लालबन्दी–१४ का जुम्ल्याहा दाजुभाई सहित करिब आधा दर्जन अझै वेपत्ता

94 Shares

सर्लाहीको लालबन्दी नगरपालिका –१४ नारायणखोला माइस्थानका जुम्ल्याहा दाजुभाई भोटेकोशीको बाढीमा परेर सम्पर्कविहीन भएका छन्। मजदुरका लागि भनी साउनमा मात्रै रसुवाको टिमुरे गएका अन्दाजी ३४ वर्षीय जयबहादुर गोले र मानबहादुर गोले जुम्ल्याहा दाजुभाईसहित सँगै गएकी काकाकी छोरी अन्दाजी ३६ वर्षीया सुमित्रा गोले( सुस्मिता) समेत सम्पर्क विहीन भएकी लालबन्दी नगरपालिका–१४ का वडाअध्यक्ष छेनाम सिहं घिसिङले जानकारी दिए ।उनका अनुसार परिवारले तीनै जनाको खोजी गरिदिन माग गर्दै इलाका प्रहरी कार्यालय लालबन्दीमा निवेदन समेत दिएका छन् ।
एक महिनाअघि मात्र काम गर्न रसुवा पुगेका तीनै जना सम्पर्क विहीन भएपछि आर्थिक अवस्था कमजोर रहेको र ठाउँसमेत दुर्गम पर्ने भएकाले खोज्न कहाँ जाने भनेर मेलोमेसो नपाउँदा उनीहरुको परिवारमा रुवावासी भएको वडाध्यक्ष घिसिङले बताए।यसका साथै,सर्लाहीका अन्य ठाउँका सम्पर्कविहीन व्यक्तिका परिवारका सदस्य तथा आफन्तहरु सम्पर्क विहीन व्यक्तिको अवस्था बुझ्न र खोजी कार्यमा सहयोग गरिदिन आग्रह सहित बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
सर्लाहीका सम्पर्क विहीनमध्ये एउटै गाडीमा रसुवाको गोसाइकुण्ड प्रस्थान गरेका लालबन्दी नगरपालिका–५, मेजरगन्जका चिरन्जीवी खतिवडा,कृष्ण धमला,द्धारिका दङ्गाल सहित लालबन्दी नगरपालिका–९ बस्तीपुरका माधव काफ्ले र उनका छोरा अनुज काफ्लेको अवस्था हाल सम्मपनि सम्पर्क विहीन नै छ। उनीहरु पाँच जनासहित जिल्लाका बेपत्ता अन्य व्यक्तिका परिवार,आफन्त र गाउँलेमा निरन्तर रुवावासी चलिरहेको छ।भोटेकोशी बाढीमा परेर सर्लाहीका कतिजना बेपत्ता भएका छन् भन्ने एकीन विवरण आउन सकि रहेको छैन् ।

सम्बन्धित समाचार