माओवादी केन्द्र संसदिय दल मधेश प्रदेशका नेता साहलाई हटाउन बहुमत सदस्यहरुद्धारा अविश्वासको प्रस्ताव दर्ता

36 Shares

नेकपा(माओवादी केन्द्र)मधेश प्रदेश संसदिय दलका नेता भरत प्रसाद साहलाई पदबाट हटाउन माओवादी केन्द्र संसदीय दलको कार्यालय मधेश प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्यहरुको बहुमत सदस्यहरुले मधेस प्रदेश संसदीय दलका नेता साहलाई पदबाट हटाउन माओवादी केन्द्र मधेश प्रदेश संसदिय दलका उप नेता युवराध भट्टराई(समिर)समक्ष प्रस्ताव दर्ता गराएका हुन ।
माओवादी केन्द्रका नौ जना प्रदेश सभा सदस्यहरु मध्ये छ जनाले हस्ताक्षर गरी सो प्रस्ताव दर्ता गराएका हुन्।यसरी प्रस्ताव दर्ता गराउनेमा संसदीय प्रमुख सचेतक फकिरा महतो,प्रदेश सभा सदस्यहरु जवाहर लाल कुशवाहा,राजी हैदर,सुनिता यादव,माला कुमारी कर्ण र रहबर अन्सारी रहेका छन् ।
प्रदेश सभा सदस्य कर्णले आफूहरूले सोमवार नै उपनेता भट्टराईलाई सो प्रस्ताव बुझाइसकेको र उनले प्रमुख सचेतकलाई आवश्यक कार्यवाही अगाडि बढाउन भनिसकेको बताइन्।उनका अनुसार दलको नेतृत्वको विषयमा आफूहरूको विश्वास गुमेको कारणले छ जना प्रदेश सभा सांसदहरुले संसदिय दलका नेता साहविरूद्ध अविश्वासको प्रस्ताव पेश गराएका हुन ।
“करिब तीन हप्ता अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा नेता साहले व्यापक अनियमितता गरेका,गुटबन्दी गरेका,एकलौटी निर्णयहरु गरेका र माओवादी केन्द्रका अन्य प्रदेश सभा सदस्यहरुसंग छलफल र सल्लाह नगरेका”अविश्वासको प्रस्तावमा उल्लेख गरिएको छ ।“पिएलएमबिआइएस सिस्टममा कर्मचारीहरुले ह्याक गरी बजेटमा गडबडी गरेको भनी उनले वाहियात दोषारोपण गरेका छन् जबकि त्यसमा उनले नै धेरै चलखेल गरे”एक प्रदेश सभा सदस्यले बताए ।
दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यहरुले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने माओवादी केन्द्र संसदीय दलको विधानमा उल्लेख छ।उक्त प्रस्तावबारे संसदीय दलको नेताको हकमा उपनेतालाई दिनुपर्ने विधानमा व्यवस्था छ।लिखित सूचना प्राप्त भएपछि उपनेता भट्टराईले विधान अनुसार १५ दिनभित्र बैठक बोलाउन प्रमुख सचेतकलाई निर्देशन समेत दिएका छन्।
उक्त बैठकबाट बहुमत सदस्यले नेता साहलाई दलको नेताबाट हटाएर अर्का नेतालाई दलको नेता तोक्ने तयारी गरेका छन् ।माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव निकट रहेका नेता साहबाट लामो समयदेखि संसदीय दलमा असन्तुष्टि छ।सरकारमा जाँदा अरूलाई अवसर नदिई पटक पटक आफू मात्र मन्त्री बनेको उनीमाथि माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुको आरोप छ।
“केन्द्रीय नेतृत्वलाई समेत थाहा नदिई उनले तत्कालीन जनता समाजवादी पार्टी(जसपा) नेतृत्वको सरकार ढालेर आफू मुख्यमन्त्री बन्न भारतको सुरसण्डमा दलहरूसँग गोप्य बैठक गरेका समेत गरे।”अर्का प्रदेश सभा सदस्यले बताए ।सो समयमा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) उनीसंग असन्तुष्ट भएका थिए ।मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंले शनिबार अर्थ मन्त्री साहसहित छ जना मन्त्रीलाई बर्खास्त गरेका थिए ।नेता साह यस अघि मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्री भएका थिए भने पुन अर्थ मन्त्री समेत भएका थिए ।

सम्बन्धित समाचार