नेपाल भारत सिमा क्षेत्र अन्र्तगत सर्लाहीमा सादा पोशाकमा प्रहरी परिचालन गरी असुली संकलनको काम सुरु भएको पाइएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीमा केही समय पहिला प्रमुखको रुपमा सरुवा भई आएका योगेन्द्र कुमार खडकाले असई राम प्रवेश यादवको नेतृत्वमा घुमुवा परिचालन गरि असुली सुरु भएको पाइएको छ।प्रहरी संगठनको आचरण र चेनअफ द कमाण्डमा कार्यालय सञ्चालन गर्न नसकेका प्रहरी उपरिक्षक खड्काले असई यादवलाई ईलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत रहेको देखाएर असई यादवलाई सादा पोशाकमा परिचालन गरी असुली सुरु भएको पाइएको छ ।
केही दिन अगाडि सम्पन्न मधेश प्रदेश सुरक्षा गोष्ठीमा तराईका आठ जिल्लाबाट व्यापक मात्रामा अवैध ओसार पसार भएको विषयले चर्चा पाए पनि गृहमन्त्री रमेश लेखक आफैं भिजिट भिसा काण्डमा फसेकाले प्रभावकारी निर्देशन हुन नसकेको भनिएको भएपनि नेकपा(एमाले)नेता रघुवीर महासेठले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआईजी उमा प्रसाद चर्तुवेदीलाई र डिआईजी चर्तुवेदीको ठाडो निर्देशनमा प्रहरी उपरिक्षक खड्काले सई साहलाई ईलाका प्रहरी कार्यालय बलरा पठाएका प्रहरी स्रोतको दाबी छ ।
विभिन्न दल र नेताको शक्ति प्रयोग गरेर आफुले चाहेको ठाउँमा सरुवा मिलाएर असुली मच्याउने गरेका पाइएको छ ।जसको फाइदा उठाउँदै सर्लाही प्रहरीले निरन्तर तस्करी लाइन बाँडेर अवैध व्यापारलाई प्रोत्साहन दिइरहेको प्रहरी स्रोतको दाबी छ।प्रहरी उपरिक्षक खड्काले खासै धेरै मेलोमेसो नपाएकै बेला पुरानो सिस्टममा चलखेल गरिरहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक खड्कालाई कमाण्डर समेत नमानि तस्करी एवम अवैध धन्दालाई प्रोत्साहन गरिरहेको प्रहरी स्रोतले दाबी गर्छ ।
खुरापाती गर्न सिपालु मानिएका प्रहरी नायव उपरिक्षक राईकै सल्लाहमा प्रहरी उपरिक्षक खड्काले हो मा हो मिलाउँदा सर्लाही यतिबेला तस्कर,जुवा अड्डा र अवैध क्रसरका कारण बदनाम हुन थालेको छ।प्रहरी नायव उपरिक्षक राईले आफ्नो अलग्गै घुमुवा परिचालन गर्ने अनि प्रहरी उपरिक्षक खड्काले दुई तीन टोली घुमुवा परिचालन गरी असुली धन्दा चलाएका पाइएको छ ।
अघिल्ला प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहको सरुवा पछि उनले खटाएका घुमुवालाई हेडक्वार्टरको उजुरी छानविनले असई तेजनारायण यादव र प्रहरी जवान मुकेश गुप्तालाई तानेर १ नं.गणमा थन्क्याएपछि वरिष्ठ सई कलम बहादुर शाहीको नेतृत्वमा एउटा क्राइम टोली परिचालित छ भने फरार प्रतिवादी खोज्ने फैसला कार्यान्वयन शाखामा काम गरेको देखाएर घुमुवाका रुपमा पैसा असुली धन्दामा प्रहरी हबल्दार रामसेवक ठाकुर,राजीव पटेल र प्रहरी जवान मजरुल होदाको टोली असुलीमा व्यस्त रहेको बुझिएको छ ।
हालसालै नौ वटा चौकीका इन्चार्ज परिवर्तन गरिएको र प्रत्येकबाट प्रहरी नायव उपरिक्षक राईले ५० देखि रु एक लाख अग्रिम उठाएका र सो विषयमा बाहिर हल्ला भएपछि हबल्दार ठाकुरलाई ईलाका प्रहरी कार्यालय केशरगन्ज पठाएर पूर्वी क्षेत्र हेर्ने जिम्मा लगाइएको प्रहरी स्रोतको दाबी छ ।त्यस्तै असई मनोज यादव र रामप्रवेश यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले बोलाएको भएपनि उनीहरु डिआईजी चर्तुवेदीको आदेश अटेर गरी रहेका छन् ।उनीहरुले गृहमन्त्री,आईजीपी,डीआईजीदेखि सबैको आर्शीवाद छ,ढुक्क भएर काम गर्नुस्,कसैले केही गर्दैन भन्दै तस्करहरूलाई आफैले उक्साउने गरेका समेत पाइएको छ ।जिल्लाका विभिन्न नाकाहरुबाट कवाड,मकै,स्याउ,चिनी,खाद्यान्न,लसुन,किरानाका सामानहरुका साथै मलखाद देखि कस्मेटिक र विभिन्न किसिमका सामानहरु भन्सार छली चोरी तस्करी गरी नेपाल भित्रने गरेको छ ।
मोटरसाइकलमा तथा पिकअपमा तस्करीका सामान सुरक्षाकर्मीहरु कै मिलेमतोमा ओसार पसार हुने गरेको छ।सोही नाकाबाट ठूलो मात्रामा बालुवा गिट्टी ट्याक्टर मार्फत भारततर्फ निकासी गर्ने तथा भारतमा प्रतिबन्धित नेपाली विदेशी एवम लोकल मद्यिरा समेत पिकअप मार्फत भारत जाने गरेको छ ।तस्करीबाट मात्र नेपाल प्रहरीलाई मासिक करिब २० लाख सम्म संकलन हुने गरेको पाइएको छ ।