शंखर पहाडी(गौरब)
रौतहटको चन्द्रनिगाहपुर–गैँडाटार जोड्ने चाँदी नदीको पुल निर्माणमा ढिलाइ भएको भन्दै रिले अनसनमा बसेका स्थानीयले ठेकेदार र सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरका प्रमुखमाथि हातपात गरेका छन् । ठेक्का कबुल गरेको तीन वर्ष भित्रमा पुल निर्माणको काम सकिन्नु पर्नेमा ७ वर्ष हुँदासम्म पनि पुल निर्माणको काम नसकिएपछि रिले अनशनमा बसेका स्थानीयले सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरका प्रमुख डिई दरोगा प्रसाद साह,ठेकेदार दयाराम साहमाथी हातपात गरेका हुन ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा,ठेकेदार दयाराम,प्रतिनिधि सभा सदस्य देवी प्रसाद तिमल्सिना र नेकपा(एमाले)का नेता उद्धव रेग्मी सहितको टोली अनशन स्थलमा पुगेका थिए । सोही क्रममा अनसनरत स्थानीयले ठेकेदार दयाराम र डिई दरोगा माथि हातपात गरेका हुन ।
तीन बर्षम सक्नुपर्ने काम सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीको लार्पबाहीका कारण सात बर्षमा पनि नबनेको भन्दै स्थानीयले निर्माणाधिन पुल मुनी चार दिन देखी रिले अनशन सुरु गरेका थिए ।
विभिन्न दलका नेताका साथै प्रहरी प्रशासनको साथमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा र ठेकेदार दयाराम स्थानीय रिलेअशन बसेको स्थालमा पुगेपछि आक्रोसित स्थानीयले हातपात गरेको चन्द्रपुर नगरपालिका ३ का वडाअध्यक्ष बोधनाथ देवकोटा(रवि)ले जानकारी दिए ।
उनका अनुसार उक्त पुल निर्माणको जिम्मा पप्पु शिवशंकर जेभीले पाएको थियो। चार सय ६९ मिटर लम्बाइ र साढे ७ मिटर चौडाइ रहेको पुलमा ११ ओटा स्पाम रहेका छन् । पुल दुईपटक म्याद थप गरेर २०७६ असारमा सम्पन्न गर्ने सम्झौता भएको भएपनि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा र ठेकेदार दयाराम विच राम्रो मिलेमतो हुँदा फेरी पहिलो चरणमा डेढ वर्ष तथा पछिल्लो समयमा ६ महिनाका लागि म्याद थप भएको हो।
पटक–पटक म्याद थप भए पनि पुल निर्माणको काम करिब ७० प्रतिशत मात्रै भएको स्थानीयले बताएका छन् । निर्माण कम्पनीको चरम लापरबाहीले समयमा पुल निर्माण सम्पन्न हुन नसकेको गैँडाटारका लालबहादुर दोङले बताए। उनका अनुसार निर्माण कम्पनीले प्रतिबद्धतानुसार काम नगरेको र अझै चारवटा स्पाम ढलान बाँकी रहेको छ। निर्माण कम्पनी तथा डिभिजन सडक कार्यालयलाई पटक–पटक ताकेता गरेपछि काम सुरु गरे पनि सुस्त गतिमा भइरहेको चन्द्रपुर नगरपालिका–३ का गोविन्द तिमल्सिनाले बताए।
पप्पु शिवशंकर जेभीले रु २२ करोड ४४ लाखमा पुल निर्माणको जिम्मा पाएर २०७३ पुसदेखि काम शुरु गरेको निर्माण कम्पनीका ठेकेदार दयारामप्रसादले बताए। उनका अनुसार कोरोना महामारी,निर्माण सामग्रीको अभाव,बजेट जस्ता विविध कारणले निर्माणमा ढिलाइ भएको हो ।
पुल नबन्दा चाँदी खोलाले बगाएर हरेक वर्ष स्थानीयले ज्यान गुमाउने गरेका छन् ।‘वर्षाको समय आयो पुल बनेन्। त्यसैले हामीले रिले अनशन थालेका हौँ’,तिमल्सिनाले भने। रिले अनसनमा बसेका स्थानीयले ठेकेदारसँग मिलेमतो गर्ने चन्द्रनिगाहपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख र साइड इन्जिनियरको सरुवाको माग गरेका छन्।