बाल्यकालमै टुहुरा बनेका आईएमई ग्रुप अफ कम्पनीका अध्यक्ष चन्द्र कार्गाेदेखि आईएमइ सम्म,देशदेखि विदेश सम्म

429 Shares

बागलुङको अमला चौरको एउटा सामान्य परिवारमा जन्मिएका आईएमई ग्रुप अफ कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकाल करिब ४३ वर्ष पहिले बाल्यकालमै बुबा गुमाए पछि रित्तो हात काठमाडौं छिरेका थिए।खेतीपाती गरेर जसोतसो दैनिकी चलिरहेको परिवारका श्रीमती र चार छोराछोरीको जिम्मेवारी धान्दै आएका घरमुलीको अकस्मात निधनले ढकाल परिवार गम्भीर शोकमा डुब्यो । 
घर धान्दै आएका घरमुलीको निधनपछि परिवारको जिम्मेवारी बाल्यकालमै जेठो छोराको रूपमा कलिलो उमेर,त्यसमाथि आमा,एक भाइ र दुई बहिनीको जिम्मेवारी ढकालले सम्हाल्नु पर्ने अवस्था आयो ।कलिलो उमेर,आमा,एक भाइ र दुई बहिनी सहित घरमुलीको जिम्मेवारी सम्हालेका स्कुले विद्यार्थी ढकाल केही विचलित हुन पुगे ।एसएलसी दिने तयारीमा रहेका ढकाल स्कुले ठिटोलाई घर–व्यवहारका थाहै थिएन् ।एक्कासि घरको सबै जिम्मेवारी काँधमा आउँदा ढकाल केही विचलित हुनु अस्वाभाविक पनि थिएन,तर, मन दह्रो बनाएर आफूलाई सम्हालेर श्रीमान् गुमाएकी आमा र टुहुरा भाइबहिनीका अगाडि ढकालले आफूलाई गल्न दिएनन् तर, उनको मन पनि कहाँ मान्थ्यो र ? एक्लै भएको मौका छोपेर लुकीलुकी धेरै पटक रुन्थे तर आमा र भाइबहिनीका अगाडि कहिल्यै आँखामा आँशु देखाएनन् ।“घरको जिम्मेवारी काँधमा लिएको जेठोबाठो सन्तानले पनि साना भाइबहिनी झैं गल्ने हो भने परिवार धान्न सकिँदैन,परिवार अगाडि बढाउन सकिँदैन”भन्ने ढकाललाई राम्रोसंग थाहा थियो ।
“आमा,तपाईंहरू नआत्तिनुस्,म छु,भाइबहिनीको ख्याल गर्नुहोला,अब म काठमाडौं जान्छु,पढ्दै जागिर पनि खान्छु,परिवार पाल्छु।”एसएलसी दिएपछि ढकालले भने,भाइबहिनी र घर विधुवा आमाको जिम्मेवारीमा छाडेर १६ वर्षे ठिटो बागलुङबाट काठमाडौं छिरेका थिए।करिब४२ वर्ष पहिला आमा र भाइबहिनीले भारी मन गरेर ढकाललाई बिदाइको हात हल्लाए ।विधुवा आमा,टुहुरा भाई बहिनिलाई घरमा छाडेर भारी मन लिएरहिडेका ढकाल काठमाडौं त आइपुगे,तर खाने–बस्ने ठेगान छैन।न नातागोता छन्,न साथीभाइ।भाइबहिनीलाई राम्रो शिक्षा दिलाउने र आमालाई सुखसँग पाल्ने एकमात्र उद्देश्य बोकेर राजधानी छिरेको आलारे ठिटो केही समय काठमाडौंमै हरायो ।
