पुर्वाधार विकास कार्यालय सर्लाहीका सव इन्जिनियर प्रमोद कुमार यादवको हत्यामा संलग्न आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।मलंगवा नगरपालिका १० मा डेरागरी बस्ने सिरहाको सुखीपुर नगरपालिका ९ बैशाखाका अन्दाजी ३६ वर्षीय सव ईन्जिनियर यादवलाई फागुन ३ गते आईतबार साँझ करिब ७ बजेर ५५ मिनेटमा बाहिर बोलाएर अज्ञात समुहले गोली प्रहार गर्दा उनको ज्यान गएको थियो ।
त्यसपछि प्रहरीले हत्याराहरुको खोजी गर्ने क्रममा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ घर भई हाल सर्लाहीको बहरथवा नगरपालिका ९ शान्ति टोलमा भाडामा बस्दै आएका रामनगर गाउँपालिकाका करारका प्राविधिक सहायक अन्दाजी ३४ वर्षीय गणेश कुमार महतो,उनको सालो सर्लाहीको बसबरिया गाउँपालिका २ का अन्दाजी २२ वर्षीय चन्द्र किशोर सिंह कुशवाहा र उनका भाइ अन्दाजी २२ वर्षीय विजय कुमार महतो रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
सव इन्जिनियर स्व.यादव प्रदेश लोकसेवा आयोग,मधेश प्रदेश, जनकपुरधामबाट २०८१ फागुन ४ गते सहायक पाँचौ तहको सव इन्जिनियर पदमा सिफारिस भएका थिए भने महतो एक मात्र बैकल्पिक उम्मेदवार रहेको खुलेको छ ।
परीक्षणकालको एक दिन मात्रै बाँकी रहेको समयमा सव इन्जिनियर यादवको हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।यादवको मृत्यु भएपछि आफू स्वतःउक्त पदमा जागिर पाउने लोभमा महतोले यादवको हत्या गरेको प्रहरीले जनाएको छ।महतो पटक पटक बैकल्पिक उम्मेदवार हुँदै आएका थिए।उमेर हदका कारण जागिर नहुने छाँटकाँट देखेपछि यादवको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीहरुलाई सर्लाही र महोत्तरीका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादव र महतो दुबै जना एउटै क्षेत्रका प्राविधिक रहेकाले समय समयमा कुराकानी हुने गरेको भएपनि महतोले अफ्नो नाम राकेश यादव भएको बताउँदै आएका थिए। महतो र सिंह बिआर ०१ एफजेड १०८२ नम्बरको भारतीय मोटरसाइकलबाट मलंगवा आएका र यादवको डेरा नजिक पुगेर ह्वाटसएपबाट फोन गरेर यादवलाई बाहिर बोलाई हत्या गरेको प्रहरीले जनाएको छ ।सिंह महतोसँग हत्या गर्न मलंगवा आएको र विजयले हतियार उपलब्ध गराएको खुलेको प्रहरीले जनाएको छ।घटनामा प्रयोग भएको मोटरसाइकल प्रहरीले रौतहटको गढीमाई नगरपालिका ५ बलुवाबाट बरामद गरेको थियो ।
गोली प्रहार गरेर भागेका महतोले हतियार घटनास्थलबाट केही मिटर उत्तर मलंगवा नगरपालिका ४ स्थित निर्माणाधीन हनुमान मन्दिरको छेउमा फालेका थिए ।घटना भएको चार दिनपछि उक्त हतियार स्थानीय बच्चाले फेला पारेर चलाउँदा उनीपनि घाईते भएका छन् । घटनामा संलग्नलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको शुक्रबार भएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए ।
नेपाल भारत खुल्ला सीमानाका कारण मधेशका जिल्लाहरुमा भारतिय सवारी साधनहरुका साथै अपराधिक गतिविधि गर्ने नियत भएका मानिसहरुको हसजै आवत जावत हुने र उनीहरुबाटै धेरै अपराधिक गतिविधिहरु हुने गरेका जानकारहरु बताउँछन्।खुल्ला सीमानाका कारण साना हात हँतियारहरु सहजै नेपाल प्रवेश गर्ने र त्यसबाट गैर कानूनी गतिविधिहरु हुने गरेका छन् ।तर पछिल्लो समय सर्लाही प्रहरीले सक्रियता देखाउँदा त्यस प्रकारका कार्यमा संग्लग्नहरु धमाधम पक्राउ परि रहेका छन् ।