हरिपुर २ काे विद्यालय भवन निर्माण गुणस्तरहिन भएको अभिभावकहरुकाे गुनासाे

535 Shares

सर्लाहीको हरिपुर नगरपालिका २ स्थित सानो जगतपुरमा रहेको जनता आधारभूत विद्यालयको भवन निर्माणको काम गुणस्तरहिन भएको भन्दै अभिभावकहरुले गुनासाे गरेका छन् ।

हरिपुर नगरपालिकाकाे रु ६१ लनख ७० हजार भ्याट सहितमा करिब एक महिना पहिला निर्माण सुरु भएको विद्यालय भवनमा प्राविधिक मापदण्ड अनुसार नभएको पाईएकाे भन्दै अभिभावकहरुले हरिपुर नगरपालिकाकाे शिक्षा शाखा र प्राविधिक शाखामा गुनासाे गरेका एक अभिभावकले बताए । "आफुहरु सहित विद्यालयका प्रधानाध्यापक गिरिराज तिमल्सिना सहितले नगरपालिकामा गुनासाे गरेपनि अझै पनि निर्माण स्थलमा सूचना बाेर्ड नराखेकाे,गिट्टी २५ एमएम र बालुवा नचालि नपखालि हालेकाे र राति राति काम गरेकाे साथै ढलान गर्दा बाँसका टेका हालेकाे"अभिभावकहरुकाे गुनासाे छ ।

हरिपुर नगरपालिकाले रु एक कराेडमा ठेक्का खुलाउनु,रु ६१ लाख ७० हजार भ्याट समेतमा रोहन इन्जिनियरिङ एण्ड विल्डर्स प्रा.लिले ठेक्का सकार गर्नुका साथै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग बर्दिवासले विशेष अदालतमा मुद्दा हाली मुद्दा विचाराधिन अवस्थामा रहेका निर्माण व्यावसायीले नै ठेक्काकाे काम पाउनुले हरिपुर नगरपालिकाका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरकाे मिलेमताेमा कमसल निर्माण सामाग्रीमा विद्यालय भवन निर्माण भएको स्राेतकाे दाबी छ ।

निर्माण व्यावसायी रन्जित साह हरिपुर नगरपालिकाका पुर्व इन्जिनियर समेत हुन भने अख्तियारले विशेष अदालतमा साह समेतलाई मुद्दा हालेपछि आफ्नाे नाममा रहेकाे कम्पनीलाई साहले आफ्नी श्रीमती साेजिता साहकाे नाममा नामसारी गरेर काम गरि रहेका छन् । चालू आर्थिक वर्ष २०८०/०८१ काे असार मसान्तसम्ममा निर्माण सक्ने भन्दै रोहन इन्जिनियरिङ एण्ड विल्डर्स प्रा.लिले चालू आर्थिक वर्ष २०८०/०८१ काे चैत महिनामा सम्झाैता गरेकाे निर्माण व्यावसायी साहले बताए ।

"गिट्टी र बालुवाकाे सवालमा पहिला मसंग पनि गुनासाे आयाे,त्याे अहिले सुधार भएको छ साथै हरिपुर नगरपालिका १ र २ पहिलादेखि नै विवादित वडा हाे ।"निर्माण व्यावसायी साहले बताए । उनले पहिला पनि जनप्रतिनिधिहरुकाे आन्तरिक विवादका कारण आफू सहितलाई मुद्दा परेकाे समेत बताए ।उनीहरु विरुद्ध हरिपुर नगरपालिका २ कै भुगाेलमा लखन्देही नदीमा बाँध बनाउने विषयमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय बर्दिवासले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ तर साह सहितका काेही साे मुद्दाको सम्बन्धमा माैन देखिएका छन् भने हरिपुर नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुकाे मिलेमताेमा उनै भ्रष्टलाई निर्माणकाे काम दिँदा थप भ्रष्टाचार हुनेमा स्थानिय चिन्तित देखिएका छन् ।