काठमाण्डौँ छिरेपछि पनि केही समय अनेक हन्डर,ठक्कर र सास्ती खेपेपछि त्यो ठिटोको एकदिन भाग्य खुल्यो।“कोही नहुनेको आखिर भगवान् हुने रहेछन्,भन्ने कतै सुनेका उनलाई साँच्चै भगवान् रहेछन् भन्ने आभाष भयो ।धेरै मिहिनेत र संघर्षपछि त्यही ठिटो “ढकाल”ले राष्ट्रिय वाणिज्य बैंक लि.मा जागिर पायो। वाणिज्य बैंकको सबैभन्दा तल्लो तहको त्यो जागिर खाँदा महिनाको रु पाँच सय तलब आउने गर्दथ्यो।तथापी पनि ढकाल हर्षले प्रफुलित भए । आँखाको डिलमा आएका खुसीका दुई थोपा आँसुलाई रोक्न सकेनन्।जागिर पाएको दिन खुसीले रातभरि निदाउन पनि सकेनन्।“अब मेरो परिवारको दुःखका दिन सकिए।आमालाई सुखसाथ पाल्छु,भाइबहिनीलाई राम्रोसँग पढाउँछु, मिठो मसिनो खान पनि सजिलो हुने भयो।”ढकालको मनमा भयो ।
त्यसपछि ढकालको जीवनले एउटा लय समात्यो।उनी वाणिज्य बैंक लि.को जागिरमा दत्तचित्त भएर लागे।डेराबाट न्युरोड विशाल बजारस्थित वाणिज्य बैंक लि.सम्मको दुईतर्फी यात्रामा उनी केही वर्षदेखि हिँडिरहेका थिए ।त्यो बेला नेपालबाट विदेशमा गलैंचा (कार्पेट)निर्यात गर्ने लहर चलेको थियो।त्यस्ता निर्यातकर्ता व्यापारीहरू ढकाल काम गर्ने वाणिज्य बैंक लि.मा ऋण लिन आइरहन्थे।तीमध्ये केहीसँग ढकालको कुराकानी हुन थाल्यो।बिस्तारै मित्रता बढ्दै गयो ।
ढकाल एकदिन डेराबाट अफिस जाँदै थिए,अकस्मात् उनको मनमा“अब यसरी जागिर मात्र खाएर जीवनमा प्रगति गर्न सकिँदैन,बरु व्यापार गर्नुपर्छ”भन्ने सोच पलायो ।सोच आएपनि  व्यापार गर्नलाई उनीसंग पैसा थिएन् ।यसै पनि सामान्य आर्थिक अवस्था भएको परिवार जसले केही वर्षअघि परिवार धानिरहेका घरमुली गुमाएको थियो।त्यसबाट बल्ल–बल्ल प्राण पाएको परिवार ढकालको जागिरकै कारण जेनतेन चलिरहेको थियो।भाइबहिनी स्कुल पढिरहेका थिए।आमा बनीबुतो गरेर घर धानिरहेकी थिइन् ।
बुबाको अकस्मात् निधनपछि “शोकलाई शक्तिमा बदल्न”सिकेका ढकाललाई व्यापार गर्न पैसा कसरी जोहो गर्ने भन्ने हुटहुटी जाग्यो।जागिर खान गइरहेका बेला मनमा उठेको “व्यापार नगरी प्रगति हुँदैन”भन्ने सोचलाई मूर्तरूप दिन ढकालले धेरै दिमाग घुमाए।धेरै सोचे तर आर्थिक अभामका अगाडि उनको सोचको केही सिप लागेन ।हार मान्नै आँटेका उनी आखिर,गर्ने चाहिँ के हो?के गरेर व्यापार गर्ने सानोतिनो पूँजी जुटाउन सकिएला? लगायतका अनेकथरी सोच्दा सोच्दै रातभरि निदाउन पनि सक्दैन थिए।बैंकमा ऋणका लागि आइरहने कार्पेट निर्यातकर्ता व्यापारीहरुसंग ढकालको मित्रता भएको थियो, तिनल“व्यापार थाल्नुस्,हामी सहयोग गर्छौं”भनेको ढकालले भुलेका थिएनन् ।
