाकालदेखि आजसम्म यसले आफ्नोमात्र होइन, संसारभरका समाचार संस्थाका ठुल्ठूला उतारचढाव देखेको छ । सन् १९६० को दशकपछि विश्वभरि नै निर्वाधमात्र होइन, सूचनाको दुईपक्षीय वा बहुपक्षीय आदान–प्रदान हुनुपर्छ भन्ने आवाज उठ्न थालेपछि राष्ट्रिय समाचार संस्थाहरूको परिकल्पना हुन थालेको हो । खासगरी, सन् १९६० को दशकमा अफ्रिकी महादेशमा स्वतन्त्रताको उत्साह सुरु भएसँगै संयुक्त राष्ट्रसङ्घले युनेस्कोमार्फत राष्ट्रिय समाचार संस्थाहरूको विकासलाई प्रोत्साहित गर्न थाल्यो । कुनैै पनि स्वाधीन राष्ट्रले आफ्नै मार्गचित्र कोर्न, आफ्नै गौरवमय इतिहासको आलोकमा आफ्नै स्क्रीप्ट लेख्न आफ्नै समाचार संस्था चाहिन्छ भन्ने जागरण त्यसैक्रममा फैलिएको हो । त्यो औपनिवेशवादको अन्त्यपछिको जागरण नै थियो, आवाज उठ्न थाल्यो, हरेक नव स्वतन्त्र देशले संयुक्त राष्ट्रसङ्घको बैठकमा कुर्सी र झन्डामात्र पाएर पुग्दैन, प्रत्येक देशको आफ्नो वाणी संसारलाई सुनाउन सक्ने तागत हुनुपर्छ । पछि, सन् १९८० मा म्याक ब्राइड कमिसनले सबैको साझा एउटै पृथ्वीमा आवाज भने धेरै किसिमका छन् भन्दै विश्वका लागि नयाँ सूचना र सञ्चार संरचना आवश्यक रहेको औँल्यायो । जसको निचोड विकसित भनिएका पश्चिमा राष्ट्रहरूको एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकी मुलुकतर्फको एकतर्फी सूचना तथा सञ्चारका वाहकमा परिवर्तन हुनुपर्छ भन्ने थियो । साना देशहरूको पनि आफ्नै बोल्ने मुुख हुनुपर्छ र आवाज संसारलाई सुनाउनुपर्छ भन्ने निष्कर्ष युनेस्कोले बनाएको त्यो इन्टरन्यासनल कमिसन फर द स्टडी अफ कमिसन प्रोब्लेम्सले प्रस्ट शब्दमा अघि सा¥यो ।
५९ वर्षको आफ्नो यात्राको समीक्षामात्र आज राससका लागि आफ्नो प्रभावकारितामा वृद्धि गर्न पर्याप्त हुँदैन । यसको स्थापना नै राजाको इच्छाबमोजिम दरबार वा राजाले तोकेको वा सत्य मानेको कुरालाई केन्द्रीकृत ढङ्गले सङ्कलन, प्रशोधन र प्रसार गर्ने मूल दायित्वका साथ भएको थियो । करिब छ दशकको इतिहासका साथसाथै प्रविधि र राजनीतिमा आएको परिवर्तन अनि ती परिवर्तनको आर्थिक, सामाजिक प्रभावको समेत समीक्षा गर्दै आगत दिनमा यसको भूमिकाको प्रस्ट खाका तयार पार्न सकिन्छ । विश्व र नेपालभित्रको आमसञ्चार क्षितिजमा आएको परिवर्तन र उपभोक्ताबीच प्रचलित नयाँ–नयाँ शैलीको निरन्तर अनुगमन अनि सम्बोधनले नै सञ्चार संस्थाहरूलाई असान्दर्भिक हुनबाट जोगाउँछ ।
(लेखक डा. कुन्दन अर्याल त्रिविको पत्रकारिता तथाआमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।)

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech