पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या उनकै भान्सेबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।विगत १० वर्षदेखि पूर्व राज्यमन्त्री रायको उनैका लागि भान्सा लगायतमा सहयोगीको रुपमा काम गर्दै आएका २५ वर्षीय राम उजैन रायले नै हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीमा पत्रकार सम्मेलन गरेर प्रहरीले अनुसन्धानका क्रममा घटनाबारे हालसम्म भएका प्रगती विवरण र नियन्त्रणमा लिएका दुई जना मानिसहरु सार्वजनिक गरेको छ ।नियन्त्रणमा लिएका दुवैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धामा सर्लाही जिल्ला अदालतबाट सोमबार नै १० दिनको म्याद लिएर थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए ।उनका अनुसार चन्द्रनगर गाउँपालिका १, रतनपुर निवासी ४६ वर्षीय वीरेन्द्र राय पुर्व राज्य मन्त्री रायका भान्से रहेका समेत प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका वीरेन्द्र र पूर्व राज्यमन्त्री रायको जग्गाका सिमाना जोडिएको छ ।पूर्व राज्यमन्त्री रायले आफ्नो जमिन मिचेर घर बनाएको तथा अन्य थप जग्गाहरु पनि मिचेको भन्ने आधारमा हत्या योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।१ महिनाअघि कविलासीका राम उजैनसँग मृतक रायको जमिनको नक्शा मगाएर वीरेन्द्रले फोटो भिडियो समेत खिचेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ।
प्रहरीका अनुसार वीरेन्द्रले घटना हुनु केही दिनअघि मात्र पूर्व राज्यमन्त्री रायको हत्या गरे नगद रु दुई लाख दिने र व्यवसाय गर्न फर्म समेत बनाईदिने आश्वासन दिएर फर्काएपछि आफूले हत्या गरेको राम उजैनले बयान दिएका प्रहरीले जनाएको छ ।पूर्व राज्यमन्त्री रायका अगाडी बोल्न नसक्ने भएकाले उनको हत्या गरेपछि छोराहरु बाहिरै बस्ने भएकाले कोही आफन्त नआउने आँकलन गर्दै मिचिएको भनिएको जग्गाजमिन निकाल्न सकिने आशा सहित हत्या योजना बनेको अभियुक्तद्वयले दिएको बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।
उनका अनुसार वीरेन्द्रको उक्साहट र प्रलोभन दिएपछि हत्या भने राम उजैन एक्लैले पूर्व राज्यमन्त्री राय निदाएको मौका छोपेर गत साउन ७ गते मध्यरातमा हत्या गरेका वयानबाट खुलेको छ।पुर्व राज्य मन्त्री रायको फर्सा (दबिया)ले टाउकोमा प्रहार गरी हत्या गरिएको थियो ।घटनाबारे राती पौने १ बजे राम उजैनले नै राती ईलाका प्रहरी कार्यालय केशरगंज बयलवासलाई र गाउँलेहरुलाई खबर गरेर घटनाबारे जानकारी दिएका थिए।यसअघि राम उजैनले प्रहरीलाई घटना भएको राती ९ बजेतिर अन्य तीन जना नचिनेका मान्छे आएपछि आफू सुत्न एक तले घरको छतमा गएको र मध्यरातमा उठेर हेर्दा पूर्व राज्यमन्त्री रायको हत्या भएर मृत अवस्थामा देखेको बताएका प्रहरीले जनाएको छ।साउन ८ गते बिहान धनुषाको ढल्केबरबाट ल्याईएको कुकुरले घटनास्थलभन्दा २५ मिटर पर बाँसको झ्याङबाट रगत तथा कपाल लागेको अवस्थामा फलामको धारिलो हतियार फर्सा पत्ता लगाएको थियो ।
घटना लगतै राम उजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाउँदा निरन्तर बयानमा कुराहरु बाझेपछि पोलिग्राफ मेशिनबाट उनी सहित अन्य केही व्यक्तिहरुको बयान समेत परिक्षण गराईएको प्रहरी उपरीक्षक सिंहले बताए। घटनाको तेस्रो दिनपछि मात्र पूर्व राज्य मन्त्री रायको हत्या गर्दा राम उजैनले लगाएको सेतो गञ्जी च्यातेर ३ वटा पोको पारेर बारी छेउको बाटोतर्फ फालिएको अवस्थामा प्रहरीले बरामद् गरेको थियो।त्यसपछि भने प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्या राम उजैनले नै गरेको एकीन सहित थप अनुसन्धान अगाडी बढाएको हो ।जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीका सुरक्षा अधिकारीहरुका अलाबा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी निरीक्षक मोहन यादवको टोली,केन्द्रीय अनुसन्धान ब्यूरोको टोली समेतले सुंयुक्त रुपमा घटनाको अनुसन्धानमा सुरु गरेको थियो ।