मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालको पैदल यात्रा २५ गते जनकपुरबाट सुरु भई सर्लाही आई पुगेको छ।देशभरका ३६ वटा जिल्लाबाट मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका पीडितहरु संघीय राजधानी काठमाण्डौँ सम्मको पैदल यात्रामा निस्केका हुन।करिब ५ वर्ष पहिलाबाट सर्लाहीबाट सुरु भएको अभियान क्रमैसंग देशभरका ३६ वटा जिल्लामा समिति नै बनाएर सशक्त बन्दै गएको छ ।
मिटर व्याज सहु महाजनको पीडाको विचबाट निस्केको मिटर व्याज विरुद्धको आन्दोलन पछिल्लो समय झन सशत्त बन्दै गएको छ।करिब ५ वर्ष पहिला तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सर्लाहीका इन्चार्ज स्व. डाचाराज वाग्लेले सुरु गरेको आन्दोलन अहिले देशभरका ३६ वटा जिल्लामा समिति नै गठन गरेर फैलिएको स्व.वाग्लेकी पत्नी एवम अभियान्ता सरस्वती मिश्रले बताईन् ।उनका अनुसार मिटर व्याज साहु महाजनका विरुद्ध चर्काे आवाज उठाउँदा आफ्ना पतिको हत्या गरिएको भएपनि आन्दोलन निष्कर्षमा नपुगि नटुङ्गिने गरी अगाडि बढेको छ ।सरकारसंग पटक पटक विभिन्न समयमा विभिन्न किसिमका मागहरु राखी आफुहरुले सम्झौता गरेपनि ती सम्झौता केवल कागजी खोस्टो मात्रै बनाउने तर्फ सरकार लागि परेपछि बाध्य भएर विभिन्न किसिमका आन्दोलनका स्वरुपहरु लिएर पीडितहरुको आवाज उठाउने काम भई रहेको उनले बताईन् ।
मधेशमा दाईजो प्रथा,स्वस्थ्य उपचारका साथै घरायसी प्रयोजनका लागि पनि बैँकिङ्ग प्रणाली झण्झटिलो हुँदा साहु महाजनकोमा ऋण लिन जानु पर्ने र सोही मौका छोपी साहु महाजनहरुले चर्काे व्याज लिने तथा भएको श्रीसम्पती नै सकाउने काम गरेर करिब २८ हजार सर्वसाधारण नागरिकहरुलाई पीडित बनाउने काम गरेको पाइएपछि पीडितहरु एक ढिक्का हुँदै अगाडि बढेका मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष अवदेश कुशवाहाले बताए।राज्यले पटक पटक आश देखाएर निराश बनाएका कारण आफुहरुको माग सम्बोधन नहुँदा सम्म आन्दोलन जारी रहने उनले बताए ।
मिटर व्याज तथा अन्यायपूर्ण ऋण असुलीबाट पीडित मजदुर तथा किसानहरूले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन यो तेस्रो पटक पैदल यात्रा गरेको मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका प्रवत्ता रिजन राना मगरले बताए।उनका अनुसार फर्जि लिखत तमसुकका आधारमा सर्वसाधारण नागरिकहरुमाथि अत्याचार भएको हुँदा त्यसलाई खारेज गर्न,साहुलाई कार्बाही र पीडितलाई न्याय दिलाउँन कडा कानुनी व्यवस्थाको माग गरिएको, मिटर व्याज विरुद्ध न्यायधिकरण गठनको माग,पीडितबाट साहु महाजनले हडपेको श्रीसम्पती फिर्ता हुनु पर्ने साथै साहु महाजनको अन्यायका कारण सर्वसाधारण नागरिकहरुको ज्यान गुमाउनु परेका कारण उनीहरुको पीडित परिवारलाई क्षतीपुर्ति सहित पुनःस्थापनको जिम्मा लिनुपर्ने र बैकिङ्ग क्षेत्रमा सर्वसाधारण नागरिकहरुको सहज पहुँच पुर्याउनु पर्ने तथा त्यसलाई न्यायपुर्ण आर्थिक कारोबार पुर्याउन आफुहरुले छ बुँदे माग राखिएको छ।संघीय सरकारलाई ध्यानाकर्षण गराएका पीडित मजदुर तथा किसानहरूले वर्तमान सरकारले आफुहरुका माग र समस्यामा चासो नराखेका कारण बाध्य भएर शान्तीपुर्ण रुपमा पैदल यात्रा मार्फत आफ्ना गुनासा सरकारलाई सुनाउने अभियान सुरु गरेको आन्दोलीत मिटर व्याज पीडित किसान मजदुरहरुले बताएका छन् ।
हातमा प्लेकार्ड र ब्यानर बोकेका पीडितहरूले “मिटर व्याज अन्त्य गर”,“पीडितलाई न्याय दे”,“अन्यायपूर्ण ऋण खारेज गर”,“शोषण बन्द गर” “चुपचाप तमसुक च्यात” लगायतका नारा सहित पैदल यात्रा सुरु गरेका हुन। पीडितहरूले वर्षौंदेखि चर्को ब्याजका कारण आफ्नो घरजग्गा गुमाउनु परेको,आर्थिक तथा मानसिक पीडा भोग्नुपरेको र राज्यबाट पर्याप्त सहयोग नपाएको गुनासो गरेका छन्।राज्यले आयोग बनाएको भएपनि मिटर व्याज पीडित किसान मजदुरहरुका सवालमा काम नगरेपछि आफुहरु बाध्य भएर आन्दोलीत हुनु परेको उनीहरुले बताए।दोषीमाथि कडा कारबाही,पीडितलाई न्याय,अनुचित रूपमा कब्जा गरिएका सम्पत्ति फिर्ता तथा पुनःस्थापनाको व्यवस्था माग गर्दै आफुहरुले आन्दोलन गरेको भएपनि सरकार मौन बसेको उनीहरुको आरोप छ ।