केही दिनपछि उही सधैँ झैँ अफिस गइरहेका थिए।ढकालको दिमागमा एउटा गजबको सोच पलायो ।त्यो सोचले काम गरे त गजबै हुन्थ्यो भनेर मनमनै हर्षित भएका ढकाल कतिखेर अफिस पुगे,पत्तो पाएनन् ।अफिस छिर्नासाथ वाणिज्य बैंक लि.का प्रमुखको अगाडि पुगेर ढकालले एक सासमा “मलाई अलिकति ऋण चाहियो सर”भने।“कर्मचारीलाई ऋण दिन मिल्दैन,ऋण लिने हो भने जागिर छाड्नुपर्छ,”निकै आशा भरिएको नजरले खुसीको समाचार सुन्न आतुर ढकाललाई बैँकका प्रमुखले भने,
उदास र हतास मुहार लिएर ढकाल प्रमुखको कोठाबाट निस्किएर काम तिर लागे तर,उनको मनले अझैँ मानेन“अब त झन् कुनै पनि हालतमा व्यापार नै गर्ने हो,चाहे त्यसका लागि जागिर छाड्नुपरे पनि परोस्”उनले फेरी सोचे ।त्यो दिन जागिर खाएर डेरा फर्किएका ढकालले जागिर छाड्ने एउटा कठोर निर्णय गरे ।“जागिर राजीनामा दिने र ऋण लिएर व्यापार थाल्ने”ढकालको मनमा लाग्यो।त्यसपछि भोलिपल्ट अफिस पुगेर ढकालले महिनाको पाँच सय तलब आइरहेको राष्ट्रिय वाणिज्य बैंक लि.को जागिरलाई तिलाञ्जली दिए ।
त्यतिबेला जागिर भनेको एकदमै ठूलो कुरा थियो।उनलाई जागिरको माया पनि थियो र जागिर छाड्नु हुँदैन भन्ने पनि थियो,तर,परिस्थिति नै यस्तो भइदियो कि उनले जागिर नछाडि ऋण पाउने सम्भावना नै थिएन ।त्यसपछि,सरकारी जागिर माया मारेर व्यापार तिर छिरेका ढकालले दिन,रात,जाडो,गर्मी, आँधीहुरी,पानी,निन्द्र,ा,भोक,तिर्खा केही नभनी अथक मिहिनेत,कडा परिश्रम र इमान्दारीताका साथ काम गर्न थाले र,कार्पेट विदेश निर्यातको काम गर्न कोल्डस्टोर र कार्गो कम्पनी खोले।यही मेसोमा उनका भाइ हेमराज ढकाल पनि एसएलसी सकेर काठमाडौं आइसकेका थिए। अनि,दाजुभाइको जोडीले व्यापारमा कसरी छलाङ मार्ने भनेर दिमाग लगाउन थाल्यो ।
यता सानोतिनो व्यापार थालेका थिए।ठमेलमा ३० वर्षअघि“इन्टरनेसनल मनी एक्सचेन्ज”भन्ने सानो अफिस खोलेर अर्को व्यसायमा पनि ढकालले हात हाले।भाइ हेमराजले पनि दाजु चन्द्रको काममा सघाइरहेका थिए ।व्यापारकै सिलसिलामा ढकाललाई अमेरिका जानुपर्ने भयो।अमेरिकी दूतावास गएर भिसा आवेदन दिए,प्याट्टै भिसा लाग्यो अब ढकाल अमेरिका जाने भए।उनको मनमा खुसीको सीमा थिएन,नहोस पनि किन?अमेरिका जानुअघि एकदिन जापानमा रहेका ढकालकै गाउँका एक जना दाइसँग टेलिफोनमा कुराकानी भयो ।
“जापान आऊ यतै बसेर काम गर”ती गाउँका दाईसंग भएको कुराकानीमाउनले आग्रह गरे ।त्यसपछि उनी जापान हुँदै अमेरिका जाने भए।जापानको पनि भिसा पाए।उनी जापान पुगे। त्यहीँ तीन महिना बसे।यता,नेपालको कार्गो व्यापार भाइ हेमराजले सम्हालिरहेका थिए । जापान बसिरहँदा भाइ हेमराजलाई पनि चन्द्रले उतै बोलाए ।
