मधेशका इँटा उद्योगलाई पुस मसान्तसम्म इँटा पोल्न रोक

448 Shares

सर्लाही सहित मधेश प्रदेशका जिल्लाहरुमा संचालित इँटा उद्योगलाई पुस मसान्तसम्म इँटा पोल्ने कार्य रोक्न उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशले परिपत्र गरेको छ ।इँटा उद्योगबाट हुने प्रदुषण नियन्त्रण गर्न एवम कामदारको स्वास्थ्यलाई समेत ध्यान दिई प्रत्येक वर्षको पुस मसान्तपछि मात्रै इँटा पोल्ने काम गर्न उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशको पत्रमा भनिएको छ ।
इँटा उद्योगले हिउँदको समयमा धमाधम काँचो इँटा बनाएर पकाउने अर्थात् आगोमा पोल्ने काम सुरु गर्छन।सरकारले नै तत्काल इँटा पोल्ने काम रोक्न भनेपछि इँटा उद्योग पछि हटेका छन्। सर्लाहीमा १३ वटा उद्योगले इँटा पोल्न सुरु गरिसकेका सर्लाही इँटा उद्योग व्यवसायी संघका सचिव भगवान मैनालीले बताए ।उनका अनुसार जिल्लाका इँटा उद्योगी र  सुरक्षा अधिकारीलगायत सरोकारवालाहरु बिच बैठक बसेर सरकारले गरेको आग्रह आफुहरुले स्वीकार गरेको उनले बताए ।
इँटा पोल्न सुरु गरिसकेका इटा भट्टालाई सञ्चालन हुन दिने र अन्यले भने माघ लागेपछि मात्रै इँटा पोल्न सुरु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी एवम सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताए।उनका अनुसार आगो झोसेर इँटा पोल्न सुरु गरिसकेका उद्योगलाई इँटा पोल्न रोक लगाउन समस्या पर्ने भएकाले चलिसकेकालाई चल्न दिने निर्णय गरिएको हो ।
सर्लाहीमा ६० भन्दा बढी इँटा उद्योगले यो वर्ष इँटा निर्माण गर्ने तयारी गरेका छन् ।उद्योगले अहिले कामदारलाई काँचो माटो तयार पारेर इँटा बनाउने काममा लगाइरहेका छन्।पुस मसान्तसम्म इँटा पोल्न नपाउँदा वर्षा भएको खण्डमा अहिले तयार पारिरहेको काँचो इँटा नष्ट हुने डर सिर्जना भएको संघका सचिव मैनालीले बताए। तर चलिसकेका इँटा उद्योगलाई चल्न दिने र इँटा पोल्न सुरु नगरेका उद्योगलाई बन्द नै गराइराख्ने निर्णयले भने अन्याय हुने उनले गुनासो गरे ।
घरेलु तथा साना उद्योग कार्यालय मलंगवालाई मन्त्रालयबाट प्राप्त पत्रमा परम्परागत प्रविधियुक्त इँटा उद्योग आगामी दिनमा दर्ता नगर्ने र हाल सञ्चालनमा रहेका यस्ता उद्योगलाई प्रदुुषण कम हुने र कामदार पनि सुरक्षित रहने हिसाबले सञ्चालनको वातावरण सिर्जना गर्न भनिएको  कार्यालय प्रमुख संजिव दुवेले बताए ।

सम्बन्धित समाचार