महेन्द्र राजमार्ग अन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्ड निर्माण गर्न ठेक्का लागेको छ ।सडक विभागले आईतबार एक सूचना प्रकाशित गर्दै उक्त खण्ड विस्तारका लागि निर्माण कम्पनी छनोट भएको जानकारी गराएको हो ।सरकारले महेन्द्र राजमार्ग स्थित कमला–पथलैयासम्म यो खण्ड विस्तार योजना बनाएको छ, तर,बागमती–पथलैया खण्डमा मोडालिटी तय नभइसकेका कारण उक्त खण्डभन्दा अगाडिको खण्डमा मात्र ठेक्का लागेको हो।महेन्द्र राजमार्गलाई विभिन्न खण्डमा छुट्याएर चार लेनमा स्तरोन्नति गर्ने काम सुरु भएको छ।सोही क्रममा कमला–ढल्केबर–बागमती निर्माणको ठेक्का लागेको सडक विभागले जनाएको छ ।
सडक विभागले २०८० चैतमा ठेक्का आह्वान गरेको थियो।सोही क्रममा एक दर्जन भन्दा बढी निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए।तीन खण्डमा निर्माणको ठेक्का लागेको आयोजनामा एउटा ठेक्का भारतीय कम्पनीले पाएको छ।दुई ठेक्का भने चिनियाँ र नेपाली कम्पनीले हात पारेका छन्।आगामी तीन वर्षमा सम्पन्न गर्ने गरी यी ठेक्का कार्यान्वयन हुने विभागले जनाएको छ ।
महेन्द्र राजमार्ग अन्र्तगत कमला–ढल्केबर–बागमती खण्डको पहिलो २२ किलोमिटर सडक स्तरोन्नतिका लागि भारतीय कम्पनी ईकेके इन्फ्रास्ट्रक्चर लिमिटेड छनोट भएको छ।यो खण्ड रु पाँच अर्ब ७९ करोड ३७ लाखमा ठेक्का लागेको हो ।त्यसपछिको २९ किलोमिटर स्तरोन्नतिको जिम्मा चिनियाँ र नेपाली निर्माण कम्पनी सान्सी वाटर रिसोर्स एन्ड हाइड्रोपावर इन्जिनियरिङ ग्रुप (स्वेग) र रसुवागढी कन्स्ट्रक्सन कम्पनी (आरसीसी) जेभीले पाएका छन्।यो खण्डको ठेक्का रकम रु छ अर्ब ४३ करोड २५ लाख रहेको विभागले जनाएको छ ।
तेस्रो खण्डमा कुल २३ किलोमिटर सडक निर्माणको ठेक्का लागेको हो।यो खण्डमा सोही स्वेग र आरसीसी जेभीले ठेक्का पाएका छन्।यस ठेक्काको रकम रु छ अर्ब ७२ करोड ८३ लाख रकम रहेको छ ।यस प्रकार कमला–ढल्केबर–बागमतीमा कुल ७४ किलोमिटरका लागि ठेक्काको टुंगो लागेको हो । अहिले महेन्द्र राजमार्गको “चेनेज २३८ प्लस ०३० देखि ३१२ प्लस ७८५”सम्मका लागि ठेक्का लागेको हो।जसको कुल ठेक्का रकम रु १८ अर्ब ९५ करोड ४७ लाख रहेकोछ ।सरकारले महेन्द्र राजमार्गको कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नति गर्न विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिएको छ।जसमा नेपाल सरकारले आफ्नो स्रोत समेत लगानी गर्छ । कमला–पथलैया सडक खण्डको कुल लम्बाइ एक सय ३० किलोमिटर हो। जसको कुल लागत रु ३७ अर्ब अनुमान गरिएको छ । कमला–ढल्केबर–पथलैया सडक खण्ड सिरहाको कमला नदीबाट सुरु हुन्छ।जुन बाराको पथलैयामा अन्त्य हुन्छ।यस खण्डले मधेश प्रदेशका सिरहा,धनुषा,महोतरी,सर्लाही,रौतहट र बारा गरी छ जिल्ला छुन्छ।
चालु आव २०८१÷८२ को बजेटले महेन्द्र राजमार्गको स्तरोन्नति अन्तर्गत कमला–ढल्केबर–पथलैया र पथलैया–नारायणगढ खण्डमा स्तरोन्नतिको काम सुरु गर्ने घोषणा गरेको थियो ।त्यस्तै बुटवल–गोरुसिंगे र भालुबाङ–लमही खण्डमा समेत यसै आर्थिक वर्षबाट स्तरोन्नतिको गर्ने सरकारले योजना बनाएको छ ।अहिले नारायणगढ–बुवटल र कमला–कञ्चनपुर सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।पूर्व–पश्चिम महेन्द्र राजमार्ग विस्तारका लागि मात्र यस आर्थिक वर्षमा सरकारले रु २९ अर्ब ८८ करोड विनियोजन गरेको छ ।