जापानमा पनि दाजुभाइको सहकार्य गजब भयो।जापान बसिरहेका नेपालीले आफ्ना परिवारलाई पैसा पठाउन असाध्यै गाह्रो भएको उनीहरु थाहा पाए।अब कसरी यो काम कानुनी हिसाबमा फत्ते गर्न सकिन्छ?कसरी नेपालमा सजिलै पैसा पठाउन सकिन्छ?भनेर दाजुभाइबीच गहन बहस भयो।भाइ हेमराजलाई जापानमै छाडेर चन्द्र नेपाल फर्किए ।संसारभरि छरिएर रहेका नेपालीले रगत पसिना बगाएर कमाएको पैसा नेपालमा रहेको परिवारको हातमा वैधानिक रूपमा सजिलै कसरी पु¥याउन सकिन्छ भनेर चन्द्रले करिब छ  वर्षसम्म अध्ययन गरे ।
नेपाल राष्ट्र बैंकदेखि अनेक सरकारी निकाय धाउँदा–धाउँदा आखिर आईएमई ग्रुप अफ कम्पनीका अध्यक्ष चन्द्रले विदेशमा रहेका नेपालीले नेपालमा पैसा पठाउन पाउने गरी करिब २५ वर्ष अघि सरकारबाट कम्पनी खोल्ने लाइसेन्स प्राप्त गरिछाडे।जापान हुँदै भाइसँग भएको सल्लाह अनुसार विदेशबाट रेमिट्यान्स भित्र्याउने एउटा कम्पनी नेपालमा स्थापना भयो।चन्द्रले रेमिट्यान्स भित्र्याउने कम्पनीको नाम के राख्ने भन्ने विषयमा भाइसँग सल्लाह गरे ।जापान जानुअघि नै चन्द्रले ठमेलमा सुरु गरेको “इन्टरनेसनल मनी एक्सचेन्ज”कै नाम नयाँ कम्पनीमा दिने कि भन्ने छलफल भयो।त्यसपछि दाजुभाइले सोही कम्पनीको नामको छोटो रूप “आईएमई”लाई नयाँ कम्पनीको नाम बनाए ।
त्यसयता उनीहरु दाजुभाइले पछाडि फर्केर हेर्नुपरेको छैन।“दिन दुई गुणा रात चौगुणा” पहाड चढ्दै शिखर चुमेका उनीहरूको अबको एकमात्र उद्देश्य छ ।सारा नेपालीलाई आईएमई ब्रान्ड अन्तर्गतका कम्पनीहरूको स्वामित्व दिलाउने।सबै कम्पनीलाई पब्लिक लिमिटेड बनाउने र सर्व साधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने,सोही अनुसार मधेश प्रदेश स्थित महोत्तरीको गौसाला नगरपालिका १ इटाटारमा नेपाल कै सबैभन्दा ठूलो कागज फ्याक्ट्री नेपाल पल्प एण्ड पेपर इण्ड्रष्टिज प्रा.लि निर्माणको चरणमा छ ।
केही वर्षयता ढकाल दाजुभाईले बनाएको ब्रान्ड “आईएमई”को नाम नसुनेका नेपाली संसारमा पाउन मुस्किल छ।यो एकमात्र यस्तो ब्रान्ड बनेको छ,जुन रेमिट्यान्सको पर्याय नै हो भन्दा अतिशयोक्ति नहोला ।“अहिले त कतिसम्म हुन थालेको छ भने कोही मान्छे पैसा पठाउन हाम्रो कम्पनीमा नआई अर्कै कम्पनीमा गएको छ भने पनि पैसा पठाउने बेला आईएमई गरौं न भन्ने रहेछन्,”आईएमईका सह संस्थापक तथा अध्यक्ष चन्द्रले बताए ।“यसले पनि हाम्रो आईएमई ब्रान्ड कतिसम्म छाएको रहेछ भन्ने पुष्टि हुन्छ ।”उनले थपे ।
करिब साढे दुई दशकअघि नेपालीहरूको प्रमुख वैदेशिक रोजगार गन्तव्य मलेसियाबाट आईएमईले सुरुवातमा रेमिट्यान्स भित्र्याउन थालेको थियो।नेपालीहरू वैदेशिक रोजगारीका लागि हजारौंको संख्यामा मलेसिया पुगिरहेका थिए तर,तिनले त्यहाँ दुःख गरेर कमाएको पैसा वैधानिक हिसाबमा घर पठाउन सक्ने अवस्था थिएन ।
