“मनो रोपेर मुरी फालाउने” नेपाली उखान अनुसारको समयमा मधेसमा यतिबेला चर्को खडेरी बढेको छ।असार,साउनमा मधेशका किसानहरु यतिबेला धान रोपाइँ गर्न व्यस्त हुनु पर्नेमा चुरेको तीव्र अतिक्रमणको परिमाण सिंगो मधेस यतिवेला काकाकुल बनेको छ ।देशका अन्य क्षेत्रमा पानी परेर बाढीपहिरो र डुबानले आक्रान्त बनाइरहेका बेला मधेसका खेत धाँजा फाटेका छन् ।अन्य स्रोतको पानी प्रयोग गरेर रोपाइँ गरेका ठाउँमा पनि रोपो सुकेको छ ।यद्यपि,जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मधेस प्रदेशमा मध्यम वर्षा हुने अनुमान गरेको छ ।
मधेस काकाकुल हुनुको मुख्य कारण लामो खडेरी हो कि चुरे क्षेत्रको चरम दोहन भन्ने प्रश्न पेचिलो बनेको छ।खडेरीका कारण नभई चुरे अतिक्रमणको परिणाम मधेसले भोगिरहेको चुरेविद्धहरुको दाबी छ।“मधेसमा पानीको हाहाकार हुनुमा पानी नपर्नु मात्र कारण नभई निरन्तर भइरहेको चुरे दोहन हो,जसले मधेसलाई मरुभूमीकरण तर्फ लागिरहेको छ । यथास्थितिमा भूमिगत पानीको सतह घट्नु,जरुवा पानी सुक्दै जानुको मुख्य कारण चरम चुरे दोहन नै हो ।”चुरेविद्धहरुले बताए ।
मधेसको जलसंकटमा मुख्य कारण वन तथा चुरे दोहन भएको चुरेविज्ञ नागदेव यादव बताउँछन्।मानवीय क्रियाकलापकै कारण मधेस मरुभूमि बन्दै गएकामा चिन्ता व्यक्त गर्दै उनले वातावरणलाई हानि नोक्सानी हुने क्रियाकलाप तुरुन्तै रोकिनुपर्ने बताए।“मानिसहरूले जग्गाको लोभमा जंगल अतिक्रमण गरिरहेका छन्।अझ चुरे जंगल बीभत्स बनाइएको छ,हाम्रा क्रियाकलापले नै जलसंकट सिर्जना भएकोमा दुईमत छैन।जानेर वा नजानेर हामीले नै चुरे दोहनलाई प्रोत्साहन गरिरहेका छौँ।”उनले भने
वातानुकूल क्रियाकलाप गर्न नसके मधेसमा भयावह जलसंकट आउने विज्ञहरूको चेतावनी छ ।चुरे संरक्षण अभियान्ता सुनिल यादव भन्छन्,“यो अवस्था आउने आँकलन हामीले पहिले नै गरेर पैदलै सिंहदरबार पुगेर सचेत पनि गराएका हौँ।तर,चुरे दोहन रोकिएन।आज त्यसकै नियति भोगिरहेका छौँ।”तराई–मधेसको लाइफलाइन मानिने चुरे क्षेत्र पानीको मुख्य स्रोत हो ।
विज्ञहरूका अनुसार चुरे पानीको मुख्य भण्डार भए पनि मधेसमा चुरे अतिक्रमण भयावह भएको छ ।मधेसको कुल क्षेत्रफलमध्ये २४ दशमलव ७८ प्रतिशत मात्र वन क्षेत्रले ओगटेको छ भने अधिकांश वन चुरे क्षेत्रमै छन्।प्रदेशका आठ जिल्लाका एक सय ३६ मध्ये ८४ वटा स्थानीय तहमा वन क्षेत्र नै छैन।सरकारले वनलाई आर्थिक विकासका मेरुदण्ड मानिने कृषि, पर्यटन,जलस्रोत,उद्योग आदिको आधार स्तम्भका रूपमा लिए पनि व्यावहारिक कार्यान्वयन गर्न नसक्दा समस्या विकराल बन्दै गएको छ।मधेसका कतिपय जिल्लामा पानीकै क्षेत्रमा काम गर्ने भू तथा जलाधार व्यवस्थापन कार्यालयलगायत कैयौँ निकाय छन्।तर,ती निकायले प्रभावकारी काम गर्न नसक्दा समस्या जटिल बनेको स्थानीय सुनिल साह बताउँछन् ।
