लालबन्दी र इश्वरपुर जोड्ने रामपुरको पुल वर्षापछि आएको बाढीले कटान गरेपछि जोखिममा

51 Shares

सर्लाहीको लालबन्दी र इश्वरपुर नगरपालिकाको सिमाना स्थित रहेको फुलजोर खोलामा निर्माण गरिएको पुल लगातारको वर्षापछि आएको बाढीले कटान गरेपछि जोखिममा परेको छ ।लालबन्दी नगरपालिका ३ स्थित फुलजोर खोालमा निर्माण गरिएको पुलको दायाँबायाँको सडक कटान गरेपछि पुल जोखिममा परेको हो ।
लालबन्दी नगरपालिका ३ जब्दी र ईश्वरपुर नगरपालिका ८ रामपुरलाई जोड्ने फूलजोर खोलाको पुल लगातारको बाढीका कारण सडकको दुवै तर्फ कटान गरेपछि जोखिममा परेको इश्वरपुर नगरपालिका ८ का वडा अध्यक्ष श्याम बहादुर थापाले जानकारी दिए । उनका अनुसार निरन्तरको वर्षापछि खोलामा आएको बाढीले पुलको जब्दी र रामपुर दुवैतर्फको भागमा सडक बगाएर ठूलो भ्वाङ पारेको पुलमा बारम्बार क्षति पुर्याएको छ ।
थोरै मात्र बाँकी रहेको सडकबाट जोखिमपूर्ण किसिमले सवारी साधन वारपार गरिरहेका लालबन्दी नगरपालिका ३ का वडा अध्यक्ष वुद्धदेव चौधरीले बताए ।उनका अनुसार दुई वर्षअघि नै निर्माण पूरा भएको यो पुल ठेकेदारबाट अझै हस्तान्तरण भएको छैन्।सडक दायाँबायाँ दुवैतर्फको सडक समेत कालोपत्रे गर्ने भनिए पनि माटो र गिट्टी हुरेर कच्ची सडक बनाएर ठेकेदार नै फरार भएका वडाध्यक्ष चौधरीले बताए । 
पुलको अवस्था दयनीय बनेको बारे सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरमा लिखित रुपमै जानकारी गराइ सकिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले बताए ।उनका अनुसार मंगलबार मात्रै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको टोली आएर कटान भएको पुलको निरीक्षण गरेर फर्किएको छ ।
फूलजोर खोलामा पक्की पुल निर्माण भएपछि बाढीमा हेलिएर वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएपछि खुसी भएका स्थानीय अहिले पुलको दुवैतर्फको भाग कटान गरेर जोखिममा परेपछि फेरी निराश बनेका छन््। निर्माणाधीन अवस्थामै खोलाले बगाउने,ठेकेदार बारम्बार बेपत्ता हुने जस्ता समस्या झेलेर जसोतसो पुल निर्माणको काम पूरा गराए पनि अहिले बाढीले पुनःपुलको दुवैतर्फ कटान गरेपछि चिन्ता लागेको स्थानीय जनप्रतिनिधिहरुले बताए ।

सम्बन्धित समाचार