“मलेसियाको बजार ट्याप गर्न मैले भाइ हेमराजलाई उतै पठाएँ।अनि,भाइले उता गएर बजार अध्ययनदेखि त्यहाँको नियामक निकायसम्म काम गरेपछि आईएमईले मलेसियाबाट रेमिट्यान्स ल्याउने अनुमति पायो,”चन्द्रले भने,“हामीले यस्तो मापदण्ड बनाएर दियौं कि मलेसियाको केन्द्रीय बैंकले त्यही मापदण्ड हेरेर अन्य कम्पनीलाई रेमिट्यान्सको लाइसेन्स दिन थाल्यो।यो मानेमा हामी गौरव महसुस गर्छौं ।”खुसी मुद्रामा चन्द्रले भने,
दाजुभाइले यति मिहिनेत,लगन र इमान्दारीताका साथ काम गरे कि मलेसियाको केन्द्रीय बैंकले सुरुको पाँच वर्षसम्म त आईएमई बाहेक अन्य कुनै पनि कम्पनीलाई रेमिट्यान्स कारोबार गर्न दिएन ।“यो हाम्रो विशुद्ध इमान्दारीको नतिजा थियो,”उनले भने।सुरुमा एक करोड पूँजीबाट सुरु भएको आईएमई रेमिट अहिले अरबौँको भएकोे छ।सुरुवातमा वार्षिक रु २० लाख अमेरिकी डलर बराबर रेमिट्यान्स भित्र्याउने महत्वकांक्षी लक्ष्य राखेका चन्द्र अहिले रु २० करोड डलर बराबर रेमिट्यान्स ल्याउनु सामान्य भएको सुनाउँछन् ।
पछिल्लो तथ्यांक हेर्दा त नेपाल भित्रिने कुल रेमिट्यान्सको आधा हिस्सा आईएमईले नै ल्याउने गरेको छ।यसले वार्षिक रु सात खर्ब बराबर रेमिट्यान्स भित्र्याइरहेको छ।चन्द्रका सारथी हुन् उनका भाइ हेमराज,बुबा बितेपछि गाउँकै स्कुलमा पढिरहेका हेमराज एसएलसी दिएपछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आएका थिए ।
क्याम्पस पढ्दै दाइ चन्द्रले भर्खर सुरु गरेको कार्गो कम्पनीको व्यवस्थापन पनि सम्हाल्न थाले ।एकदिन दाइ चन्द्र जापान गए।हेमराजले कार्गो कम्पनीको सबै काम अगाडि बढाइरहेका थिए ।लगत्तै एकदिन दाइ चन्द्रले भाई हेमराजलाई जापान बोलाए।उनी पनि जापान पुगे र, साढे तीन वर्ष बसे ।
“जापान बस्दा नै नेपालमा रेमिट्यान्स भित्र्याउन एउटा वैधानिक च्यानल चाहिने र त्यसको सुरुवात आफूहरूले नै गर्नुपर्ने विषयमा उनीहरु विच छलफल भयो । “सन् १९९८ मा नेपाल फर्किएका हेमराजले जापानबाट नेपालमा रेमिट्यान्स भित्र्याउन राष्ट्र बैंकबाट अनुमति लिए तर,जापान सरकारको कानुन नभएकाले त्यता रोकेर उनीहरुले मलेसियाबाट रेमिट्यान्स ल्याउन थाले ।”
“फ्याक्स,इमेल हुँदै अन्तिममा अनलाइन सिस्टम बनाएपछि रेमिट्यान्स पठाउने र प्राप्त गर्ने “नेटवक”बन्यो“आईएमई”त्यसले अहिले मलेसिया वा विश्वका जुनसुकै ठाउँबाट नेपालका अतिदुर्गम ठाउँहरुमा पनि केही मिनेटमै पैसा प्राप्त गर्न सहज भएको छ ।”सानो पूँजीबाट सुरु भएको आईएमई अहिले वित्तीय रूपमा पनि विशाल भएको छ।आईएमई ग्रुप अन्तर्गत बैंक तथा वित्त,ऊर्जा,पूर्वाधार,पर्यटन,बीमा,अटो,सूचना प्रविधि,शिक्षा र खेलकुद लगायत क्षेत्रमा लगानी विस्तार भएको छ ।
