सर्लाहीको चन्द्रनगर गाउँपालिकाका विभिन्न सात राजनैतिक दलहरुले गाउँपालिका अध्यक्षको विरुद्धमा संयुक्त रुपमा शान्तिपुर्ण आन्दोलन सुरु गरेका छन् ।चन्द्रनगर गाउँपालिकाका स्थानीय राजनीतिक दलहरु नेकपा(माओवादी केन्द्र),नेपाली कांग्रेस,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा),जनता समाजवादी पार्टी(जसपा)नेपाल,नेकपा(एकिकृत समाजवादी पार्टी),लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)नेपाल र संयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्चले गाउँपालिका अध्यक्ष राज कुमार महतोको विरुद्धमा शान्तिपुर्ण आन्दोलन सुरु गरेका हुन ।
१५ गाउँकार्यपालिका सदस्यहरु मध्य १२ जना कार्यपालिका सदस्यहरु गाउँपालिकाका अध्यक्ष महतोको विरुद्धमा रहेका छन् भने ३९ गाउँ सभा मध्य ३० जना गाउँपालिका सदस्यहरु गाउँपालिका अध्यक्ष महतोको विरुद्धमा रहेका छन् । ३ जना कार्यपालिका सदस्य र ९ जना गाउँ सभाका सदस्यहरुको साथमा रहेका गाउँपालिका अध्यक्ष महतोले बहुमतलाई वेवास्था गर्दै आफुखुसी निर्णयहरु गर्दै भ्रष्टाचार गर्ने र आफुखुसी निर्णय हुन नपाए कार्यक्रमहरु गर्न नदिने लगायतका काम गरेका कारण आफुहरु चरणवद्ध आन्दोलनमा उत्रिएको नेकपा(माओवादी केन्द्र) चन्द्रनगरका नेता लोकेन्द्र मुखियाले बताए ।
उनका अनुसार १२ जना कार्यपालिका सदस्यहरु र ३० जना गाउँप सभाका सदस्यहरुका साथै गाउँपालिका स्थित रहेको स्थानीय सात राजनीतिक दलहरुले पहिलो चरणमा शान्तिपुर्ण रुपमा रिले अनसन तथा नारावाजी गरेका हुन । गाउँपालिकाका अध्यक्ष महतो नेपाली कांग्रेसबाटै निर्वाचित भएका भएपनि नेपाली कांग्रेस कुनै उक व्यक्तिको पक्षमा नभई जनताका प्रत्यक्ष सरोकारहरुका विषयमा लाग्ने पार्टी भएकाले चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले गरेका गतिविधिहरुको विरुद्धमा उत्रिएको नेपाली कांग्रेस चन्द्रनगर गाउँपालिकाका नेता श्याम प्रसाद सिंहले बताए ।
उनका अनुसार गाउँपालिका अध्यक्ष महतोले बालबालिकाको नाममा गाउँपालिकामा आएको रकम हाल सम्म पनि बालबालिकाहरुको खातामा जम्मा नगरेका,नाडीमन तालमा पानी नभएको समयमा नाडीमन महोत्सवको आयोजना गरि भ्रष्टाचार गर्न लागेका,प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रु ४५ लाख रकमको हाल सम्म पनि कुनै काम नगराएका लगायतका कारण कांग्रेस विरोधमा उत्रिएको हो ।
गाउँपालिका अध्यक्ष महतोले स्वयमसेवक शिक्षक तथा कर्माचारीहरु कार्यविधि तथा प्रक्रिया विपरित भर्ना गर्न खोजेका,गाउँपालिकालाई गैर सरकारी संस्थाको अण्डरमा सञ्चालन गर्न खोजेका,गाउँपालिकाको आन्तरीक राजश्वमा हानी नोक्सानी पुर्याउने गरी गाउँपालिका भित्रका पोखरीहरुको ठेक्का नलगाई आफुखुसी आफ्ना मानिसहरुलाई कमिसन बुझेर गरिखान दिएपछि आक्रोसित भएका नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र),लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) नेपाल,जनता समाजवादी पार्टीं(जसपा)नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)नेपाल,नेकपा(एकिकृत समाजवादी)पार्टी र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चले आपती जनाएको कांग्रेस नेता सिंहले बताए ।
