सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप,पाँच चिनियाँसहित सात जना घाइते

138 Shares

सिन्धुलीको मरिण गाउँपालिका ४ साहानमा निर्माणाधीन अवस्थामा रहेको हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप भएको छ।झडपमा पाँच जना चिनियाँसहित सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार मरिण गाउँपालिका ६ धमिलेका अन्दाजी वर्ष ३० का नवराज बम्जनलाई कामबाट निकालेको विषयलाई लिएर विवाद सृजना हुँदा दुबै पक्षबीच झडपको हो ।झडपमा मरिण गाउँपालिका ६ धमिले बस्ने अन्दाजी वर्ष ३० का बम्जन घाइते भएका छन्।उनको दायाँ आँखामा र दायाँ खुट्टामा चोट लागेका कारण थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ । 
यस्तै उदयपुरको कटारी नगरपालिका १२ का अन्दाजी वर्ष २२ को गोकर्ण कटुवाल पनि घाइते भएका छन्।उनको टाउकोमा चोट लागेको छ।झडपमा पाँच जना चिनियाँ कामदार घाइते भएका छन्।घाइते हुनेहरूमा हिमालयन फुड कम्पनीमा काम गर्ने अन्दाजी वर्ष ३८ का मिस्टर याङ कानमा,अन्दाजी वर्ष ४५ का याङ हाईबो,अन्दाजी वर्ष ४० का छ्याङ छोङ,अन्दाजी वर्ष ४६ का  चुजेन र अन्दाजी वर्ष ३१ का लेउसेन्सी रहेका प्रहरीले जनाएको छ ।
उनीहरू सबैको प्रायःटाउको र हातमा चोट लागेको छ।घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भईरहेको छ।घटना लगत्तै ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट १० जना र निर्वाचन प्रहरी १५ जना गरी २५ जनाको सुरक्षा टोली परिचालन भएको थियो।थप घटना हुन नदिन थप सुरक्षाकर्मी परिचालन गर्ने र घटनाका बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए ।

सम्बन्धित समाचार