भ्रष्टाचारको मुद्दा विचाराधिन अवस्था रहेका मानिसलाई नै निर्माणकाे काम दिनु भनेकाे"बाँदरलाई लिस्नु" भने झैँ भएको स्थानीयकाे भनाइ छ।यता,विद्यालयका प्रधानाध्यापक तिमल्सिनालाई समेत आफ्नै विद्यालयकाे भवन निर्माणकाे कुनै जानकारी नदिनुले पनि निर्माण व्यावसायीमाथि शंका गर्नु पर्ने स्थानीयकाे भनाइ छ ।

हरिपुरकी तत्कालीन उप प्रमखुख काफ्ले सहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सर्लाहीको हरिपुर नगरपालिकाकी तत्कालीन उप प्रमुख रेणुकादेवी काफ्लेसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।उनीहरूले सम्झौता अनुसार खोला नियन्त्रणका लागि तटबन्ध निर्माणको काम नगरी आर्थिक अनियमितता गरेको भन्दै आयोगले चैत्र ५ गते सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
तत्कालीन नगर उप प्रमुख काफ्ले,सदस्य बेदकुमारी बलम्पाकी र लक्ष्मी कुँमर तथा हरिपुर नगरपालिका १ का वडाध्यक्ष कुमार लामाले लखनदेवी खोला नियन्त्रण तथा स्पर निर्माणको कार्य सम्पन्न नहुँदै सम्पन्न भएको भन्दै भुक्तानी दिन सिफारिस गरेका थिए ।
हरिपुरका तत्कालीन निमित्त प्रमख प्रशासकीय अधिकृत नइन्द्र कुमार पौडेल,इन्जिनियर रञ्जित साह र सव–इन्जिनियर सञ्जीव चौधरीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।उनीहरूले तोकिएको भन्दा कम क्षेत्रफल र कमसल तटबन्ध बनाएर रु ८५ लाख १८ हजार अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।
तटबन्ध निर्माणका लागि बनेको हरिपुर नगरपालिका १ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शम्शेरबहादुर बस्नेत,सचिव ईन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मला कुमारी देवीविरुद्ध पनि मुद्दा दायर भएको छ ।उनीहरूले खोलामा तटबन्ध नसकिंदै निर्माण सकिएको भनी प्रतिवेदन बनाएको,बिल भर्पाई बनाएको,हाजिर हिनामिना गरेको र सम्झौता विपरीतको कार्य गरेको अख्तियारले जनाएको छ ।उनीहरू विरुद्ध पनि रु ८५ लाख १८ हजार जरिवाना गरी बिगो असुल उपर गर्नुपर्ने अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।
अख्तियारले जारी गरेको प्रेस विज्ञप्ती
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं
मितिः २०८०।१२।०५ गते ।
प्रेस विज्ञप्ति
विषयः आरोपपत्र दायर गरिएको ।
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाले लखनदेही खोलामा तटबन्ध निर्माणको कार्य नै नगरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हरिपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय,हरिपुर,सर्लाहीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्र कुमार पौडेल,इन्जिनियर रंजित साह र सव–इन्जिनियर संजीव चौधरीले आ.व.२०७५/०७६ को जिल्ला सर्लाही,हरिपुर नगरपालिका १ स्थित लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणमा उपभोक्ता समिति र नगरपालिका बीच सम्झौता भई नदी नियन्त्रण कार्य गर्दा लागत अनुमानमा ४ हजार आठ सय १२ दशमलव ५० वर्गमिटरको ग्याबिन बक्सको प्रयोग गर्न तोकिएकोमा लागत अनुमान भन्दा कम गरी तीन हजार चार सय ९५ दशमलव १५ वर्ग मिटरको परिमाणमा ग्याबिन बक्स निर्माण गरेको,लागत अनुमानमा आठ हजार चार सय घन मिटरको माटो पुर्ने काम तोकिएकोमा लागत अनुमानभन्दा बढी गरी १४ हजार सात सय घनमिटरको परिमाणमा Earthwork Filling भएकोले मनासिब कारण बिना सो निर्माण कार्यको आकार र रूप परिवर्तन गरेको, ढुङ्गा (ग्यावियन जाली) को कामको परिमाण कम गरी माटो पुर्ने कामको परिमाण बढाउँदा तटवन्ध कमसल हुन पुगेको, निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गरेको÷गराएको र त्यस्तो निर्माण कार्यलाई गुणस्तरयुक्त, शर्त तथा मापदण्डबमोजिम भएको हो भनी प्राविधिक मूल्यांकन सहितको नापी किताब,कार्य सम्पन्न प्रतिवेदनसमेत प्रमाणित एवं स्वीकृत गरी उपभोक्ता समितिलाई रु.८५ लाख १८ हजार छ सय ३१ रुपैँया ६३ पैसा भुक्तानी दिई सरकारी सम्पत्तिमा हानी नोक्सानी पु¥याएको हुँदा निजहरु तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नइन्द्र कुमार पौडेल,इन्जिनियर रंजित साह र संजीव चौधरीले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ को कसुर गरेको हुँदा निजहरुलाई बिगो रु.८५ लाख १८ हजार छ सय ३१ रुपैँया ६३ पैसा कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजाय गरी ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐ.ऐनको दफा १७ बमोजिम उक्त हानिनोक्सानी भएको बिगो असुल उपर हुन साथै प्रतिवादीहरु रंजित साह र संजीव चौधरीले अनुगमन समितिमा समेत आफै प्राविधिक सदस्य भई गलत अनुगमन प्रतिवेदन पेस गरेको र सोही आधारमा भुक्तानी समेत गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना समेतको सजाय हुन मागदावी लिइएको छ।
हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुका देवी काफ्ले,्सदस्य वेद कुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुँमर,हरिपुर नगरपालिका १ का तत्कालीन वडा अध्यक्ष कुमार लामाले जिल्ला सर्लाही हरिपुर नगरपालिका १ मा लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणमा कार्य सम्पन्न भएकोले भुक्तानी गर्न भनी प्रतिवेदन पेश गरी सिफारिससमेत गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ।
नदी नियन्त्रण उपभोक्ता समिति,हरिपुर नगरपालिका १ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शम्सेर बहादुर बस्नेत, सचिव इन्द्र बहादुर घिसिङ र कोषाध्यक्ष निर्मला कुमारी देवीले आ.व. २०७५/०७६ को जिल्ला सर्लाही,हरिपुर नगरपालिका १ स्थित लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणको लागि उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता गरी कार्य सुरु गरी निर्माण कार्य सम्पन्न भएको भनी कार्य सम्पन्न प्रतिवेदन, विल भर्पाई, डोरहाजिरी लगायतका कागजात पेश गरेको तर सर्त एवं सम्झौता विपरीत सम्झौता बमोजिमको कार्य नगरी कमसल निर्माण कार्य गरी निर्माण कार्यमा भएको मूल्यांकन रु.८५ लाख १८ हजार छ सय ३१ रुपैँया ६३ पैसा हिनामिना गरेकोले निजहरु शम्सेर बहादुर बस्नेत, इन्द्र बहादुर घिसिङ र निर्मला कुमारी देवी उपर भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गर्ने कसुरको दफा २२ अनुसार लाभ प्राप्त गर्ने प्रकृतिको मतियार पुष्टि भएको हुँदा निजहरुलाई मुख्य कसुरदारलाई हुने सजाय बराबर भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैदको सजाय र ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो रु.८५ लाख १८ हजार छ सय ३१ रुपैँया ६३ पैसा जरिवाना गरी उक्त बिगो असुल उपर गरी ऐ.ऐनको दफा १९(२) बमोजिमसमेत सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे

सम्बन्धित समाचार