सात दलहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ९० दिन सञ्चालन गर्नु पर्नेमा समय सकिनै लाग्दा पनि काम नगरेका,स्वयमसेवक शिक्षकहरु र कर्माचारीहरु भर्ना गर्नका लागि गाउँपालिकाबाट रु एक करोड निकासी गरिएको भएपनि स्वयमसेवक शिक्षकहरु र कर्माचारीहरु भर्ना नगरेका,गाउँपालिकाको प्रत्यक शाखामा करारमा कर्माचारी नियुक्त गरी आफ्ना आसेपासे कर्माचारीहरु राखी कमिसन उठाउने गरेका,गाउँपालिकाको विकासका लागि आएको बजेटमा रु तीन करोड अनावश्यक कार्यक्रमका लागि गाउँपालिका अध्यक्ष महतोले आफैँले राखेका,कार्यापालिकामा छलफल नै नगराई नाडीमान ताल संरक्षणको काम सुरु गरेका र त्यसबाट निस्केको माटो आफुखुसी विक्रि वितरण गरेका,गाउँपालिकाको जेसिवी चलाएर घण्टाको रु दुई हजार दुई सय हुन आउने राजश्व गाउँपालिकाको राजश्व शाखामा जम्मा नगरेका,प्रदेश र संघबाट प्राप्त भएको बजेटको १० प्रतिशत कमिसन नपाएपछि बजेट फ्रिज गराउने तर काम नगराउने गरेका लगायतका कारण आफुहरु विरोधमा उत्रिएको गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले बताईन ।
उनका अनुसार गाउँपालिका अध्यक्ष महतोले चालु आर्थिक वर्ष सकिनै लाग्दा पनि कमिसन नदिने उपभोक्ता समितिहरुलाई कार्यादेश नदिएका,उपभोक्ता समिति बनाउँदा आफ्ना मान्छेलाई राखी कमिसन उठाउने गरेका जसबाट गाउँपालिका भित्र हुने विकास निर्माणको काम गुणस्तरहिन हुने र गाउँपालिका अध्यक्ष महतोले आफु अल्पमतमा हुँदा पनि दादागिरी गरेका कारण आफुहरुले विरोध गर्नु परेको हो ।
चन्द्रनगर गाउँपालिकाका ७ वटा वडाहरु मध्य पाँच वटा वडा अध्यक्षहरु सहित १५ जना कार्यापालिका सदस्यहरु मध्य १२ जना सदस्यहरु,३९ जना गाउँ सभा सदस्यहरु मध्य ३० जना गाउँ सभा सदस्यहरु र गाउँपालिकाका ७ राजनीतिक दलहरु मिलेर गाउँपालिका अध्यक्ष महतोको दादागिरीका विरुद्ध चरणवद्ध आन्दोलन सुरु गरेको चन्द्रनगर गाउँपालिका ३ का अध्यक्ष सिताराम महतोले बताए ।
चन्द्रनगर गाउँपालिकामा गाउँपालिका उपा अध्यक्ष गितादेवी सहित चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम,वडा नम्बर ६ का वडा अध्यक्ष रामस्वरुप राउत र वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित भएका छन् । भने वडा नम्बर ४ का वडा अध्यक्ष राजिवसिंह दनुवार स्वतन्त्रबाट र वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यवंश राय लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) नेपालबाट निर्वाचित भएका छन् । वडा नम्बर १ का वडा अध्यक्ष रामेश्वर महतो र वडा नम्बर २ का वडा अध्यक्ष शम्भु साह नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन ।सात जना वडा अध्यक्षहरु,गाउँपालिका अध्यक्ष र उपा अध्यक्षका साथै छ जना कार्यापालिका गरी १५ जना कार्यपालिका सदस्य रहेका चन्द्रनगर गाउँपालिकामा उपाअध्यक्ष गितादेवीको नेतृत्वमा १२ जना र गाउँपालिका अध्यक्ष राज कुमारको नेतृत्वमा उनी सहित ३ जना कार्यपालिका सदस्यहरु रहेका छन् ।
