सर्लाहीको हरिवन नगरपालिका १ स्थित कैलाशपुरीमा सञ्चालित मानव सेवा आश्रम सर्लाही शाखाले दुई सय ४४ जनाको उद्धार गरेको छ । २०७५ सालमा सर्लाहीमा शाखा विस्तार गरेको आश्रमले हाल सम्म दुई सय ४४ जनाको उद्धार गरेको मानव सेवा आश्रम सर्लाही शाखाका सुकवेद कार्कीले जानकारी दिए ।
उनका अनुसार मानवसेवा आश्रमले सडकमा अलपत्र रहेका बेवारिसे व्यक्तिलाई उद्धार गरेर आश्रममा राखेर स्याहार गर्दै आइरहेको र उद्धार गरिएका दुई सय ४४ जनामध्ये ८६ जनाको पारिवारिक पुनर्मिलन पनि गराइ सकेको छ ।त्यस्तै आश्रममा ल्याएर स्याहार र उपचार पश्चात सामान्य अवस्थामा फर्किएका ८७ जनालाई सामुदायिक पुर्नस्थापना गराइएको र आश्रममा राखिएका मध्ये ११ जनाको निधन र हाल ५२ जना आश्रममा आश्रित रहेका आश्रमले जनाएको छ ।
आश्रमलाई गत आर्थिक वर्ष २०७९/०८० मा रु २५ लाख ३२ हजार सात सय १८ सहयोग प्राप्त भएकोमा रु ३८ लाख ४४ हजार सात सय पाँच खर्च भएको,चालू आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म रु १३ लाख ८३ हजार एक सय ७२ आम्दानी भएको मध्ये रु १६ लाख ३४ हजार ७१ खर्च भएको आश्रमले सार्वजनिक गरेको लेखापरिक्षणमा उल्लेख गरिएको छ ।आश्रममा सहयोग तथा आम्दानी भन्दा खर्च धेरै भएकाले ऋणबाटै आश्रम सञ्चालन भइरहेको कार्कीले बताए ।आश्रमले सोमबार(आज) एक कार्यक्रमका विच आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० सम्मको लेखा परिक्षण प्रतिवेदन,आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्त सम्मको आय व्याय विवरण एवम सो समयको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।