रोपाइँ गर्न मात्रै होइन,सिंगो मधेस यतिबेला खानेपानीको चरम अभाव भोगिरहेको छ।कतिपय स्थानमा स्थानीय सरकारहरूले दमकल र ट्यांकर प्रयोग गरेर पानी आपूर्ति गरिरहेका छन् । मधेस प्रदेशको आर्थिक सर्वेक्षण २०८०÷०८१ अनुसार सिँचाइ योग्य क्षेत्रको अनुपातमा सिँचाइ क्षेत्र ८५ दशमलव ३६ प्रतिशत छ।खानेपानीको मुख्य स्रोतका रूपमा ट्युवेल र पाइप प्रणालीको प्रयोग गरिएको छ।तथ्यांक अनुसार खानेपानीका लागि ट्युवेल र हाते पम्पको प्रयोग गर्ने परिवारको संख्या आठ लाख ३० हजार दुई सय १९ छ भने नदी/खोलामा आश्रित परिवारको संख्या सात सय २९ मात्र छ ।मधेसको जनसंख्याको ठुलो हिस्सा भूमिगत पानीमा निर्भर छ।केही परिवार चुरेका जरुवा,नदी,खोलामा आश्रित छन्।तर,भूमिगत पानीको मुख्य स्रोत चुरे क्षेत्र क्षत्विक्षत् भएपछि यतिबेला मधेसका चापाकल/ट्युवेल सुकेका छन् ।
नदी/खोलाको अवैध दोहन उस्तै
मधेस काकाकुल बन्नुमा नदीजन्य पदार्थको अवैध दोहन पनि अर्को मुख्य कारण रहेको जानकारहरू बताउँछन्।क्रसर व्यवसायी,ठेकेदार र जनप्रतिनिधिहरूकै मिलेमतोमा नदी दोहन वृद्वि भएको विभिन्न तथ्यांकले देखाएको छ।केही वर्षअघि र अहिलेको अवस्था तुलना गर्दा नदी/खोला बीभत्स बनेको देखिन्छ।यसले पनि भूमिगत पानीको सतह थप गहिरिँदै गएको उनीहरूको निष्कर्ष छ ।
मधेशका विभिन्न नदीहरुमा भएको अवैद्य दोहनका कारण हरेक वर्ष अनुपातमा १० जनाले ज्यान गुमाउने गरेका छन् ।केही वर्ष पहिला मधेशमा कञ्चन पानी बहने नदीहरुमा अहिले खोलामा त्यस्तो कञ्चन पानी कहाँ देखिनु ? खन्दाखन्दै गहिरिएर कता पुग्यो कता ?उनले भने, “वरपर पलाउने जरुवा पानीले नै सिँचाइ हुन्थ्यो।धान,तरकारी उत्पादनका लागि खोल्सा खोल्सीकै पानी काफी थियो।अहिले कथा सुनाएझैँ हुन्छ ।”मधेसका खोला तथा नदी अन्धाधुन्ध दोहन गर्दा समस्या भएको कुरामा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह पनि सहमत छन् ।“हामीले अनुगमन गर्दा आइई रिपोर्टले निर्धारण गरे विपरीत उत्खनन् गरिएको छ ।अनुगमनका लागि स्थानीय संयन्त्र भए पनि मौन देखिन्छ।”उनले भने ,
वन विनाशले पनि मरुभूमि बन्दै छ मधेस
मधेस सरकारको वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले वन अतिक्रमणको भयावह चित्र देखाउँछ।आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक अनुसार मधेसको पाँच हजार छ सय ९२ दशमलव १५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।यसमध्ये सबैभन्दा बढी रौतहटमा तीन हजार एक सय ९० दशमलव ५२ हेक्टर अतिक्रमणमा परेको मन्त्रालयले जनाएको छ।मधेसका आठ जिल्लाका एक सय ३६ पालिका वनमा आश्रित भए पनि सबै पालिकामा वन छैन।सप्तरीका १८ मध्ये आठ पालिकामा वन क्षेत्र छ भने सिरहाका १७ मध्ये ११,धनुषाका १८ मध्ये चार,महोत्तरीका १५ मध्ये दुई,सर्लाहीका २० मध्ये सात,रौतहटका १८ मध्ये पाँच,बाराका १६ मध्ये तीन र पर्साका १४ मध्ये सात वटा पालिकामा मात्र वन छ ।