गाउँपालिका अध्यक्ष राज कुमारले आफु विरुद्ध कोही कसैले कुरा गरे गाउँका युवाहरुलाई भोज खुवाएर धम्की लगाउने गरेका,वडास्तरमा गएर योजना छनोट गर्न भन्दै रु एक लाख रकम राखेर गाउँपालिका अध्यक्ष राज कुमारले कार्यपालिकालाई थाहै नदिई खर्च गरेका र गाउँपालिकाको विकासका काममा गाउँपालिका अध्यक्ष राज कुमारको ध्यान नगएका कारण आफुहरुले खुलेर विरोध गरेको नेकपा(एकिकृत समाजवादी) पार्टीका नेता भरत साहले बताए ।
गाउँपालिकाले सञ्चालन गरेको चन्द्रनगर पोलिटेक्नीकल इन्स्टिच्युटको पुस्तकालय,प्रयोगशाला,शिक्षक र छात्राबासको व्यावस्थापन गरिदिन विद्यार्थीहरुले पटक पटक आग्रह गर्दापनि ध्यान नदिएपछि विद्यार्थीहरुले गरेको शान्तीपुर्ण विरोधमा गाउँपालिका अध्यक्ष राजकुमारले दादागिरी शैलीमा प्रहरी बोलाई विद्यार्थीहरुमाथी लाडिचार्ज गर्न लगाएका र विद्यार्थीहरुलाई अरुले उस्काएर आन्दोलन गर्न लगाएका भन्दे आफुहरुलाई आरोप लगाएपछि आन्दोलन गर्नु परेको लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) नेपालका नेता महेन्द्र महतो सुडिले बताए ।
नेपली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष राजकुमारले विद्यार्थीहरुले आफुखुसी शान्तीपुर्ण रुपमा आफ्ना अधिकारहरु माग्दा राजनीतिक रंग दिएपछि उनी विरुद्ध आफुहरु लागेको जनता समाजवादी पार्टी(जसपा) नेपालका नेता सुधिर कुमार यादवले बताए । गाउँपालिका अध्यक्ष राजकुमारको समाजिक संजालमा आएका धम्कीपूर्ण पोष्टहरुले चन्द्रनगर पोलिटेक्नीक इन्स्टिच्युटका विधार्थीहरुका साथै स्थानीय जनप्रतिनिधिहरु र स्थानीयबासीमा डर,भय,त्रास उत्पन्न भएको नेपाली कांग्रेसका नेता युवराज देवकोटाले बताए । उनका अनुसार गाउँपालिकाका विकास निर्माणका सवालमा गाउँपालिका अध्यष् राज कुमारले गरेका कामहरु गलत रहेका कारण पनि आफ्नै पार्टी कांग्रेसले पनि साथ दिने अवस्था नआएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमारको समाजिक संजालमा विभिन्न किसिमका धम्कीपुर्ण पोष्टहरु आउनुका साथै गाली गलौज र विभिन्न राजनीतिक दलहरुका साथै जनप्रतिनिधिहरु माथी लगाइएको आरोपहरुका विषयमा प्रमुख जिल्ला अधिकारी इनद्रदेव यादव,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीलाई समेत जानकारी गराएको गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवीले बताईन ।
यता,आफुहरुमाथी लगाएको आरोपमा कुनै सत्यता नरहेको जनताको विकास समृद्धिको यात्रामा अवरोध ल्याउने गरी गरिएको कथित आन्दोलन रहेको गाउँपालिका अध्यक्ष राजकुमारले बताए । उनले यस प्रकारका भ्रामक,कपोकल्पीत र निराधार कुरामा पछि नलाग्न पनि आफुहरुले विभिन्न माध्यामहरुबाट स्थानीयलाई जानकारी गराएको बताए । गाउँपालिका उपा अध्यक्ष गितादेवी सहित कार्यपालिकामा आफ्नो बहुमत रहेको दम्भका कारण गाउँपालिकाको विकास निर्माणका काममा प्रभाव पार्ने कथित आन्दोलन रहेको र यसबाट उनीहरुले केही लाभ लिन खोजेका गाउँपालिका अध्यक्ष राजकुमारले बताए ।चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधिहरुको राजनीतिक खिचातानीका कारण विकास निर्माणका कामहरु ठप्प भएका छन् भने असार २ गतेबाट गर्ने भनिएको बालिका सम्मेलन तथा नाडमिन महोत्सव अन्यौलमा परेको छ ।