आईएमई ग्रुपले सन् १९९४ मा काठमाडौं क्षेत्रपाटीमा एउटा मिनी मार्ट स्थापना गरेर व्यवसाय सुरुवात गरेको थियो।लगत्तै १९९६ मा माउन्ट पुमोरी एयर कार्गो खोल्यो ।दुई वर्षपछि १९९८ मा आईएमई ट्राभल,त्यही वर्ष सीएम ट्रोडिङ इन्टरप्राइजेज र १९९९ मा इन्टरनेसनल मनी एक्सचेन्ज कम्पनी स्थापना गरेको थियो ।सन् २००१ मा आईएमई रेमिट कम्पनी स्थापना गरेर तीव्र गतिमा अगाडि बढेको आईएमई ग्रुपले त्यसपछि पछाडि फर्किनुपरेको छैन।२००३ मा आईएमई रेमिट विस्तार गर्दै बेलायत पुग्यो ।
त्यसैगरी २००४ मा आईएमई फाइनान्सियल इन्स्टिच्युसन स्थापना गरी वित्त क्षेत्र प्रवेश गरेको आईएमईले त्यही वर्ष ऊर्जा क्षेत्रमा लगानी गर्न हिमालयन पावर पार्टनर्स स्थापना गरेको थियो ।बिस्तारै अगाडि बढेको आईएमईले सन् २००७ मा नेपाल राष्ट्र बैंकबाट“क”वर्गको मान्यता प्राप्त ग्लोबल आईएमई बैंक,सूचना प्रविधि कम्पनी स्विफ्ट टेक्नोलोजी,माउन्टेन इनर्जी नेपाल र आईएमई हर्बल कम्पनी खोल्यो ।
त्यसपछि २००८ मा आईएमई अक्सिजन र ग्लोबल आईएमई क्यापिटल स्थापना ग¥यो।अर्को वर्ष २००९ मा आईएमई अटोमोबाइल्स,चन्द्रागिरि हिल्स,हाथवे इन्भेष्टमेन्ट नेपाल र आईएमई फाउन्डेसन सुरु भयो ।सन् २०१० मा आइपुग्दा डिस होम मिडिया नेटवर्क र २०११ मा अमेरिकामा आईएमई रेमिट खोलेको यस ग्रुपले २०१२ मा आईएमई फाइनान्सियल इन्स्टिच्युसनलाई ग्लोबल आईएमई बैंकमा मर्ज गरेको थियो ।
त्यस्तै २०१५ मा आईएमई मोटर्स,२०१६ मा आईएमई डिजिटल सोलुसन,आईएमई जनरल इन्स्योरेन्स र माई मार्ट नेपाल स्थापना गरेको थियो।२०१७ मा आइपुग्दा आईएमई लाइफ इन्स्योरेन्स खोलेको ग्रुप २०१८ मा हार्ले डेभिड्सन बाइकको नेपाल वितरक र सलाम एयरको जनरल सेल्स एजेन्ट नियुक्त भएको थियो ।
त्यसैगरी २०२१ मा लुम्बिनी केबुल कार र मौलाकालिका केबुल कार स्थापना गरेको आईएमई ग्रुपले त्यही वर्ष एफसी चितवन फुटबल क्लब खरिद गरेको थियो।आईएमई ग्रुपले हाल प्रत्यक्ष र अप्रत्यक्ष गरी ४५ हजारभन्दा बढीलाई रोजगारी उपलब्ध गराइरहेको छ ।“टुहुरा भाइबहिनीलाई आधारभूत शिक्षा दिलाउने,विधुवा आमालाई सुखसाथ राख्ने र राम्रोसँग घर चलाउने बाहेक अर्को लक्ष्य नरहेका आईएमई ग्रुप अफ कम्पनीका अध्यक्ष चन्द्र त्यतिबेला त्यो लक्ष्य नै महत्वाकांक्षी रहेको”बताउँछन् ।

सम्बन्धित समाचार