पूर्वी तराईका जिल्लाहरुलाई काठमाण्डौँ जोड्न वैकल्पिक सडक मार्ग खुल्दै

128 Shares

सिन्धुलीबाट संघीय राजधानी काठमाडौंसम्म जान थप वैकल्पिक सडक मार्ग खुलेको छ । बीपी राजमार्ग अन्तर्गतको नेपालथोक–धुलिखेल खण्डको धेरै ठाउँमा सडक बाढीले बगाएका कारण राजधानीसंग सडक सम्पर्क विच्छेद भएका बेला सिन्धुलीबाट संघीय राजधानी जान वैकल्पिक सडक मार्ग खुलेको हो । सिन्धुली,रामेछाप,ओखलढुंगा,सोलुखुम्बु,खोटाङका साथै पूर्वी तराईका जिल्लाहरुलाई संघीय राजधानीसंग सम्बन्ध जोड्न पुष्पलाल (मध्य पहाडी) राजमार्ग मार्फत सवारी साधनहरु सञ्चालन भएका भएपनि पछिल्लो समय आएको अविरल वर्षाका कारण सिन्धुली,रामेछाप,ओखलढुंगा,सोलुखुम्बु,खोटाङका साथै पूर्वी तराईका जिल्लाहरु संघीय राजधानीसंग सडक सम्पर्क विच्छेद भएका छन् ।
पुष्पलाल (मध्य पहाडी) राजमार्ग  जताततै पहिरोले अवरुद्ध भएपछि दोलाल घाटदेखि जिरोकिलो हुँदै नगरकोटबाट जगाती पुग्ने वैकल्पिक सडक मार्ग सञ्चालनमा आयो । पुर्वी तराईबाट सिन्धुलीको मूलकोट नजिकैसम्म बीपी राजमार्ग सञ्चालनमा रहेको भएपनि त्यस उता सडक पुर्ण रुपमा क्षेतवितक्षत हुँदा संघीय राजधानीसंग सडक सम्बन्ध विच्छेद भएका सिन्धुली,रामेछाप,ओखलढुंगा,सोलुखुम्बु,खोटाङका साथै पूर्वी तराईका जिल्लाहरुलाई सिन्धुलीको खुर्कोटबाट ३० किलोमिटर यात्रापछि रामेछाप र सिन्धुली जोड्ने सित्खाको मोटरेबल पुल भएर खाँडादेवी गाउँपालिका हुँदै करिब ३४ किलोमिटर सडक पार गरेपछि मन्थली निस्कन सकिने गरी सवारी सञ्चालनको तयारी भएको पाइएको छ ।
मन्थलीबाट सिधै पुष्पलाल (मध्य पहाडी) राजमार्गबाट दोलखाको चरिकोट हुँदै अरनिको राजमार्गबाट धुलीखेल हुँदै संघीय राजधानी जोडने योजना भई रहेको पाइएको हो ।सिन्धुलीबाट यो वैकल्पिक मार्ग प्रयोग गरेर राजधानी पुग्न दुई सय ७८ किलोमिटरको यात्रा गर्नुपर्ने छ ।असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढी पहिराले गाउँबस्तीदेखि सडक,पुल र विद्युतको पोल ढालेपछि अहिले यातायात,विद्युत् र सञ्चार सेवा धेरै गाउँहरुमा टुटेको छ। मौसमी विपद्मा परेर धेरैले ज्यान गुमाउनेदेखि घाइते भएर धेरै मानिस अस्पतालमा उपचाररत अवस्थामा रहेका छन्।सडकमा यात्रा गरेका यात्री बीच बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न अहिले पनि भोकभोकै कठिन यात्रा गर्दैछन् ।बाढी पहिरोको कारण नागरिकको जीवनी कष्टकर बन्दै गएको छ ।
 त्यस्तै कष्टकर जीवन जिउन बाध्य हुनेमा रोशीखोला देखि सुनकोसी नदी आसपासका धेरै नागरिक छन्।यस क्षेत्रमा सडक बिग्रेपछि पसलमा आवश्यक सामानहरु सकिएको छ । रोशी खोलामा गएको बाढी पहिरोले पुष्पलाल (मध्य पहाडी) राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएपछि दैनिक हजारौँको संख्यामा सञ्चालन हुने सवारीसाधन अहिले ठप्प छन् ।दर्जनौँ ठाउँमा राजमार्गलाई बाढीले कटान गरी क्षति पुर्याएको छ भने अधिकांश ठाउँमा सडक पुरिएको अवस्था छ ।जसका कारण अहिले पुष्पलाल (मध्य पहाडी) राजमार्ग सुनसान छ । राजमार्गमात्र सुनसान छैन,त्यस आसपासका बस्तीमा समेत सुनसान छाएको छ।बाढी पहिरोले सडक,विद्युतको पोल, खानेपानी पाइप,सञ्चार लगायत भौतिक संरचना ध्वस्त बनाएपछि अहिले सो क्षेत्रका नागरिकलाई खाद्यान्न,बिजुली, सञ्चार र स्वास्थ्योपचारमा समेत समस्या देखा पर्न थालेको छ ।
बाढीले रोशीखोला र सुनकोसी नदीका आसपासमा रहेका सयौँ रोपनी खेतीयोग्य जमिनसँगै लगाएको बालीसमेत बगाएको छ ।भने स्थानीय सरकारहरुले पहिलो प्राथमिकता खोज तथा उद्धार,दोस्रो प्राथमिकतामा राहत तथा स्वास्थ्योपचारका क्षेत्रमा काम गरि रहेको सिन्धुलीको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा(दाहाल)ले बताईन् ।पूर्व जाने छोटो दूरीको राजमार्गलाई दसैँ अगाडि नै खुलाउने गरी वैकल्पिक मार्ग निर्माणको कामलाई पनि अगाडि बढाइएको उनको भनाई छ ।
 एकातिर विपद्मा परी नागरिक घाइते र पीडामा छन् भने अर्कातिर खाद्यान्न अभाव र बिरामी परेका नागरिकले समयमा नै उपचार नपाएर आक्रान्त बनेका कारण सडक खुलाउन निरन्तर आफूहरू स्काभेटरलगायत उपकरणसहित अस्थायी रूपमा वैकल्पिक बाटो बनाउने काममा लागेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।अहिले पुष्पलाल (मध्य पहाडी) राजमार्गको काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका चौकीडाँडाबाट रोशी गाउँपालिका १२ को बर्खिखोलादेखि सिन्धुलीको सिमानासम्मको करिब २० किलोमिटर सडकका विभिन्न स्थानमा अस्थायी वैकल्पिक मार्ग निर्माण गर्न हेलिकप्टरमा इन्धन ढुवानी गरी काम गरिरहेको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार पछिल्लो तीन दिनमा मंगलटारबाट कालढुङ्गासम्मको चार किलोमिटर बाटो निर्माण भई सकेको छ ।
सडक,विद्युत् र सञ्चार सम्पर्क टुटेको जिल्लाका विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका तथा कोशीपारिको भुम्लु र चौँरीदेउराली गाउँपालिकाले क्षति पुगेको सडकखण्ड मर्मत गरी सवारीसाधन सञ्चालनका लागि काम अगाडि बढाएको कार्यालयले जनाएको छ।महाभारत गाउँपालिकाको जनमुक्ति लोकमार्गको चारकिल्ला भूमिचुली–राजबास हुँदै बिपी राजमार्ग जोड्ने र चारकिल्ला गाउँपालिका केन्द्र देवीटार गोकुले खण्डसम्म खोल्ने प्रयास जारी रहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार