सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकोमा गुनासो गरेका छन्। बागमती नगरपालिका ४ र १२ स्थित बागमती माछा पोखरी (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको नदीजन्य पदार्थको बिक्री वितरणमा आर्थिक अनियमितता गरेको आरोप लगाउँदै अख्तियारले नगर प्रमुख थापा सहित उप प्रमुख लिला मोक्तान,तत्काल्नि प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोख्रेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन सभापति मेथुर चौधरी सहित छ जना विरुद्ध विशेष अदालत काठमाडौँमा रु ३० करोड भन्दा बढीको भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो।
यसअघि चैत २८ अकुत सम्पत्ति आर्जन गरेको भन्दै नगर प्रमुख थापाविरुद्ध रु पाच करोड ३३ लाख ५३ हजार एक सय ८९ बराबरको बिगो कायम गरी भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो।अख्तियारले आफूविरुद्ध एकपछि अर्को गर्दै भ्रष्टाचार मुद्दा दायर गर्न थालेपछि नगर प्रमुख थापाले आफूले नगरको विकासमा काम गर्दा अभिशाप भएको भन्दै गुनासो गरेका छन् ।
“बगरलाई पर्यटकीय शहर बनाइयो अभिशाप भयो”उनले बिहीबार(आज) सामाजिक सञ्जालमा लेखेका छन्,“काम नगर्ने,कागज मिलाउने सम्मानित हुन्छन्।काम गर्नेहरु अपमानित हुनुपर्दो रहेछ। सबैमा सम्मान व्यक्त गर्दछु।मैले दुःख पाए पनि म बाचुन्जेल सबैलाई खुसी बनाउने प्रयत्न गर्ने छु।”नगर प्रमुख थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले बागमती माछा पोखरी (भरत ताल) निर्माण गर्नुको उद्देश्य,ताल निर्माण गर्दा पालिकाबाट भएका निर्णयहरु र ताल निर्माणले नगरको विकासमा पारेको सकारात्मक प्रभावका सम्बन्धमा पनि सामाजिक सञ्जालमार्फत् नै प्रष्ट्याएका छन् ।नगर प्रमुख थापाले यस अघिपनि अख्तियारमा अनावश्यक उजुरीहरु पर्दा आफ्नो टिमले सोचे अनुसारका विकास निर्माणका साथै जनताका प्रत्यक्ष सरोकारका विषयहरुमा खुलेर काम गर्न नपाएको गुनासो गर्ने गरेका थिए ।